सञ्जय पण्डित/किर्तीमानी विश्व पर्वतारोही तथा अल्ट्रा म्याराथुन धावक
बुबा शिक्षक हुनुहुन्थ्यो । घरबाट बुबाको स्कुल ४० किलोमिटरको दूरीमा थियो । हरेक शुक्रबार विद्यालय छुट्टी भएपछि घर आउँथ्यौं । अहिलेजस्तो सडक थिएन । आइतबार बिहान फेरि हिंडेरै स्कुल जान्थ्यौं । घरबाट स्कुल पुग्न करिब ६ घण्टा लाग्थ्यो । बुबा हामीलाई हरेक दिन बिहान पाँच बजे नै उठाउनुहुन्थ्यो । त्यसपछि दौडन र शारीरिक व्यायाम अनिवार्य नै थियो । चाहे पुसको ठण्डी नै किन नहोस् हामी दैनिक दुई घण्टाभन्दा बढी दौडनै पथ्र्यो । स्कुलमा हुने हरेक दौड प्रतियोगितामा भाग लिन्थें र आफूभन्दा ठूलालाई समेत दौडमा जित्थें । दौडनुको फाइदाबारे बुबाले भनेका कुरा अहिले पनि सम्झन्छु । त्यो सबैका लागि महत्वपूर्ण छ । उहाँ भन्नुहुन्थ्यो,‘नियमित दौडनुको दुईटा फाइदा छ, पहिलो खेलाडी भइन्छ । दोश्रो व्यक्ति स्वस्थ हुन्छ । बुबाको त्यो कुरा अहिले पनि बारम्बार सम्झन्छु । २०६१ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाण्डु आएँ । जेठा दाई मुकेश काठमाण्डुमै हुनुहुन्थ्यो । उहाँले पनि बुबाले जस्तौ दौडन प्ररित गर्नुहुन्थ्यो । हाम्रो डेरा पाटनमा थियो । काठमाण्डु बनहार्ट कलेजमा प्लस टु पढ्थें । बिहान हरेक दिन मर्निङवक गर्थें । कुपण्डोल हुँदै बानेश्वरसम्म पुग्थे । कहिले काहीं रंगशाला जान्थें । १२ कक्षाको परीक्षा दिएर फर्कंदै थिएँ । आनन्द कुटी स्वयम्भूमा परीक्षा केन्द्र थियो । त्यतिबेला १० औं साफका विजेता दीपक विष्ट र राजेन्द्र भण्डारीको निकै चर्चा थियो । सरकारी स्तरबाटै नागरिक अभिनन्दन गरेर काठमाण्डु घुमाइएको थियो । त्यसपछि मैले सोचें, ‘काठमाण्डुमा अरबपति मानिसहरु गुमनान छन् । तर गाउँका सामान्य किसानका छोरा दीपक र राजेन्द्रको यति ठूलो चर्चा ?’ हरेक पत्रिकाका हेडलाइन र टिभीका स्क्रिनमा उनीहरु नै छाएका थिए । यो देखेर मैले सानैमा बुबाले भन्नुभएको, ‘दौडँदा कि खेलाडी भइन्छ, कि स्वस्थ व्यक्ति ।’
sanjay4त्यसपछि म डौडन थालें । २०६३ सालमा पहिलो अन्तर्राष्ट्रिय काठमाण्डु म्यारथन (४२) किलोमिटरमा भाग लिएँ । हरेक धावक १०० मिटर, २०० मिटर, १५०० मिटर हुँदै अन्तिममा ४२ किलोमिटर दौडिएका हुन्छन् । तर नेपालमा ४२ किलोमिटर दौडेर करिअर सुरु गर्ने खेलाडी सायद मै हुँला । त्यसपछि पनि सानातिना खेलहरुमा सहभागी भएँ । दर्जनौं म्यारथुनमा सहभागी भएँ ।
