श्रीमतीको नजरमा वामदेव गौतम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७२, शनिबार १०:२८

आफूलाई लागेको ‘गरिछाड्ने’ र बोलेको ‘पुर्‍याइछाड्ने’ स्वभावका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम हक्की मानिन्छन् । काम गर्ने शैली र स्वभावका कारण वेला–वेलामा चर्चा र विवादमा पनि मुछिन्छन् । एमाले उपाध्यक्षसमेत रहेका गौतमका बानी र स्वभावबारे नयाँ पत्रिकाका खगेन्द्र पन्तले उनकी पत्नी तुलसा गौतमलाई १०१ प्रश्न सोधेका छन् :

उठ्ने/सुत्ने
१) बिहान कति बजे उठ्नुहुन्छ ?
साढे चार/पाँच बजेभित्र उठिसक्नुहुन्छ ।
२) चिया–कफी के रुचाउनुहुन्छ ?
सुरुमा तातो पानी खानुहुन्छ, त्यसपछि हो चिया खाने ।
३) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ । बिहान ट्रेड मिलमा दगुर्नुहुन्छ ।
४) योगा गर्नुहुन्छ कि गर्नुहुन्न ?
योगा त पहिलेदेखि नै गर्नुहुन्छ ।
५) के गर्नुहुन्छ ?
रामदेवको अनुलोम, विलोम गर्नुहुन्छ ।
६) राति कतिखेर सुत्नुहुन्छ ?
टुंगो हुन्न । काम परेका वेला, कार्यक्रम/बैठक भएका वेला ढिलो पनि हुन्छ । सामान्यतया: १०/साढे १० बजे सुत्नुहुन्छ ।
७) सुत्नुअघि केही खाने बानी छ ?
छैन, केही खानुहुन्न ।
८) घरमा बस्दा कस्ता लुगा लगाउन मन
पराउनुहुन्छ ?
ट्राउजर र टिसर्ट लगाउनुहुन्छ ।
९) कुन पेस्ट प्रयोग गर्नुहुन्छ ?
पेप्सोडेन्ट ।
१०) कुन साबुनले नुहाउनुहुन्छ ?
पहिला लाइफब्वाई साबुनले नुहाउनुहुन्थ्यो, अचेल रामदेवको औषधालयको साबुन
प्रयोग गर्नुहुन्छ ।
११) सेम्पु कुन प्रयोग गर्नुहुन्छ ?
हेयर एन्ड सोल्डर ।
१२) सावरमा नुहाउनुहुन्छ कि बाल्टिनमा पानी भरेर ?
पहिला बाल्टिनमा पानी भरेर नुहाउनुहुन्थ्यो, अचेल सुविधा छ, सावरमै नुहाउनुहुन्छ ।th

पत्रपत्रिका/टेलिभिजन
१३) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पढ्नुहुन्छ, तर अचेल त्यति भ्याउनुहुन्न ।
१४) टेलिभिजन कति हेर्नुहुन्छ ?
हेर्नुहुन्छ फुर्सद हुँदा । समाचार धेरै हेर्नुहुन्छ ।
१५) पत्रपत्रिकामा आएका समाचार अरू कसैले ‘ब्रिफ’ पनि गरिदिन्छ कि ?
कहिलेकाहीँ अरूले पनि सुनाइदिनुहुन्छ ।
१६) उहाँका बारेमा थरी–थरीका समाचार छापिएका हुन्छन्, त्यसमा प्रतिक्रिया कस्तो हुन्छ ?
राम्रा समाचार छन् भने त राम्रै मान्नुहुन्छ । नेगेटिभ समाचार आएका रहेछन् भने ‘ठीक छैन’ भन्नुहुन्छ । कमी–कमजोरी सुधार्ने खालका समाचारलाई सकारात्मक रूपमै लिनुहुन्छ ।
१७) ट्राफिक नियम उल्लंघन गर्दै डोरी नाघेर बाटो क्रस गर्दै गरेको उहाँको फोटो पत्रिकामा छापिएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो । उहाँको आफ्नो प्रतिक्रियाचाहिँ कस्तो थियो ?
उहाँलाई लाग्यो भने कतिपय काम मेसो नपुर्‍याईकनै पनि गरिदिनुहुन्छ । जस्तो कि सेक्युरिटीका मान्छे गाडीबाट ओर्लिनुभन्दा अगाडि आफू नै गाडीबाट हाम फालिदिनुहुन्छ । त्यो फोटो छापिएपछि मैले पनि सोधँे– किन त्यस्तो गर्नुभएको भनेर ?
१८) के भन्नुभयो त ?
त्यतिवेला अगाडिबाट जुलुस पनि आउँदै थियो रे । ‘परिस्थितिअनुसार डोरी नाघेरै जानुपर्ने
थियो,’ भन्नुभयो ।

