काशी ढुंगाना । एउटा निमुखो ज्यालादारी काम नछोडेको वर्षौ भयो । १२ देखि १६ घण्टा सम्म काममा खट्दा पनि आफ्नै पेट भर्न मुस्किल छ उसलाई । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म काममा खट्दा पनि उसलाई कहिले घरमा केटाकेटीको किच किच र अभावले कहिले छोडेन बिचरा । कहिले काही त बिहान ६ बजे नै काममा गए पनि साँझ ८ बजे सम्म काममा खट्नुपर्ने, दुइ घण्टा बढी खट्यो भने पनि केटाकेटीलाई खाजा खर्च पुग्ला कि भन्ने उसको लोभले कहिले छोडेन । लखतरान परेर सांझ परे पछी काम बाट घर फर्कन्छ । रुखो सुखो खान्छ र मन भरि पिर बोकी ओच्छ्यानमा पल्टन्छ । कहिले काही त झ्याप्प निद्रा पर्छ तर कहिले काही त पटक्कै निद्रा पर्दैन । निद्रा परेको दिन त उसलाई चयन हुन्छ किनकि उसले होस हवासमा कल्पना गर्न सम्म नसकेर दमित भएका उसका सुखका भावहरु सपनामै प्राप्त गर्छ । अनि उसको जीवनको खुशीको क्षण नै सपना हुन्छ र सपना देख्न मन पराउछ । तर जब उसलाई ओच्छ्यानमा निद्रा पर्दैन उसलाई जीवनको काहाली लाग्दो भविष्य देखेर तब छट्पटाएरै उसको सारा रात बित्दछ । उसको राम्रो भनौ अथवा नराम्रो दैनिकी यसरी नै बितिरहेको हुन्छ । समय बित्दै जादा देशमा आम चुनाव घोषणा भयो । बाटा- घाटा, गाउँ- शहर चारै तर्फ चुनावी हल्ला चल्न थाल्यो । गाउँका केटा केटी देखि बुढाबुढी सम्मले यो पार्टी र उ पार्टी भन्दै गफाउन थाले । चिया पसल देखि पानी भर्ने पधेरा सम्म राजनीतिमय भयो । उसले काम गर्ने ठाउँमा पनि राजनीतिका कुरा गर्न थालियो । चारै तर्फ झाले पार्टी, तारे पार्टी र राते पार्टीका नारा घन्कन थाले । सभा, सम्मेलन र भाषण, भिषण सुरु भए । सबै तर्फ मेरो पार्टी यस्तो र तेरो पार्टी उस्तो, गफ नै यस्तै चल्न थाले । मानिसहरु सबै चुनावी रङग भूमी तर्फ लाग्दा काम धमाधम बन्द हुन् थाले । यो निमुखाको पनि काम बन्द भयो । मालिकको आदेश आयो १५ दिनलाई काम बन्द, अब १५ दिन पछाडी अर्थात चुनावको दुइदिन पछाडी काममा आउनु । बिचरा निमुखो, उसको काम भएन भने साँझ बिहान आउदैन र मुखमा माड पनि लाउदैन । निमुखाले मालिक सँग रुन्चे मुख लगाएर हेरिरह्यो, मालिकको नजरमा पर्न सकेन । मालिक जता जान्थ्यो त्यतै पछ्यायो । मालिकले आफ्नो अगाडी निमुखालाई देख्यो र सोध्यो, – “तलाई के चाहियो र मेरो पछाडी लागेको” ? मलिन मुख लगाउदै निमुखो न्यून आवाजमा बोल्यो –“काम त बन्द भयो, मालिक मेरा केटा केटी ………………..” । निमुखाले बोली पुराउन पनि सकेन । मालिकले बुझ्यो होला । त्यसपछि “ला दुइसय रुपया १५ दिन जति चाला । चुनावको बेला छ हाम्रो पार्टीको उम्मेद्वारलाई चुनाव खर्च एक लाख जति दिनु पर्छ । चुनाव पछाडी आउदा तिमिहरुको हिसाब सबै चुक्ता गरौला” । मालिकको व्यवहारले निमुखालाई अरु धेरै निमुखो बनायो । बोलोस् ,बोल्न सक्दैन, नबोल्दा अशह्य छ । तल माथि बोलियो भने फेरी उसकोमै काम खोज्न आउनु पर्छ । निमुखो हैरान भएर लुरुलुरु घर फर्क्यो । निमुखाले आफुले मालिक सँग पाएको २०० रुपयाँ खोलीमा (घरमा) लगेर श्रीमतीलाई दियो । केहि गुनासो पनि गरेन, त्यो साँझ खायो र घुत्रुक्क लड्यो । त्यो रात भरि निमुखालाई निद्रा परेन बिहान ३ बजे नै उ उठेर खोली बाट कामको हिड्यो, बिहान भरि घर घर डुल्यो,काम मिलेन मानिसहरु प्राय आ=आफ्ना काम छोडेर चुनावी माहोलमा लागेका थिए । घुम्दा घुम्दै कहिँ कतै काम नपाए पछाडी सुस्केरा लिदै निमुखो घर फर्क्यो । भोलिपल्ट निमुखो कतै काम पाइन्छ कि भन्ने धुन मै थियो । गाउँकै एक जना अन्तरे नामको मान्छे उसको नजिक आएर सोध्यो, -“ए निमुखा आज काममा नगएर कानमा तेल राखेर बस्यौ कि क्या हो” ? अन्तरेको कुरा सुनेर कम्फारो नतातेको हैन निमुखाको तर बिचरा के गरोस, खुम्चिदै बोल्यो –“ यो चुनावले मेरो काम नै बन्द गरायो” । अन्तरेलाई चुनावी सभामा जाने साथी चाहिएको थियो, ‘के खोझ्छस् कानो आखो’ आँखो भने जस्तो भयो । अन्तरेले निमुखा सँग चुनावको बेली बिस्तार लगायो । फलानो पार्टीले जित्यो भने त यस्तो हुन्छ उस्तो हुन्छ । खाने लाउने र बस्ने समस्या हुदैन, आदि आदि । अन्तरेको कुरा सुनेर के रहेछ त काम पनि छैन भनेर निमुखो पनि अन्तरेको पछाडी लागेर चुनावी सभामा गयो । अन्तरेले त्यो दिन साच्चै चुनावको रौनक देख्यो । नेताहरुको भाषण भिषण , नाच गान कस्तो रमझम । निमुखाले त्यो दिन त्यतै बितायो, सांझ परे पछाडी कार्यक्रम सकियो, मानिसहरु सबै आ-आफ्नो बाटो लागे तव उ पनि रित्तो हात घर फर्क्यो । बिहान सँगै कार्यक्रममा गएको अन्तरे निमुखालाई छोडेर भट्टी तिर लाग्यो, बिचरा निमुखालाई कसैले पुछेन, जाओस भने न बोलाएको ठाउँमा कसरी जाओस ? उसले मन खिन्न पारेर बाटो लाग्नु बाहेक उसको अगाडी केहि थिएन र त्यसै गर्यो । भोली पल्ट बिहान राते पार्टीका नेताको घर दैलो कार्यक्रम रहेछ, अरुको घरमा जस्तै निमुखाको खोली (घर)मा पनि नेताको आगमन भयो । सुरुमा उम्मेदवारसँग पधारनेहरुको परिचयको कार्यक्रम भयो । गाउँको पेटी नेताले निमुखाको बिवरण पनि बतायो । अनि उनीहरुले दिन थाले भोटको कुरा र आफुले चुनाव जिते पछाडी गर्ने कामको फेहरिस्त । दिनु त के नै पर्थ्यो र मुखले दिन चाहि केहि बाकि राखेनन् । उनीहरुले थपे “हाम्रो कार्य क्रममा हिड्नुहोस हामी यहाँलाई दैनिक भत्ता दिन्छौ । हामीले जित्यौ बने गास, वास र कपासको कानूनी ग्यारेन्टी गर्छौं । यहाँको वाल बच्चा सरकारले पढाउने ब्यवस्था गर्छौं । निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्छौं । काम नहुनेलाई कामको पनि ग्यारेन्टी गर्छौं । बस्ने खोलीको र लत्ता कपडाको ग्यारेन्टी गर्छौं, आदि आदि” । नेताहरुको कुरा सुनेर निमुखाको निधार खुम्चियो, दिमाख रिगायो, अनि कता कता उसको अनुहारमा अर्कै खालको चमक देखियो । उसले जोस्सिदै भन्यो, “त्यसो हो भने म तपाईहरुको पार्टीमा अहिले बाटै झोला बोके” । आज बाट निमुखो राते पार्टीको चुनावी कार्यकर्ता भयो । उसले घरमा स्वास्नी छोराछोरीलाई पनि सम्झायो । “अब हाम्रा दु:खका दिन फिर्दै छन्, अब हाम्रो खर्च सरकारले व्यहोर्ने भयो र हामीलाई कुनै पनि किसिमको समस्या झेल्न पर्ने भएन । तिमीहरु ढुक्क भएर बस चुनावको दौरानमा पनि म हिडे वापत दैनिक भत्ता पाउने भएँ” । घरमा यस्तै कुरा गर्दै मनमा जोस र उत्साह बोकेर नेताहरुकै झोला बोकेर हिड्यो निमुखो । यसरी मनमा आसा र तनमा जोश बोकेर चुनावी माहोलमा हिडेको निमुखो प्रचार प्रसारमा अग्र भागमा रहदै एक हप्ताको प्रचार प्रचार सिध्याएर पार्टीको आदेश अनुसार गाउँमै खट्ने भयो । दैनिक ज्याला गरेर गुजारा गर्ने निमुखो आज कुनै एउटा राजनीतिक दलको अग्रणी कार्यकर्ता बनेर उभिएको अर्को प्रतिस्प्रधी दललाई मन परेको थिएन । समयले मानिसलाई कहाँ बाट कहाँ पुराउछ कसले भन्न सक्छ र ? निमुखो आफ्नो दल र आफ्नो दलको उम्मेदवारको प्रचार प्रसार राम्ररी गर्दै थियो । एक बिहानै निमुखाले गाउँलेहरुलाई सम्झाउदै गर्दा “झाले” पार्टीको घर दैलो कार्यक्रमको पनि रहेछ । “झाले” पार्टीका कार्यकर्ताको र निमुखाको दुइतर्फ़ी भनाभन परेछ । भनाभनकै क्रममा चर्काचर्की हुदा हात हाल्ने काम गरेछन, “झाले” पार्टीको कार्यकर्ताले निमुखालाई ढुङ्गो उठाएर प्रहार गर्दा टाउकामा चोट लागेछ । निमुखाको टाउकोबाट भल्भल रगत बगेको थियो । गाउलेहरु मिलेर निमुखालाई नजिकैको अस्पताल पुरयाए । तर के गर्नु दिमाखमै असर पर्ने गरि गहिरो चोट लागेकोले गिदीमा रगत जमिसकेछ । थानीय अस्पालले नसक्ने भएर उसलाई राजधानी पुर्याइएछ् । डाक्टरको भनाइ अनुसार राजधानीको अस्पतालमा जाँच गर्दा उसको उपचार स्वदेशमा हुन् नसक्ने भयो । बिचरा निमुखालाई विदेश कसले र केको पैसाले लैजानु, उसको त अस्पतालमा कुरुवा बस्ने सम्म मान्छे छैन । घरमा स-साना केटाकेटीहरु छन्, श्रीमती पनि उसको पछाडी आउन नसक्ने । केहि दिनको अस्पतालको बेवारिसे वास पछी गास, वास र कपास् अनि केटा केटीको शिक्षा दीक्षाका सपना सँगै निमुखाको प्राण पखेरु पनि सधैंको लागि उडेछ । न निमुखो न उसका सपना । कहाँको ज्यालादारी मजदुर, कहाँको राते पार्टीको कार्यकर्ता ! देशको एउटा कमजोर बत्ती देशको जल्दो बल्दो राजनीतिले निभायो । समाजमा धेरै निमुखाहरुले जसो यस्तै नियति भोग्नु परेको कुरा यो कथाले उजागर गरोस भन्ने भाव राखेर लेखिएको कथा ।
प्रतिक्रिया