एक दिन संयोगबस रंगशाला गएको थिएँ । म बैकुण्ठ मानन्धरलाई नेपाली म्याराथुनका ‘राजा’ भन्न रुचाउँछु । त्यसदिन मैले उहाँलाई भेट्ने मौका पाएँ । धेरै खुसी भएँ । त्यो समय लामो दौड दौडने चलन थियो । मनकामनाबाट काठमाण्डु र मुक्तिनाथबाट काठमाण्डु, काठमाण्डुबाट शान्तिका लागि लुम्बिनी दौडिएको समाचार आइरहन्थे । बैकुण्ठले त्यसदिन ‘म ०४५ सालमा काठमाण्डुबाट खासा दौडिएको थिएँ, अहिलेसम्म कुनै माइकलालले दौडन सकेको छैन ।’ ४२ किलोमिटर दौडिसेकको मान्छे १ सय २७ किलोमिटर खासा दौडन किन सकिन्न भन्ने लाग्यो ? बैकुण्ठले सक्छन् भने सञ्जय पण्डितले किन सक्दैन भन्ने मानसिकता जागेर आयो । म कान्तिपुर भ्याली कलेजमा बीबीए पाचौं सेमेष्टर अध्ययन गर्दै थिएँ । बैकुण्ठ मानन्धरलाई संयोजक बनाएर हाम्रो कलेजले दौड गरायो । हामी करिब १५ जनाको टोली थियो । मैले ११ घण्टा २० मिनेटमा दूरी पार गरें । जब कि बैकुण्ठ मानन्धरलाई १४ घण्टा लागेको उहाँले नै बताउनुभएको थियो । यो घटनापछि सञ्चार माध्यमले मलाई पछ्याउन थाले । म पनि समाचारको पात्र बन्न थालें । मलाई लामो दूरीको धावक भन्न मन लाग्यो । त्यसपछि प्यूठानको स्वर्गद्वारीबाट काठमाण्डुको खुलामञ्चसम्म (४३९ किमी) दोडिएँ । ४७ घण्टा लाग्यो । सन् २००९ देखि ०११ सम्ममा मैले काठमाण्डुबाट गोरखा दरबार,जिरीबाट काठमाण्डु, खासाबाट काठमाण्डु,लुक्लाबाट आइल्याण्ड पिक (६,१७९ मिटर), तेन्जिङ हिलारी म्यारथुन, गोरखाको आरुघाटबाट मनाशलु आधारशिवीर, मनाशलु सर्किट (२१३ किमी) सहित दर्जनौं दौडमा सहभागी भएँ । त्यतिबेलासम्म मैले २२ सय १० किमी दौडिएँ ।
sanjay3सन २०११ को कुरा हो । एक दिन टिभी हेर्दैं थिएँ । १९ औं पटक सगरमाथा चढेका कीर्तिमानी आरोही आप्पा शेर्पा र विश्वप्रसिद्ध आरोही मिङमा शेर्पाको डकुमेन्ट्री आइरहेको थियो । उनीहरुको जीवनी हेरें । हिमपहिरोमा पुरिएको, डोरी समातेर हिमाल चढ्न संघर्ष गरिरहेको दृश्यले म चकित भएँ । डकुमेन्ट्रीको अन्तिममा आप्पाले भनेका थिए,‘ प्रयास गर्ने हो भने संसारमा असम्भव भन्ने केही चिज छैन, म सामान्य मानिस हुँ, लगातारको प्रयासले १९ औंपटक सगरमाथा चढ्न सफल भएको हुँ ।’
उनको यो कुराबाट प्रभावित भएँ । त्यसपछि हिमाल चढ्ने निधो गरें । लगातार ७ महिनाको प्रयासपछि नेपाल पर्वतारोहण संघबाट हिमाल आरोहणसम्बन्धी तालिम लिएँ । तालिम सकिएपछि ६ हजार मिटरको हिमाल चढ्नै पर्ने हुन्छ । मैले पहिलोपटक आइल्याण्ड पिक हिमाल चढें । सामान्य आरोहीका लागि लुक्लाबाट आइल्याण्ड पिक चढ्न १२ दिन लाग्छ तर म तेश्रो दिनमै आइल्याण्ड पिकको चुचुरोमा पुग्न सफल भएँ । दौडिएरै हिमाल चढेको थिएँ । २०१२ मा गृहजिल्ला प्यूठान गएँ । स्वर्गद्वारी–सगरमाथि शान्ति आरोहण–२०१२ को योजना बन्यो । धेरै प्यूठानीले