खाना/खाजा
१९) बिहानको खाजामा के लिनुहुन्छ ?
खाजाको खासै टुंगो हुँदैन, हुँदा सुक्खा रोटी–तरकारी, ब्रेड हुन्छ ।
२०) खानामा के मन पराउनुहुन्छ ?
खाना त सादा दाल, भात र तरकारी नै मन पराउनुहुन्छ । हप्तामा एक–दुईपटक माछामासु
पनि हुन्छ ।
२१) दिउँसो खाजा के खानुहुन्छ ?
प्राय: खानुहुन्न, खाने दिन पनि ठेगान हुन्न ।
२२) रातिको खानामा के रुचाउनुहुन्छ ?
रोटी, तरकारी र दूध खानुहुन्छ । साँझमा त रोटी नै हो ।
२३) खानामा कमेन्ट गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ नि । चिल्लो, पिरो, मसला धेरै भएको रुचाउनुहुन्न । खाना मन परेन भने ‘तिमीले खाना पकाउने ट्रेनिङ लिन
जानुपर्‍यो’ भन्नुहुन्छ ।
२४) कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
रोटी त मैले पकाएको मन पराउनुहुन्छ ।
२५) किचेनमा कहिले पस्नुहुन्छ कि पस्नुहुन्न ?
पस्नुहुन्छ । पकाउन पनि रुचि देखाउनुहुन्छ, तर भ्याउनुहुन्न ।
२६) के–के पकाउन आउँछ उहाँलाई ?
पकाउन त दाल, भात, तरकारी सबै पकाउन आउँछ । मासुचाहिँ साह्रै मीठो पकाउनुहुन्छ । चाख्दै, पकाउँदै गर्नुहुन्छ ।

फिल्म/गीत–संगीत
२७) फिल्म हेर्न कति रुचाउनुहुन्छ ?
रुचाउनुहुन्छ मौका मिल्यो भने ।
२८) कस्ता फिल्म रुचाउनुहुन्छ ?
साउथ इन्डियन एक्सन मुभी हेरेर धेरै रमाउनुहुन्छ ।
२९) हलमा गएर कि टेलिभिजनमा ?
कहिलेकाहीँ हलमा पनि जानुहुन्छ । प्राय: राति सुत्ने वेला टेलिभिजनमा हेर्नुहुन्छ ।
३०) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
सिरियल त हेर्नुहुन्न ।
३१) गीत कत्तिको सुन्नुहुन्छ ?
नेपाली गीत सुन्नुहुन्छ ।

