बलिउड अभिनेत्री इलियाना डिक्रुज पछिल्लो समय ओझेलमा छिन् । ‘बर्फी’, ‘मै तेरा हिरो’लगायत फिल्मबाट निकै चर्चा पाए पनि त्यसपछि उनका दमदार फिल्म रिलिज भएनन् ।
जसले गर्दा उनलाई दर्शकले भुल्न थालिसके । तर, अब उनलाई एसियाका सुपरस्टार ज्याकी च्याङसँग हेर्न पाइनेछ । उनी ज्याकीका साथ ‘कुङफु योगा’ फिल्ममा अभिनय गर्दै छिन् । हुन त यसअघि मल्लिका सेरावतले ज्याकीसँग ‘द मिथ’ फिल्ममा काम गरेकी थिइन् । तर, त्यो फिल्ममा मल्लिकाको भूमिका निकै छोटो थियो ।
भारतीय दर्शकले फिल्ममा मल्लिका आए–गएको पत्तै भएन भनेर निकै खिसी गरेका थिए । तर, ‘कुङफु योगा’मा भने इलियानाको भूमिका लामै रहेको र उनले त्यो फिल्मबाट छलाङ मार्ने दाबी गरिएको छ । फिल्मको हाल दुबईमा सुटिङ भइरहेको छ । इलियानाले ‘सेड्युल ज्वाइन’ गरिसकेकी छिन् ।
– नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया