अनिल अधिकारी । भारतले क्रमश नेपाललाई दबाउँदै लगेको प्रष्टता संबिधान निर्माणसंगैको घटनाक्रमले स्पष्ट बनाईदिएको छ । यसलाई नेपालले बिल्कुलै संघर्षको नयाँ खुड्किलो मानेर सामान निर्यातको बिकल्प खोज्न आवश्यक छ । नेपालको भू-भाग मिच्दै नेपालमा एकछत्र राजनीतिक तथा आर्थिक रुपमा राज चलाईरहेको भारतसँग फेरीपनि पुरानै शैलीमा मुखारित हुनु नेपालका लागि अझै भयावह स्थिति आउने पक्का संकेत हुनसक्छ । भारतले आफ्नो असल छिमेकी राष्ट्रलाई हेप्दै आएको र देखाउंदै आएको फरक ब्यबहारलाई पहिचान गर्दै नेपालले अब नयाँ सोच र बिचारले निर्णय लिनुपर्ने बेला आएको छ । नेपालमा बसेर भारतलाई ट्याक्स बुझाईरहेका हामी नेपालीलाई भारतसंगको खूला ब्यापारिक सम्झौतालाई धेरै हदसम्म रोक्नका लागि आवश्यक कदम चाल्दै जानु अपरिहार्य छ । हामी एउटा भू-परिवेस्ठीत राष्ट्र भएकोमा र भारतले हाम्रो स्वतन्त्रतालाई नै धावा बोलीरहेको परिवेसमा अझै उसैको गुलाम बन्दै ‘नाका खोल्दिनुस हजुर’ भन्नु कतिको जायज होला ? यो परिवेशले हामीलाई कुनै न कुनै समय भारतले आफ्नो देशभित्र नगाभ्ला भन्न सकिन्न । नेपालजस्तो असल छिमेकी राष्ट्रलाई हरेक द्वन्दमा धकेल्नेदेखि सहयोगी बनी टोपल्ने दोहोरो भूमिका भारतले खेलिरहेको छ । भारत नेपालमा संधै संक्रमणकाल हेर्न चाहन्छ । नेपालमा हुने संक्रमणकालले भारतलाई आर्थिक र राजनीतिक रुपमा मुनाफा मिलिरहेको छ र भारत सधा यही अवस्था होस् भन्ने चाहन्छ । यो बिषयमा स्पस्ट हुने धेरै उदाहरणहरु हामीसँग छन् – नेपाल संक्रमण कालमा हुँदा भारतले एकोहोरो आर्थिक लाभ लिन सक्छ किनकी संक्रमणकालमा नेपालले कुनै बिकासको कोल्टे फेर्दैन । जब बिकासले गति लिंदैन तबसम्म हामी सबै नेपालीहरु यथास्थितिलाई स्वीकार गरिरहेका हुन्छौं । यो अवस्थामा हाम्रो आर्थिक आधार पनि पुरानै शैलीको हुने गर्छ । देशमा उद्योग, कलकारखाना र बिशेष आर्थिक सुधारको पाटाहरुमा अनियमितता हुन्छ । योसंगै नेपालीहरु आफ्नो आर्थिक अवस्था धान्नकै लागि बिदेसिन बाध्य हुन्छन् । नेपालमा बस्तुको खपत मात्र बढ्ने हुँदा उत्पादन हुँदैन । हामीले सबै स्रोत र साधनको स्वदेशमै व्यबस्थापन गर्न नसक्दा विदेशसंग भर पर्नुपर्ने हुन्छ । यसो गर्दा भारतले आफ्ना सबै कुरा नेपाललाई बेच्न पाउँछ । त्यसो त भारतले जुनसुकै सामानको पनि बजार ब्यबस्थापन हेर्दा नेपाललाई हेर्ने गरेको छ । अर्को कुरा आधुनिकता संगै संसारको आवश्यकता फेरिएका छन् गास, बास र कपास मात्र आधारभूत आवश्यकता नभई यसमा धेरै कुरा जोडिदै गएको छ । यो सबै आवश्यकतामा भारत निकै माथि उठेको छ तर नेपालमा लगातारको राजनीतिक संघर्षले यी सबै कुरा सपनामा मात्र छन् । हामीले चलाउने मोबाइलहरुमा भारतीय बजार, खाने तरकारीमा भारतीय बजार, यस्तै सुनदेखि नुनसम्म भारतसँग भरपर्नपर्ने अवस्था आएको छ । यो स्थितिमा भारतले नेपालसँग धेरै मुनाफा भित्र्याउन सफल बनेको छ । नेपालको राजनीतिक मोडले सकारात्मक बाटो लिन थालेपछि उसको सबै कुरा चौपट हुने स्थिति हुन्छ । नेपालले आफ्नो बिकासमा आफै रमाउन पाउने अवस्था आउँछ । यसो हुँदा उसको आर्थिक नीतिमा असर परि भारतको अर्थतन्त्रनै गिर्न सक्छ । त्यसैले पनि भारत नेपालको जनताले ल्याएको हरेक परिवर्तनमा आत्तिएको छ । फेरी अहिलेको परिवेशमा कुरा गर्नुपर्दा मधेसी आन्दोलनको नेतृत्व लिनेहरुले समेत भारतको नीतिलाई साथ दिँदा राष्ट्रियताले नकारात्मक मोड लिन सक्ने निश्चित छ तर भारतको नीतिलाई मधेसीहरुले बुझ्न सकेका छैनन् । मधेसीसंग आन्दोलन