रेस्टुरेन्ट/खाजा
३२) रेस्टुरेन्टमा गएर खाना/खाजा खाने गर्नुहुन्छ
कि हुन्न ?
धेरै कम जानुहुन्छ । जतिपल्ट गयौँ, हामीले नै भनेर जानुभएको छ ।
३३) ‘आज बाहिरै खाऔँ’ भनेर आफैँ कहिल्यै
भन्नुहुन्न ?
अहँ भन्नुहुन्न ।
परिवार
३४) उपप्रधानमन्त्रीको सरकारी निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?
हामी बुढाबुढी छौँ । अनि, छोरी पनि बस्छे ।
३५) परिवारका सदस्यबीच राजनीतिक गफगाफ
कति हुन्छ ?
हुन्छ कहिलेकाहीँ ।
३६) समग्र राजनीतिको हुन्छ कि एमालेको मात्रै ?
सबैतिरको हुन्छ ।
३७) आफैँ भएर राजनीतिक कुरा कति सेयर
गर्नुहुन्छ ?
आफँै त गर्नुहुन्न । हामीले सोधेपछि मात्रै भन्ने हो । कहिलेकाहीँ दुवैजना पार्टीको एउटै कार्यक्रममा गइरहेका हुन्छौँ, तर केही बताउनुुहुन्न ।
३८) रिस उठ्दैन त्यस्तो वेला ?
उठ्छ नि । उहाँलाई भन्छु पनि ।
३९) तपाईंले दिएका राजनीतिक सुझाब कत्तिको मान्नुहुन्छ ?
कहाँ मान्नु नि ? मैले भनेको मान्नुहुन्न, बरु त्यही कुरा अरूले भन्यो भनेचाहिँ मान्नुहुन्छ ।

विदेश घुमघाम
४०) विदेश जाँदा तपाईंलाई पनि सँगै लैजान कति रुचाउनुहुन्छ ?
मन पराउनुहुन्छ । तर, पछिल्लो समय जानु नै भएको छैन ।
४१) विदेशमा घुमघाम, रमाइलो कति गर्नुहुन्छ ?
रमाइलो गर्नुहुन्छ, घुमघाम गर्नुहुन्छ, फोटो खिच्न रुचाउनुहुन्छ ।
४२) कुन–कुन देश सँगै जानुभएको छ ?
अमेरिका, चीन र भारत सँगै लिएर
जानुभएको छ ।

लुगा/पहिरन
४३) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
ए त्यसमा त एकदमै सचेत हुनुहुन्छ । छुस्स पनि नमिलेको छ भने लगाउनुहुन्न । मन परेको मात्रै लगाउने हो ।
४४) धेरै के लगाउन रुचाउनुहुन्छ ?
फरक–फरक रङको कोट–पाइन्ट लगाउन मन पराउनुहुन्छ ।
४५) लुगामा आइरन आफँै गर्न जान्नुहुन्छ कि
जान्नुहुन्न ?
जान्नुहुन्न । मैले त आजसम्म लगाएको देखेको छैन ।
४६) कसले लगाइदिन्छ ?
मैले लगाइदिने हो उहिलेदेखि ।
४७) उहाँका लागि लुगा कसले किनिदिन्छ ?
आफैँ किन्नुहुन्छ । अरूले ल्याएको मन पराउनुहुन्न । हामीले किन्दा साइजदेखि सबै कुरा मन नपर्ने पनि हुन्छ ।
४८) कुन ब्रान्डका लुगा लगाउनुहुन्छ ?
त्यस्तो ब्रान्ड चुजी हुनुहुन्न ।

तलब
४९) आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि हुन्न ?
त्यो त मलाई नै हो दिने ।
५०) सबै तपार्इंलाई नै दिनुहुन्छ कि आफू पनि
राख्नुहुन्छ ?
राख्नुहुन्न । पूरै मलाई नै दिने हो ।
५१) अनि, आफ्नो खर्च कसरी चलाउनुहुन्छ त ?
उहाँको आफ्नो खर्च नै के हुन्छ र ? भएको पैसा बाँड्ने हो । खल्तीमा भएको जति दिएर सक्ने हो । फेरि पनि मैले नै वेला–वेलामा दिने गर्छु । कहिलेकाहीँ ‘आज त रित्तै छु, पैसा देऊ’ पनि भन्नुहुन्छ ।
५२) पछिल्लोपटक तपाईंले सबैभन्दा धेरै रकम कति दिनुभएको छ ?
त्यस्तै २०/३० हजार दिएकी छु ।
५३) पैसाको बारेमा दुईजनाबीच किचलो हुन्छ
कि हुँदैन ?
कहिलेकाहीँ हुन्छ, तर त्यति ठूलो होइन । मलाई दिएको पैसा मागेर अरूलाई दिनुहुन्छ । सकिएपछि ‘पुर्‍याएर चलाउन सक्दिनस्’ भन्नुहुन्छ । मैले पनि ‘बाँडेर सक्नुहुन्छ’ भनेर कराउँछु ।

