काठमाडौं, २७ जेठ । विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रपति डा रामवरण यादवले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ ।
सरकारले यसअघि नै घोषणा गरेको पुरस्कार रकम राष्ट्रपति डा यादवले खेलाडीहरुलाई प्रदान गर्नुभएको हो ।
नेपालले बंगलादेशमा भएको विश्वकप टवान्टी टवान्टी क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो चरणको खेलमा हङकङलाई ८० रनले, अफगानिस्तानाई नौ रनले हराएको थियो भने बंगलादेशसंग ८ विकेटले पराजय ब्यहोरेको थियो ।
राष्ट्रपति यादवले खड्कासगै १४ खेलाडी र तीन पदाधिकारीलाई नगद सहित सम्मान गर्नुभएको हो । खेलाडीहरुले नगद ५ लाख रुपैयाँ पाएका छन् भने टिमका साहायक प्रशिक्षक जगत टमटा, ब्यवस्थापक उत्तम कर्माचार्य र टेक्निकल एनालिष्ट रमन शिवाकोटीले साढे तीन साढे तीन लाख रुपैयाँ पाए ।
खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै राष्ट्रपति डा यादवले खेलाडीहरुले देशको नाम उच्चो पारेको भन्दै सरकारलाई खेलकुदमा लगानी बढाउन आग्रह गर्नुभयो । उहाले भन्नुभयो ‘अहिलेको सबै नजर खेलकुदमा छ, सरकारले पनि यसमा लगानी बढाएर खेलाडीलाई प्रोत्साहित गरोस् ।’
त्यस अवसरमा यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले मुलपानीको क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने योजना अगाडी बढाएको बताउदै भौतिक पूर्वाधार निर्माणमा ध्यान गएको जनाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली टिमका कप्तान पारस खड्काले आफूहरुले राष्ट्रका लागि खेलिरहेको भन्दै देशको नाम उच्चो पार्न हर समय लागिरहने बताउनुभयो ।
प्रतिक्रिया