काठमाडौं, । असोज २८ गते सम्पन्न हुन लागेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) र एमाओवादी निकट नेपाल पर्यटन व्यवसायी मञ्चबीचको नयाँ गठबन्धन बनेको छ । सागर पाण्डेकै नेतृत्वको टिम बनाएर टानको आसन्न निर्वाचनमा जाने दुईपक्षीय सहमतिले आइतबार औपचारिकता पाएको हो । आइतबार अबेरसम्म बसेको निट नेपालको बैठकले आफुले महासचिवलगायतका पद लिएर पाण्डेलाई अध्यक्षमा सार्ने औपचारिक निर्णय गरेसँगै नयाँ वातावरण सिर्जना भएको हो । यससङ्गै पाण्डेको नेतृत्वमा सशक्त टिम निर्माण गर्ने तयारी तिब्र बनाइएको छ ।
पाण्डे नेतृत्वको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्षमा एलपी शेर्पा र महासचिवमा पासाङ शेर्पा रहने लगभग पक्का जस्तै देखिन्छ । कोषाध्यक्ष र सहकोषाध्यक्षको विषयमा पनि सहमति भइरहेको बताइएको छ । निट नेपालले भने टानलाई व्यवसायिक संस्थाको रुपमा स्थापित गर्नको लागि त्यागसहितको साझेदारी गर्ने रणनीति अवलम्बन गरेको निट नेपालका अध्यक्ष दिपक महतले जानकारी दिए । टान व्यवसायीहरुको साझा संस्था भएकोले व्यवसायिक नेतृत्व स्थापित गर्न आफुहरु एक कदम पछि हटेर सहमतिको लागि मार्गप्रशस्त गरेको पनि महतले बताउनुभयो ।
प्रतिक्रिया