रिसाउने र खुसी हुने
५४) रिसाउने बानी कति छ ?
रिसाउनुहुन्छ ।
५५) कस्ता कुरामा रिसाउनुहुन्छ ?
उहाँलाई मन परेन भने जस्तासुकै कुरामा पनि रिसाउनुहुन्छ । मलाई पनि अब बानी परिसक्यो ।
५६) अरूको रिस घरमा कत्तिको रिफ्लेक्ट हुन्छ ?
त्यस्तो त गर्नुहुन्न ।
५७) रिसाएपछि कसले पहिला फकाउँछ ?
नबोली सुखै हुन्न । घरमा कुन सामान कहाँ राखेको छ, उहाँलाई थाहा हुने कुरा भएन । अनि, बोल्नुहुन्छ । बोलाएपछि मैले पनि बोल्नु परिहाल्यो ।
५८) के भनेर फकाउनुहुन्छ ?
केही भन्नुहुन्न । अरू वेला नामले बोलाए पनि त्यस्तो वेला ‘मेरो फलानो समान कहाँ छ’ मात्रै भन्नुहुन्छ । अनि, आफूले पनि बोल्नैपर्‍यो ।
५९) रिसले वा मायाले तपार्इंलाई कहिल्यै पिट्नुभएको छ ?
पिट्नु त भएको छैन ।

दु:खी र खुसी
६०) कस्ता कुरामा खुसी हुनुहुन्छ ?
सबैतिर ठिकठाक भइरह्यो भने खुसी मान्नुहुन्छ ।
६१) पछिल्लो समय कहिले धेरै खुसी हुनुभयो ?
संविधानसभाले संविधानको विधेयक पारित गरेको दिन धेरै खुसी हुनुहुन्थ्यो । ‘अब संविधान बन्ने भयो’ भन्दै हुनुहुन्थ्यो ।
६२) खुसी कसरी साट्नुहुन्छ ?
सुनाउनुहुन्छ । त्यस्तो वेला साथीभाइ भए झन् खुसी मान्नुहुन्छ ।
६३) कस्ता घटनामा धेरै दु:खी बन्नुहुन्छ ?
त्यस्तै चित्त नबुझेका, समाजमा नराम्रो हुने घटनामा दु:खी बन्नुहुन्छ ।
६४) पछिल्लोपटक धेरै दु:खी कहिले हुनुभयो ?
अस्ति कृषिमन्त्री हरि पराजुलीमाथि जस्तो आरोप लगाइयो, मन्त्रीबाटै हटाइयो । त्यो घटनाले उहाँलाई निकै दु:खी बनायो । ‘राम्रो भएन’ भन्नुहुन्थ्यो ।

उपहार
६५) तपाईंलाई उपहार कति दिनुहुन्छ ?
बानी नै छैन उपहार दिने त ।
६६) बर्थडे, म्यारिज एनिभर्सरीमा विस पनि गर्नुहुन्न ।
उहाँलाई यादै हुन्न । मैले भन्नुपर्छ, ‘आज मेरो बर्थडे हो’ भनेर । अनि बल्ल विस गर्नुहुन्छ । पोहोरसालको बर्थडेमा छोराछोरी कसले ‘लगिदिनुपर्छ’ भनेछ कुन्नि, सुनको सिक्री ल्याइदिनुभएको थियो ।
६७) अहिलेसम्म उहाँले दिएको त्यो मात्रै एउटा गिफ्ट हो ?
उहिल्यै एकपल्ट भारतबाट फर्किंदा सारी पनि ल्याइदिनुभएको थियो । तर, आफँै होइन, साहना प्रधान पनि जानुभएको थियो । उहाँले ‘लगिदेऊ’ भनेपछि ल्याइदिनुभएको रे ।

जिद्दी
६८) जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त गर्नुहुन्छ । उहाँले ‘यसो गर्ने’ भनेपछि गर्ने हो । उहाँको बानी थाहा छ, त्यसैले हामी पनि केही भन्दैनौँ ।
६९) जिद्दी गरेपछि सम्झाउँदा पनि मान्नुहुन्न ?
हामीले भनेको सुन्नुहुन्न ।
७०) तपाईंको कुरा कत्ति पनि मान्नुहुन्न ?
मान्न त मान्नुहुन्छ, तर सम्झाउन
समय लाग्छ ।

रक्सी र चुरोट
७१) चुरोट/खैनी केहीको अम्मल छ ?
अचेल त खानुहुन्न । पहिला चुरोट धेरै खानुहुन्थ्यो ।
७२) कति खानुहुन्थ्यो र ?
धेरै खानुहुन्थ्यो नि । दिनमा कम्तीमा एक बट्टा सकाउनुहुन्थ्यो ।
७३) सबैभन्दा धेरै चुरोट कहिले खानुभयो ?
पार्टी फुटेर माले–एमाले भएका वेला धेरै खानुभयो । खाली भयो कि खाइहाल्ने । त्यतिवेला टेन्सन पनि धेरै हुन्थ्यो, चुरोट पनि धेरै खानुहुन्थ्यो ।
७४) नखानुस् भनेर तपाईं कराउनुहुन्थेन ?
धेरै भनँे नि नखानुस् भनेर त । तर, मान्नुहुन्थेन ।
७५) अनि, कसरी छाड्नुभयो त ?
उहाँको एउटा बानी गजब छ, ‘गर्छु’ भनेपछि गरिछाड्ने ‘गर्दिनँ’ भनेपछि गर्दै नगर्ने । चुरोट पनि ‘खान्न’ भन्नुभयो, फ्याट्ट छाड्नुभयो ।
७६) कति भयो छाडेको ?
पार्टी एकीकरण भएपछि छाड्नुभएको हो ।
७७) कुन चुरोट खानुहुन्थ्यो ?
खै, कुन हो ! सूर्य हो कि शिखर हो ।
७८) रक्सी कति खानुहुन्छ ?
खानुहुन्छ, तर धेरै खानुहुन्न ।
७९) साथीभाइको जमघटमा कि घरमै खानुहुन्छ ?
पार्टीहरूमा पनि खानुहुन्छ, तर धेरै रुचाउनुहुन्न । घरमै खानुहुन्छ दुई/तीन पेग ।
८०) कुन रक्सी मन पराउनुहुन्छ ?
वाइन पनि खानुहुन्छ, तर धेरै ह्विस्की रुचाउनुहुन्छ । बियर खानुहुन्न ।
८१) वाइन कुन खानुहुन्छ ?
गुलियो भएको मन पराउनुहुन्न । टर्राे, टर्रो हुने खानुहुन्छ ।
८२) अनि, ह्विस्की नि ?
ब्ल्याक लेबल मन पराउनुहुन्छ ।
८३) घरमा बुढाबुढी सँगै बसेर कति खानुहुन्छ ?
खान्छौँ कहिलेकाहीँ ।
८४) रक्सीले मात्दै गएपछि दुईजनाबीच कहिलेकाहीँ झगडा हुन्छ कि हुँदैन ?
(हाँस्दै) कहाँबाट हुनु नि ? । रक्सी खाएपछि उहाँ घल्र्याम्म सुतिहाल्नुहुन्छ । कहिलेकाहीँ त म गफ गरिरहेकी हुन्छु, उहाँ सुतिसक्नुहुन्छ ।

