कांग्रेस नेता रायामाझीको उपचारका लागि सहयोग जारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १८:२३

12077408_10206629938420087_318322571_nकाठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष उमेशजंग रायामाझीको उपचारका लागि सहयोग संकलनको क्रम जारी रहेको छ । आइतबार मात्रै नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाका तर्फबाट रायामाझीको उपचारका लागि २ लाख रुपैयाँ उपलब्ध गराइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जनसम्पर्क समिति कोरियाका केन्द्रीय सदस्य नवराज वाग्लेले २ लाखको रुपैयाँको भौचर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभाषद धनराज गुरुङलाई हस्तान्तरण गरेका हुन् । सो रकम जनसम्पर्क समिति कोरियाद्वारा आस्था विन्दु मल्लको संयोजकत्वमा गठित सहयोग संकलन समितिले जम्मा गरेको हो । सो समितिमा नवराज वाग्ले र जितु तिमिल्सेना उपाध्याय सदस्य रहेका थिए । कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष धनराज गुरुङका अनुसार कलेजोमा खराबी देखिएपछि कलेजो प्रत्यारोपणका लागि दिल्लीमा रहेका रायामाझीको उपचारमा सो रकम खर्च हुने बताए । सम्पूर्ण उपचारका लागि १ करोडभन्दा बढी रुपैयाँ लाग्ने भएकोले थप सहयोगका लागि उनले आग्रह गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा गुरुङसहित कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेविसंघका पूर्व अध्यक्षहरु गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ तथा नेविसंघका पूर्व महामन्त्रीद्वय मनोजमणि आचार्य र जितजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो । रायामाझीको उपचारका लागि सरकारले २५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतले ११ लाख र चीन जनसम्पर्क समितिका अध्यक्ष राजन जम्मरकट्टेलले १ लाख रुपैयाँ उपलब्ध गराइसकेका छन् । कांग्रेस सभाषदहरुले उनको उपचारका लागि एकमुष्ट १४ लाख ६१ हजार उपलब्ध गराउने भएका छन् । रायामाझी हालत दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया