काठमाडौ । पर्यटन क्षेत्रका प्रमुख संघसंस्थाले यस क्षेत्रको सुधार तथा विकासमा कामै नगरेको तथा नयाँ बजेटमा झिनो रकम विनियोजन गरिएको भन्दै प्रमुख तीन दलका पर्यटन विभागले संयुक्त आधारपत्र तयार गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका पर्यटन विभागले नयाँ बजेटमा कुल बजेटको शून्य दशमलव ६ प्रतिशतमात्र पर्यटन क्षेत्रलाई विनियोजन गरिएको भन्दै आपत्तिसमेत जनाएका छन्। यसका लागि उनीहरूले पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र थप अगाडि बढाउन त्रिपक्षीय समझदारी समेत गरेका छन्।
समझदारीपत्रमा कांग्रेसको पर्यटन विभाग संयोजक किशोरसिंह राठोर, एमाले पर्यटन विभाग संयोजक सूर्य थापा र एनेकपा माओवादीका पर्यटन विभाग संयोजक टेकबहादुर बस्नेतले बुधबार हस्ताक्षर गरेका हुन्।
विनाशकारी भूकम्पपछि पर्यटन क्षेत्रको पुनरुत्थान र विकास सम्बन्धमा उनीहरूले तयार पारेको संयुक्त आधारपत्रमा पर्यटन गन्तव्यलाई संकटग्रस्त क्षेत्र मुक्त गरिनुपर्ने, नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश प्र्रवाह गर्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, कुटनीतिक नियोग र पर्यटनसँग सम्वन्धित सरोकारवालाको उपस्थितिमा अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनु आयोजना गर्नुपर्ने माग गरिएको छ।आधारपत्रमा कुल बजेटको कम्तिमा १० प्रतिशत रकम विनियोजन गरी पूर्वाधार निर्माण र पर्यटन विकासलाई व्यापक र तीव्र पारिनुपर्ने जनाइएको छ।
भूकम्पबाट अतिप्रभावित क्षेत्रमा रहेका पर्यटन व्यवसायी र आबद्ध समुदायलाई लक्ष्य गरी सहभागितामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धान र स्मृतिका लागि उपयोगी हुने गरी भूकम्प स्मृति स्तम्भ, विनाश अवलोकन स्थल र पार्क निर्माण गर्नुपर्ने माग उनीहरूले गरेका छन्।
विदेशी पर्यटकमाझ नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको विश्वास दिलाउन पदयात्री आवागमन सुचारु गराउन छिटो पहल गर्नुपर्ने, यसमा सरकारका मन्त्रीदेखि उच्चपदस्थ कर्मचारी, उद्योगी–व्यवसायी, कलाकार, खेलाडी, विभिन्न पेसाकर्मीलगायतको समूह बनाइ पैदल भ्रमण अभियान चलाउनुपर्ने माग पनि गरिएको छ।
त्यस्तै नेपालस्थित सम्पूर्ण कुटनीतिक नियोगसँग समन्वय गरी ती देशका ट्राभल एडभाइजरी र सूचनालाई सकारात्मक रूपमा संशोधन गराउनुपर्ने, काठमाडौं क्षेत्रका ९५ प्रतिशत होटल सुरक्षित रहेको तथा क्षतिको वास्तविक अवस्था र भावी योजनाको जानकारी गराउन विदेशी टुर अपरेटर, लेखक, अन्तर्राष्ट्रिय सञ्चारकर्मी र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी सद्भावना भ्रमण गराउनुपर्ने आधारपत्रमा उल्लेख छ।
चिनियाँ र भारतीय पर्यटक बढी ल्याउन नेपाल वायुसेवा निगमले ती देशका प्रमुख सहरसम्म सिधा उडान गर्नुपर्ने, अहिले नेपाल भ्रमण गर्ने पर्यटकलाई भिसामा ुमल्टिपल इन्ट्रीु को सुविधा दिइनुपर्ने, माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका नियन्त्रित पदयात्रा क्षेत्रमा जाँदा लाग्ने विद्यमान शुल्क पुनरावलोकन गरी अन्य क्षेत्रसरह खुला गर्नुपर्ने, अरनिको राजमार्ग बन्द भएका बेला धार्मिक पर्यटकलाई लोमान्थाङको नेचुङ–कोरला र रसुवागढी जस्ता वैकल्पिक नाका खोली मानसरोवर तीर्थाटन सहज बनाउनुपर्ने आधारपत्रमा उल्लेख छ।
प्रतिक्रिया