आफ्नो गाँस काटेर सहयोग गर्नुभयो । ५० देखि २० रुपैयाँसम्म पनि दिनुभएको छ, सगरमाथा चढ्नका लागि । तर म ८ हजार ६ सय ८५ मिटरभन्दा माथि जान सकिन । सगरमाथाको चुचुरो नजिकै देखिएको थियो, तर हिमपहिरोको कारण अगाडि जान सकिन । म फर्कें । तर हार खाइन । त्यसको तीन महिनापछि संसारले ‘प्राणघातक हिमाल’ भनेर चिनेको मनाशलु हिमाल चढ्ने घोषणा गरें । २०१२ मा यति ठूलो हिमपहिरो गयो कि संसारका १४ प्रतिष्ठित आरोहीले ज्यान गुमाए । मसँगै सुतेका स्पेनका मार्टिन नामका मेरा आरोही साथीको हिमपहिरोमा पुरिएर ज्यान गयो । तर म बाचें र सेप्टेम्बर २९, २०१२ का दिन मनाशलुको चुचुरोमा नेपाली झण्डा फहराएँ । त्यतिबेला हामी लासहरुमाथि टेक्दै आगाडि बढेका थियौं । ७५ प्रतिशत आरोही मरिने डरले बीचबाटै आरोहण रद्द गरेर फर्किएका थिए । मैले पनि बाँच्ने आशा कमै गरेको थिएँ । तर, प्रतिष्ठाका लागि पछि नफर्कने निधो गरें । मनाशलुको सफल आरोहणपछि मेरो मनोबल बढ्यो । सगरमाथा चढ्नका लागि थप हौसला मिल्यो । मसेभेन समिट टे«किङ एजेन्सीमार्फत आरोहणमा गएको थिएँ । जसका कारण आज म यो ठाउँमा पुगेको छु ।
sanjay 6२०१३ को मे महिनामा सगरमाथाको सफल आरोहण गरें । त्यस क्रममा दुःखद् घटना भयो । सोलुका लोप्साङ शेर्पालाई सदाका लागि गुमाएँ । जसले मलाई सगरमाथा चढाउने जिम्मा लिएका थिए, उनै व्यक्ति गुमानुप¥यो । यात्राभर उनलाई सम्झिएँ । अहिले पनि त्यो घटना बिर्सन सकेको छैन । आरोहणपछि काठमाण्डु आएँ । जिल्ला गएँ । व्यापक सम्मान पाएँ । वीर प्यूठानीको उपमा दिइयो ।
सगरमाथा चढेपछि विश्वआरोही भन्ने सपना देखें । त्यसपछि मैले २०१४ को मार्चमा अफ्रिकाको सर्वोच्च शिखर माउण्ट किलीमाञ्जारो हिमाल (५,८९५ मिटर) चढें । ६ घण्टा १३ मिनेटमा हिमाल आरोहण गरेर दक्षिण एसियाकै तीव्र गतिको पहिलो आरोही धावक बन्न सफल भएँ । यो एउटा कीर्तिमान थियो । २०१४ मै युरोपको सर्वोच्च शिखर एल्ब्रुसमा अत्यन्त चिसो (माइनस ६० डिग्रि सेल्सियस) मा ६ मिनेट ३ सेकेण्ड अर्धनग्न भएर अन्तर्राष्ट्रिय कीर्तिमान रचना गरें । २०१४ कै नोभेम्बरमा अष्ट्रेलियाको सर्वोच्च शिखर माउण्ट कोजिएस्कोमा बेसक्याम्प थ्रेड्बोदेखि नेपाली दौरा सुरुववाल र भाद गाउँले टोली लगाएर उल्टो हिंडेर शिखरमा पुगें । यो २२ सय २८ मिटरको छ । यो पनि अहिलेसम्मकै अन्तर्राष्ट्रिय रेकर्ड हो । हालै मात्र मैले साउथ अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआको सफल आरोहरण मात्रै गरिन चुचुरोमा नेपाली राष्ट्रिय पोशाकसमेत प्रदर्शन गरेर कीर्तिमान कायम गरें ।
तीनचोटि मरेर बाँचे