पढ्ने बानी
८५) पुस्तक पढ्ने बानी कत्तिको छ ?
पढ्ने बानी त छ, तर अचेल फुर्सद नै पाउनुहुन्न ।
८६) पढ्न कस्तो समय ठीक मान्नुहुन्छ ?
रातिमै हो पढ्ने । पहिला–पहिला त पढ्नैपर्नेछ भने रातभरि बसेर पनि पढ्नुहुन्थ्यो ।

रोमान्टिक
८७) रोमान्टिक कत्तिको हुनुहुन्छ ?
उहाँको मुडमा भरपर्छ । कहिलेकाहीँ रमाइलो गर्नुहुन्छ ।
८८) कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?
खुसी भएको वेला छ भने गुनगुनाउनुहुन्छ ।
८९) कस्तो वेला ?
नुहाएर बाथरुमबाट निस्कने वेला गुनगुनाउनुहुन्छ ।
घुर्ने बानी
९०) सुतेको वेला कत्तिको घुर्नुहुन्छ ?
पहिला त यति घुर्नुहुन्थ्यो कि कुरै नगर्नुस् । त्यही घुर्ने समस्याका कारण अचेल मेसिन लगाएर सुत्नुहुन्छ ।
९१) उहाँले घुरेपछि तपार्इंलाई सुत्न डिस्टर्ब
हँुदैनथ्यो ?
हुन्थ्यो नि । त्यस्तो वेला म त ब्युँझाइदिन्थेँ । कहिलेकाहीँ त राति चार/पाँचपटक नै उहाँलाई झकझक्याएर ब्युँझाउँथेँ ।
९२) उहाँको घुर्ने बानीकै कारण कहिलेकाहीँ दुईजनाबीच ठाकठुक पर्दैनथ्यो ?
कहिलेकाहीँ हुन्थ्यो । म कराएपछि उहाँ ‘आफू घुरेको सुन्दिन, उल्टो मलाई भन्छे’ भन्नुहुन्थ्यो ।

