महोत्तरी। ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे। बाटोमा भेटिएका मामा विनोण्द चौधरीले ‘झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए। तर महेन्द्र चोक काट्नै पाएनन्। प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो। उनी ठाउँका ठाउँ ढले।
१० कक्षामा पढ्दै गरेका १७ वर्षीय रोहनको मृत्युले जलेश्वर नगरपालिका–७ बजराहीको चौधरी परिवार शोकमा डुबेको छ। घरमा रुवाबासी चलिरहेको छ। बुधबार दिउँसो ३ बजेको त्यो घटनापछि अर्धअचेत उनकी आमा बबिताले एक दाना अन्न पनि खाएकी छैनन्। रोहनका किताब, स्कुलको परिचयपत्र र मोबाइल हेर्दै भक्कानिन्छिन्। छिनछिनमा बेहोस हुन्छिन्। बर्बराइरहन्छिन्, ‘हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो ?’
शुक्रबार फेरि त्यही परिवारमा अर्को बज्रपात आइलाग्यो। गाउँमा छिरेर प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा रोहनका हजुरबुबा ६० वर्षीय गणेशको ज्यान गयो। गणेश शुक्रबार साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो। बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भयो।
‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ,’ छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराले के दोष थियो ? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन।’
गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए। उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए। उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए। उनले २०३६ तिर तत्काली राजा वीरेन्द्र शाहबाट सेवा पदकसमेत पाएका थिए।
रोहन जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे। ‘पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’ विनयले भावविह्वल हुँदै भने। गणेश र रोहन राजनीतिमा लगाव थिएन। आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया