काठमाडौ, २६ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले भ्रष्टाचारको आरोपमा आजीवन प्रतिबन्धमा रहेका एएफसी (एसियाली फुटबल महासंघ) का पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट १ लाख १५ हजार पाउन्ड (करिब १ करोड ८५ लाख रुपैयाँ) लिएको खुलासा भएको छ । थापाले हमामको कम्पनी केम्कोबाट उक्त रकम सन् २०१० मार्च र अगस्टमा लिएको उजागर गर्दै बेलायतको द सन्डे टाइम्स पत्रिकाले शनिबार विशेष खोजमूलक लेख प्रकाशित गरेको छ ।
१९ वर्षयता निरन्तर एन्फाको नेतृत्वमा रहेका थापा एएफसीका उपाध्यक्षसमेत हुन् । उनी फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को अध्यक्ष बन्ने दौडमा मत आफ्नो पक्षमा पार्न पैसा दिएको आरोपमा ३ वर्षअघि निलम्बित हमामका निकट हुन् । उक्त रकम व्यापारका लागि लिएको थापाको भनाइ पनि सन्डे टाइम्सले लेखेको छ । थापा आर्थिक काण्डमा मुछिएको यो दोस्रोपल्ट हो । दुई वर्षअघि मात्र उनका छोरा गौरव थापाले हमामबाट १ लाख डलर लिएको अमेरिकी समाचार एजेन्सी एपीले खुलासा गरेको थियो ।
त्यसबेला थापाले घरायसी कारणले उक्त रकम लिएको दाबी गरे पनि हमामको भनाइ बाझेको थियो । उनले एक विद्यार्थीलाई छात्रवृत्ति, फुटबल खेल्दाखेल्दै मृत्यु भएका खेलाडीको परिवार र बिरामी पूर्वखेलाडीको उपचारका लागि दिएको स्पष्टोक्ति दिएका थिए । कतारलाई सन् २०२२ को विश्वकप आयोजना अधिकार दिलाउन मुख्य भूमिका निर्वाह गरेका हमामले त्यसका लागि विश्वभरि ५० लाख डलर र एसियाली फुटबलका उच्च पदाधिकारीहरूलाई १७ लाख डलर दिएको आरोप छ । रकम प्रापकको सूचीमा थापा पनि परेका हुन् । उनी अहिले विश्वकप आयोजना स्थल ब्राजिलमा छन् । एन्फाकै दुई उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले एक महिनाअघि खुलेरै अध्यक्ष थापा आर्थिक रूपमा स्वच्छ र कार्यशैली पारदर्शी नभएको भन्दै ‘विद्रोह’ गरेका थिए । थापा १ लाख डलर प्रकरणलगत्तै अर्को एक आर्थिक मामलासम्बन्धी अभिव्यक्तिका कारणसमेत विवादित हुँदै आएका छन् । उनले एन्फाकै पत्रकार सम्मेलनमा ८ करोड रुपैयाँ ‘गोप्य रूपमा राखेको’ भनेका थिए ।
प्रतिक्रिया