मनाशलु आरोहणका क्रममा ठूलो हिमपहिरो आयो । हामी गएकै समयमा धेरै आरोही पुरिएर मरेका थिए । २०१२ को सेप्टेम्बर २३ का दिन हामी क्याम्प ३ मा पुग्यौं । हामी त्यस दिन क्याम्प ३ मा बस्न चाहन्थ्यौं । अगाडि बाटो बनिसेकको थिएन । आफैं बाटो बनाएर जानुपर्छ । टिम लिडर दावा शेर्पाले प्रतिकुल परिस्थितिको आंकलन गरेर तल झारे । सेकेण्डले बचेका थियौं । हाम्रो आरोहरण दल ३० सदस्यीय थियो । स्पेनका मार्टिन र गाइड कर्मा शेर्पा क्याम्प थ्रीमै बसे ।
बिहान साढे ४ बजे हिमपहिरो आयो । मार्टिन पुरिए । कर्मा बाँच्न सफल भए । अर्को टिमका १३ जना थिए । ती सबै पुरिए । टिम लिडर दावाको एक सेकेण्डको निर्णयले हामी बाँच्न सफल भयौं ।
सगरमाथामा राजा वीरेन्द्र देखें
सगरमाथा आरोहणका क्रममा ८ हजार ८ सय २८ मिटरमा अक्सिजन सकियो । मलाई लाग्यो मेरो जीवन सगरमाथामै सकिने भयो । अघिल्लो वर्ष नजिकै पुगेर पनि फर्कनुपरेको पीडाले मलाई जसरी पनि दोश्रोपटक चुचुरोमा पुग्नु थियो । तर योपटक त सकुशल फर्कन पनि नसक्ने भएँ भन्ने सोचें । गाइड र म चुचुरोको २० मिटर नजिक थियौं । गाइड छेपाल शेर्पाको अवस्था पनि उस्तै थियो । त्यो क्षेत्र यस्तो हो कि छोरा मर्नका लागि छट्पटाइरहेका बेला बाबुले पनि मद्दत गर्न सक्दैन । मैले सयौंपटक मलाई बचाउँनुस् भनेर हात जोडें । तर मेरो अनुनय विनय कसैले सुनेन । आउने र जाने मानिस धेरै भेटिएका थिए । मैले सोचें कि, ‘मर्नु त छँदैछ, एकपटक सगरमाथाको चुचुरो पुग्छु’, भन्ने अठोट गरें, र अगाडि बढें । अक्सिजनबिना पाँच पाइला के हिंडेको थिएँ, म लडें । त्यसै क्रममा भारतीय सेनाको टिम आइपुग्यो । त्यति नै बेला नेपाली र भारतीय सेनाका अधिकारीहरुले संयुक्त रुपमा सगरमाथा आरोहण गरेका थिए । बेस क्याम्पसमा भारतीय सेनाका कर्णेलसँग मेरो कुरा भएको थियो । उनले म हिउँमा लडेको देखेछन् । ती कर्णेलले भने, ‘सञ्जय यु आर इन हेयर ?’ मलाई उनीहरुको टिमले उद्धार गरेर सुरक्षित ठाउँमा ल्यायो । जुन ठाउँमा म लडेको थिएँ । यहाँबाट तल खसेको भए एक टुक्रा पनि भेटिने थिएन । ठीक त्यही समयमा मलाई बचाउन एकजना भगवान भएर आए । हाम्रै टिमका संखुवासभाका कर्मा शेर्पाले अक्सिजन दिए । उनले एक्स्ट्रा अक्सिजन बोकेका रहेछन् । अक्सिजन त पाइयो, तर मेरो रेगुलेटर पनि बिग्रिएको थियो । गाइड छेपाल शेर्पाले आफ्नो प्राण नै दाउमा राखेर आफूले प्रयोग गरिरहेको रेगुलेटर दिए । चुचुरोमा गएँ र निकैबेर रोएँ । एकदमै धेरै आमालाई सम्झिएँ । चुचुरोमा पुगेर सुतें । शरीरमा शक्ति थिएन । आमाले भन्नुभएको थियो, किन जोखिम मोलेर सगरमाथा चढ्छस् ? पढेलेखेको छस्, काठमाण्डुमा राम्रो जागिर खाएर बस ।’ आमाका यही शब्द कानमा पटकपटक ठोक्किए । सगरमाथाको चुचुरोभन्दा आमाका ती शब्द धेरै प्यारा लागे । आफूलाई धेरै भाग्यमानी सम्झें । संसारमा ८ अर्ब मानिस बस्छन् । तर, अहिलेसम्म ४ हजार जनाले मात्र सगरमाथामा पाइला टेक्न सकेका छन् । यो सोचें र म हासें । लाग्यो कि सगरमाथा योभन्दा अग्लो थियो भने पनि म चढ्ने थिएँ । त्यतिबेला सबै दुःखहरु बिर्सिएँ ।युद्ध जितेको योद्धाजस्तो भएँ । सगरमाथा चढ्न जति सजिलो छ, त्यो भन्दा धेरै गुणा फर्कन हुन्छ । फर्कने क्रममा चश्मा खस्यो । हिमालहरुमा चश्मा भएन भए आँखा गुम्ने खतरा हुन्छ । आँखा नदेखेपछि मानिस मर्ने सम्भावना हुन्छ । संयोगले त्यस दिन घाम लागेको थियो र मेरो आँखा गुमेन । फर्कने क्रममा पासाङ ल्हामु शेर्पालाई हिउँले पुरेको स्थानमा आइपुगेको थिएँ । त्यो ठाउँमा दुई÷चारवटा लास छन् । १४ वर्ष अगाडि मरेका चाइनिजको लास भन्थे । लासहरु उठेर बोल्न आउलान जस्ता छन् । कपालहरु बढेको छ । कपडा उस्तै छन् । खुट्टामा जुत्ता लगाएका छन् । मर्नेहरु अधिकांश फर्कंदा मर्ने गर्छन । यो ८ हजार ३ सय मिटरको रेञ्जको कुरा हो । सेकेण्ड सेकेण्डमा मौसम परिवर्तन भइरहेको थियो । छिनमै घाम लाग्ने, छिनमै हुस्सु लाग्ने गरिरहेको थियो । आराम गरिरहेको थिएँ ।
यो जेठ ५,२०७० को कुरा हो । एउटा यस्तो दृश्य देखें कि एउटा घर बन्यो । घरको एउटा दिशाबाट राजा वीरेन्द्र र अर्को दिशाबाट तीन जना राम्री युवतीहरु बाहिर निस्किए । ती युवती वीरेन्द्रसँगै गए । कता गए, पत्तो भएन । तत्कालै मौसम खुल्यो, पछिल्लो दृश्य देखिएन । गाइड छेपाल शेर्पालाई सोधें ‘के हो छेपाल यहाँ त राजा वीरेन्द्र सुन्दरीहरुका साथमा रमाइरहेको देख्छु, यो त अचम्म भयो ।’ छेपालले भने, ‘म पनि त्यही देख्दै छु ।’ त्यो स्थान नै त्यस्तै हो कि हरेक आरोहीले त्यस्तै दृश्य देख्ने गरेका हुन्छन् । १९२४ मा पहिलोपटक सगरमाथा चढ्न खोज्ने जर्ज म्यालोरी र पासाङ ल्हामुहरुले प्राण त्यागेको ठाउँ हो त्यो । जति पनि मानिस सगरमाथामा मरेका छन्, त्यही मर्ने हो । जहाँ मैले वीरेन्द्रलाई युवतीहरुका साथमा देखेको थिएँ । त्यस्तो दृश्य मानिसले मृत्यु हुनुभन्दा वा मगज खल्बलिनुभन्दा अगाडि देखिने संकेत हो । त्यसबारे हामीलाई तालिममा क्रममा भनिएको थियो । बिस्तारै तल आएँ । बेसक्याम्पमा आउन दुई दिन लाग्यो । खुट्टाहरु हिउँले खिइएका थिए । बेसक्याम्पबाट हेलिकोप्टरमा काठमाण्डु आएँ । काठमाण्डु फर्केपछि दाहिने खुट्टाको बुढी औंलाको केही भाग काटेर फालेको छु । अहिले पनि त्यो भागमा बेलाबेला पीडा हुने गरी दुख्छ ।
