इलाम। मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले इलामलगायत पाँचथर र ताप्लेजुङमा पर्यटकीय क्षेत्रमा झन्डै रु तीन करोड बजेट विनियोजन गरेको छ । तीनै जिल्लामा पर्यटन पूर्वाधार निर्माणका लागि चालु आव २०७२/७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु दुई करोड ८८ लाख रकम विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो ।
पर्यटकीय क्षेत्रको संरक्षण तथा पदमार्ग, भ्युपोइन्ट, सूचना केन्द्र, पोखरी संरक्षण, पार्क निर्माणलगायतका काममा खर्च गर्ने गरी बजेट विनियोजन भएको हो ।
विगतमा सञ्चालन भइरहेका केही र चालु आवमा थप केही पूर्वाधार निर्माण गर्न लागेको द्यौरालीले जानकारी दिनुभयो । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अनुसार इलाममा रु एक करोड ७० लाख, पाँचथरमा रु ६१ लाख र ताप्लेजुङमा रु ५७ लाख बजेट मन्त्रालयबाट समितिलाई विनियोजन भएको हो ।
जसअन्तर्गत इलामको पशुपतिनगरमा निर्माणाधीन सूचना केन्द्रका लागि रु १० लाख, साँखेजुङमा सामुदायिक भवनका लागि रु १२ लाख, माईखोलामा पौडी पोखरी र बोटिङ गर्ने जलाशय बनाउन रु १० लाख, नयाँबजारमा पार्क निर्माणमा रु १० लाख, पशुपतिनगरका बौद्धधाममा गौतमबुद्धको पार्क निर्माणमा रु १० लाख, श्रीअन्तुमा पर्ने गुफापातलमा पार्क निर्माणमा रु नौ लाख, दानाबारीमा सहिद पार्क निर्माणमा रु १२ लाख बजेट विनियोजन भएको छ ।
माडमालुङमा वन सीमाङ्कन र मङ्गलबारेको पानीटारमा विश्रामस्थल बनाउन रु १० लाख, सुखानी क्षेत्र पर्यटकीय पूर्वाधारका लागि रु १३ लाख, सन्दकपुर पदयात्रा निर्माणमा रु १० लाख, हाँसपोखरीको संरक्षण तथा रमिते ढुङ्गामा भ्युपोइन्ट निर्माणमा रु १४ लाख बजेट विनियोजन गरेको हो ।
पाँचथरको पौवाभञ्ज्याङमा भ्युपोइन्ट निर्माणमा रु आठ लाख, कन्याटार–लेकगाउँ–मिक्लाजोङ पदमार्ग निर्माणमा रु १० लाख, सिलौटी क्षेत्रमा भ्युपोइन्ट निर्माणमा रु १० लाख, लब्रेकुटीमा बाटो सुधार र विश्रामस्थल निर्माण गर्न रु १० लाख, पौवाभञ्ज्याङ–पाटेनाँगीमा पदयात्रा मार्ग निर्माण गर्न रु नौ लाख, भारपाको जोरपोखरी संरक्षणमा रु नौ लाख र ¥याफिटङ तथा प्याराग्लाइडिङ रक क्लाइम्बिङको सम्भाव्यता अध्यननमा रु पाँच लाख बजेट विनियोजन भएको छ ।
ताप्लेजुङमा कञ्चनजङ्घा पदयात्रा मार्गमा आवास गृह निर्माण गर्न रु नौ लाख, घुन्सा–लेलेप क्षेत्रमा पदमार्ग निर्माणमा रु १० लाख, मिल्के तीनजुरे क्षेत्रमा दुईवटा विश्रामस्थल निर्माणमा रु नौ लाख, ताप्लेजुङ जिल्लाको सदरमुकाम तोक्मेबजार सुकेटार पदमार्ग निर्माणमा रु २० लाख र फुङफुङे झरनामा पुग्ने मोटरबाटो मर्मत र कल्भर्ट निर्माणमा रु नौ लाख बजेट विनियोजन भएको छ ।
मन्त्रालयबाट बजेटको अख्तियारी आइसकेकाले अब चाँडै पूर्वाधार निर्माणको काम र गत वर्ष बाँकी रहेका कामलाई अघि बढाइने समितिले जनाएको छ । रासस
प्रतिक्रिया