पार्टी विभाजन गर्दा दु:खी
९३) एमाले विभाजन गरेर माले गठन गर्नुभएको थियो । नयाँ पार्टी बनाउने दिन कस्तो थियो उहाँको मनस्थिति ?
पार्टी फुटाई नै हाल्नुपर्छ भन्ने जोड त उहाँको सुरुदेखि नै थिएन । मैले पनि उहाँलाई ‘पार्टी नै त फुटाउनुहुन्न’ भन्थेँ । तर, अरू साथीहरूसँगको कुराकानीमा ‘सँगै बस्नै नसक्ने वातावरण भएपछि त कसरी बस्न सकियो ?’ भन्ने कुरा हुन्थे । हुन पनि त्यतिवेला उहाँलगायतका नेताहरूलाई कारबाही नगरेको भए हुन्थ्यो नि । घर निकाला गरेको छोराले नयाँ घर त बनाउँछ नै ।
९४) पार्टी फुटेपछि सँगै काम गरेका पुराना साथीहरूले ‘देशको एक नम्बर भ्रष्टाचारी’ भनेर घोषणा गर्नुभयो । चित्त कत्तिको दुखाउनुभयो ?
त्यो त अति नै निकृष्ट काम भएको थियो । रिस उठ्यो भन्दैमा त्यतिसम्म गर्नु राम्रो होइन । ‘यस्तो काम पनि गरे साथीहरूले’ भनेर धेरै चित्त दुखाउनुभयो । पछि त पार्टीले पनि त्यसलाई सँच्यायो ।
९५) पहिलो संविधानसभाको चुनावपछि एमाओवादीको नेतृत्वमा सरकार गठन हुँदा उहाँ उपप्रधानमन्त्रीको शपथ खान दौरा–सुरुवालमा तयार भएर घरबाट निस्कनुभएको थियो । पछि, एमाओवादीसँग कुरा नमिलेपछि रित्तै फर्किनुभयो, त्यो दिन कत्तिको तनाव लिनुभयो ?
अलिअलि तनाव त भइहाल्छ नि । मलाई पनि धेरै रिस उठ्यो एमाओवादीसँग । उहाँले पनि ‘उपप्रधानमन्त्री/गृहमन्त्री नदिए त सरकारमा नजाने’ भन्नुभयो । सहमति त सबैले मान्नुपर्छ नि ।
९६) तीनपल्ट उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभयो । उहाँले राम्रो कामचाहिँ कुन कार्यकालमा गरेजस्तो लाग्छ तपाईंलाई ?
तीनवटै फरक–फरक स्थिति थिए । पहिलोपटक राप्रपाको नेतृत्वमा सरकारमा हुनुहुन्थ्यो । स्थानीय निकायको चुनाव गराउनुभयो, एमालेले भक्कु जित्यो । दोस्रोपटक एमाओवादीको नेतृत्वमा सरकारमा जानुभयो, कटवाल काण्ड भयो र राजीनामा दिनुभयो । अहिले कांग्रेस नेतृत्वको सरकारमा हुनुहुन्छ, संविधान निर्माणमा लाग्नुभयो ।
९७) कटवाल काण्ड हुँदा सरकारबाट राजीनामा दिएर फर्किंदा खल्लो मान्नुभएन ?
कटवाललाई हटाउने कुरा उहाँले त पाँच महिनादेखि रोकेरै राख्नुभएको हो । तर, पछि अध्यक्ष जेएन कामरेड नै हटाउने कुरामा सहमत हुनुभयो । पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्रीले भनेपछि उहाँले मात्रै के गर्न सक्नुहुन्थ्यो र ? अन्तिममा पार्टीले फिर्ता बोलायो, फर्किनुभयो ।
९८) फेरि पनि अहिलेको पर्फमेन्स पहिलोपटक गृहमन्त्री हुँदाको भन्दा सुस्त लाग्दैन ?
पहिलोपल्टको गृहमन्त्रीभन्दा अहिले अलिकति सुस्त त लाग्छ । तर, सबै समयको कारण पनि हो । संविधान निर्माणमा ध्यान दिनुपरेकाले पनि त्यस्तो देखिएको होला । अनि, सबै काम गर्ने पार्टीको निर्देशनमै त हो नि ।
९९) एमालेले बल्खुमा कार्यालय बनाउँदा उहाँको मिहिनेत, लगाब, आर्थिक स्रोत जुटाउने सक्रियता अधिकांश नेताको भन्दा बढी थियो ।…
(प्रश्न पूरा नहुँदै) अधिकांशको कुरै नगर्नोस्, उहाँले नै हो गरेको । उहाँ नखटिएको भए सायद घर नै बन्ने थिएन होला । ‘कार्यालय बनाउनुपर्छ’ भनेर अगाडि सर्ने नै उहाँ हो । मनमोहन, माधव, केपी कामरेडहरू सबै त्यतिवेला सरकारमा हुनुहुन्थ्यो, आफ्नो ठाउँबाट सघाउनुभयो होला । तर, उहाँ तन, मन, धन सबै ढंगले रातदिन नभनेर खटिनुभयो ।
१००) अहिले त्यो घर भत्किएको छ, कत्तिको नराम्रो मान्नुभएको छ ?
आफूले त्यति खटेर बनाएको घर भत्किएको छ, नराम्रो मान्नुभएको छ । त्यत्रा बलिया पिलर पनि बांगिएपछि ‘भौगर्भिक हिसाबले नै त्यो ठाउँ राम्रो रहेनछ’ भन्नुुहुन्छ ।
१०१) अब सरकार परिवर्तन हुने तयारी भइरहेको छ, कत्तिको चिन्ता मान्नुभएको छ ?
तराईको समस्या सामाधान भएपछि फेरिन्छ होला सरकार । हामी पनि घर फर्किने दिन कुरेर बसेका छौँ ।

प्रतिक्रिया