sanjay 1साउथ अमेरिकामा मरेर बाचेँ
गत फेब्रुअरी २२ मा साउथ अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआ आरोहणका लागि काठमाण्डुबाट प्रस्थान गरें । ६ दिनको पैदल यात्रापछि आधार शिविर पुगियो । सगरमाथासहित आठ हजार मिटरका हिमालहरु चढिसकेको हुनाले मैले झण्डै ७ हजार मिटर (६९६२ मि) को हिमाल चढ्नु खेलाँची सम्झें । म अत्यन्तै चिसो समयमा गएको थिएँ । यो वर्षको अन्तिम आरोहण थियो हाम्रो । सबै फर्किइसकेका थिए । एकोन्कागुआमा नोभेम्बरबाट आरोहण सुरु हुन्छ र मार्च १५ मा बन्द हुन्छ । सरकारले नै त्यसपछि हिमाल चढ्न रोक लगाएको छ । हामी १० मार्चमा चुचुरोमा पुग्नुपर्ने थियो । आरोहरण दलमा अर्जेन्टिना, ब्राजिल, जापानिज र म गरी १० सदस्य थियौं । जसमध्ये ६ जनाले क्याम्प–२ बाट अगाडि जाने साहस गर्न सकेनन् । उनीहरु फर्किए । म मेरो गाइड, जापानको जोनिया र उसको गाइड बाँकी थियौं । हामी चारजना ६ हजार मिटरको अन्तिम क्याम्पमा पुग्यौं । मौसम एकदमै राम्रो थियो । सगरमाथामा जस्तो त्यहाँ डोरी टाँगिएको हुँदैन । हिउँकै बाटोमा हिंडुनुपर्छ । त्यसलाई अल्पाइन सिस्टम (आफैं बाटो बनाएर जाने) भनिन्छ । अन्तिम दिन हामीलाई ९ सय मिटरको दूरी तय गर्नुपर्ने थियो । बिहान पाँच बजे यात्रा सुरु गरियो । बिहान नौ बजे यात्राको अन्तिम गन्तव्य ६ हजार ७ सय मिटरको केभ भन्ने ठाउँमा पुगियो । त्यहाँ नजिकै पुग्दा जोनिया डरायो । उ नसक्ने बताएर थकित मुद्रामा तल फर्कियो । म पनि जानै नसक्ने अवस्थामा थिएँ । तर मैले सोचें, नेपालबाट मलाई सरकारदेखि सबैले हेरिरहेको छ कि, ‘सञ्जयले अर्जेन्टिनाको हिमाल चढ्न सक्छ कि सक्दैन ?’ मैले यो सम्झें । मेरो गाइड बाउटीले मलाई अन्तिमसम्म साथ दियो । उ मलाई आइज भन्थ्यो । पटकपटक अगाडि गएर बोलाउँथ्यो । उ धुरुधुरु रोइरहेको थियो । उ यसकारण रोइरहेको थियो कि, आरोहीको केही कारणले निधन भयो भने गाइड जेल जानुपर्ने नियम त्यहाँ रहेछ । मलाई काठमाण्डुमा दुई सय मिटरको दूरी २४ सेकेण्डमा पार गर्न सक्छु । तर मलाई त्यो हिमालमा दुई सय मिटरको दूरी पार गर्न आठ घण्टा लाग्यो । म कसरी चुचुरोमा पुगें । आफैंलाई थाहा छैन । चुचुरोमा पुगेपछि आमाबुबा र मेरो अभियानमा सहयोग गर्ने रामशरण महत, बामदेव गौतम, टोपबहादुर रायमाझी, लीलामणि पोखरेल, केपी ओली, गोल्डेनगेट इन्टरनेशनल कलेज र कान्तिपुर इन्टरनेशनल कलेज लगायतको तस्वीर फहराएँ ।
sanjay5अर्जेन्टिनाको टाकुरामा नेपालको राष्ट्रिय झण्डा र नेपाली राष्ट्रिय पोशाक फरफराएँ । त्यतिबेला मैले तीन करोड नेपालीलाई एकैसाथ सम्झिएँ ।