गर्ने अनेकौं बाटो छन् तर मधेसले भारतकै पृष्ठपोषणमा अहिले नेपाल सामान निर्यात गर्ने नाकालाईनै केन्द्रित गरि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । यस बिषयमा साच्चै भारतले मधेशलाई सहयोग गरेको हो भने मधेसले आफ्नै घुंडामा बन्चरो हानेको जस्तो हुन्छ । मधेसीलाई सिधा रुपमा भारतले साथ दिएको छ र अहिलेको आन्दोलनलाई सघाएको छ भने मधेसलाई पनि भारतले मुर्ख बनाएको छ । भारत यदी असल छिमेकी हो भने नेपालको कुनैपनि आन्तरिक निर्णयमा बोल्दैन र कुनैपनि समुहलाई सहयोग गर्दैन । बरु नेपालमा आन्दोलनका कारण नाकाबन्दी भएको अवस्थामा भरबलले नेपालमा सहयोग गर्न सक्छ । हामीले आजसम्म उसलाई पैसा तिर्छौं तर उसले सित्तैमा दिएजस्तो गर्छ भने हामीले बुझ्नु जरुरि छ कि हामीलाई नजानिदो तरिकाले भारतले परजीवी जस्तो बनाईरहेको छ । हामी ७५ प्रतिशत कृषक भएर पनि दैनिक अरवौं खाद्यान्न भारतबाट ल्याईरहेका छौं । भारतले सहयोग गरेजस्तो गर्छ तर हामीले हरेक कुरामा भारतलाई नै धनी बनाईदिएका छौं । उसको आर्थिक अवस्था उकासिन सहयोग गरिदिएका छौं । भारतले आफ्नो बास्तबिकता देखाएपछी नेपालले अर्को छिमेकि राष्ट्रको बाटोबाट नेपाललाई अत्यावाश्यक सामग्रीहरु निर्यात गर्नुपर्ने अबको आवश्यकता छ । नेपालमा भएको दशकौंदेखि अघिको सम्झौता र नेपालको राजनीतिक अस्थिरताको फाइदा भारतले लुटिरहेको छ र यसैको निरन्तरता भारत चाहन्छ भन्ने अहिलेको घटनाक्रमले देखाएको हुँदा नेपालले पनि बिगतका असमान सन्धि र सम्झौता खारेज गर्दै आफ्नो नयाँ नीति लिनु आवश्यक छ । आवश्यक परे सिमामा भिषा सिस्टमनै लगाउन सकिन्छ । मेची देखि महाकालीसम्म सिमाघेरासंगै पुर्व-पश्चिम हाइवे र हाइवे संगै हिमाल, पहाड र तराइमा सुकुम्बासी जीवन बिताईरहेका नेपालीहरुलाई एकीकृत बस्ति बनाइदीन सकिन्छ र भारतले गर्ने अनेकौं गोप्य ब्यबहारहरुको निगरानी गर्ने जिम्मा दिइन्छ । नेपालको सिमा क्षेत्रमा बस्ने नेपालीहरुलाई राज्यले बिजुली पानि र ट्याक्सको दायरा घटाउन सकिन्छ । अहिलेसम्म हाम्रा युवाहरु देशको राजनीतिक अस्थिरता देखेर बिदेसिन्छन् । अनि हामी नेपालमा बसेर भारतको उत्पादन र भारतको बिकाससंगै आएका प्रबिधीलाई हातमा लिएर ढुक्कले उतैतिरको रंगिन जिन्दगी हेरेर आनन्द लिईरहेका छौं । हामीलाई हाम्रा युवाहरुले विदेशबाट खाई नखाई पठाएको पैसाले भारतले बनाएको कार्बन, माइक्रोम्याक्स र अनेकौं थरिका साधन चलाउँदै हाम्रो युवाको पसिना विदेश पठाईरहेका छौं । हाम्रो आर्थिक आधारको नदि बगेर उतै गएको छ, पैसा बगेर उतै गएको छ, त्यति मात्र नभएर अब देशको सार्वभौमिकता पनि उतै बगाउन खोजिरहेका छौं । त्यसैले बुझ्नेहरूले यो देशको आर्थिक नीति परिवर्तन गरेर सकेसम्म आफ्नै देशमा उत्पादनलाई ध्यान दिन जरुरी छ । हामीलाई जानकारी हुन जरुरी छ कि हामीले लिने शिक्षा देखि भिक्षासम्ममा पनि उसकै नीति लादिएका छन् । उसले राखे जस्तो प्रस्तावमा नागरिकता बाडिदा कुनैपनि समय भारतका नागरिक नेपाली बनि नेपाल राष्ट्र माथिनै धावा बोल्न सक्ने शंका हुन्छ । त्यसैले यो परिस्थितिलाई १०० पटक सोचेर नेपाल अगाडी बढ्नु आजको आवश्यकता छ । अत: अहिलेको असामान्य परिस्थितमा अब हरेक सन्धी सम्झौतालाई खारेज गर्दै नेपालले आफ्नो स्वतन्त्र निर्यात नीति बनाउन आवश्यक छ । र अर्को कुरा नेपालको निर्यातले धानेको भारतको अर्थतन्र्वको ठूलो हिस्सा अबको केहि समयमै खरानी बनाउन आवश्यक छ । त्यसैले कोहि छ यो देशमा अन्तराष्ट्रिय नीति बनाउने नेता ?
प्रतिक्रिया