जब म झर्न सुरु गरें । थकित थिएँ । ६ हजार मिटरको रेञ्जमा आइपुगेपछि हिंड्नै नसक्ने अवस्थामा पुगें । गाइड चिन्तित थियो । उसले पटकपटक टेलिफोन गरेर रेक्स्यु टिम बोलाइरहेको थियो । गाइडले मलाई उतानो परेर सुत्न भन्यो । मैले सोचें कि उसले मलाई मार्न खोज्यो । आवेगमा आएर भनें, ‘यु वान्स टु किल मी ?’ उसले जहाँ ठूलो ढुंगा आउँछ त्यतिबेला सुत्न भन्थ्यो । मलाई लाग्यो कि उसले माथिबाट ढुंगाले किचेर मार्न खोजिरहेको छ । मैले मार्न खोजेको आशंका गरेपछि हाम्रो झगडा भयो । माथि चढ्ने बेलामा औषधि सेवन नगर्ने तर फर्कंदा ‘डाइमोक्स’ नामको औषधि सेवन गर्न दिँदो रहेछ । इन्जेक्सनबाट । सायद उसले इन्जेक्सन लगाउन खोजेको थियो । त्यसरी इन्जेक्सन लगाएपछि तीन घण्टाजति फुर्तिका साथ हिंड्न सकिने रहेछ । तर मैले हान्नै दिइन । जब मैले तल आएपछि मलाई रेस्क्यु गर्न आएको पुलिस देखें, त्यसपछि बाँच्छु कि भन्ने आशा गरें । उद्दार गर्न आएको प्रहरी केभ (६,७०० मि) मा थियो । त्यहीँबाट जोनियाँ फर्केको थियो । उद्धारमा गएका प्रहरीले मलाई इन्जेक्सन दियो । त्यसपछि हिंड्न सक्ने भएँ । मैले नेपालीमा अर्जेन्टिनीहरुलाई नेपालीमा धेरै गाली गरें । रातको ११ बजे तेश्रो क्याम्प(६ हजार मिटर) मा आइपुगें र सुतें । त्यसपछि मैले के के भनेछु । ठूलो आवाजमा तिमीहरुले मलाई मा¥यौ भनें । पानी पनि खान मन लागेको थिएन । मेरो शरीरमा अक्सिजनको मात्रा २३ प्रतिशत बाँकी रहेछ । मानिसलाई बाँच्नका लागि ८०÷९० प्रतिशत अक्सिजन चाहिन्छ । तर मेरो शरीरमा भएको अक्सिजन धेरै कम हो । चिकित्सकले तत्काल क्याम्प–२ मा झारेनौ भने सञ्जयले भोलि सूर्य देख्न पाउँदैन । गाइडले मलाई भन्यो कि तेरो शरीरमा २३ प्रतिशत अक्सिजन छ, यहीँ बसिस् भने भोलिसम्ममा मर्छस् । उसले सम्झायो नेपालमा तिम्रो बाबुआमा र श्रीमती छन् । तैंलै जानुपर्छ । मैले तल आउन मानिन । केही खाएको थिइँन । शरीर तखतरान भएको थियो । सक्ने अवस्थै थिएन । गाइडले मेरो स्लिपिङ ब्याग घिसारेर टेण्ट बाहिर ल्यायो । व्यापक जाडो भयो । घरमा बाबुआमा, श्रीमती सम्झें । भोलि बिहानको मृत्युलाई सम्झें र तल झर्ने निर्णय गरें । राति साढे १२ बजे ‘ड्राइ’ हिमालको अन्तिम काखबाट तल झरें । बेस क्याम्पमा आएपछि हिरो बनें । किनकी १० जनाको टोलीमा मैले मात्र सफल आरोहण गरेको थिएँ । ९ मार्च मेरो जन्मदिन थियो । त्यहीं जन्मदिन मनाएर नेपाल फर्किएँ ।
(कीर्तिमानी आरोही तथा धावक पण्डितसँगको कुराकानीमा आधारित)
साभार – kathmandutoday.com
प्रतिक्रिया