सम्माननीय प्रधानमन्त्री ज्यु,
हामी यता सबै परदेशीहरु शारीरिक रुपमा त स्वस्थ नै छौं तर मानसिक रुपमा भने बिरामी हुने अवस्था आएको छ देशको हालत देखेर, आशा छ तपाईं पनि आरामै हुनुहुन्छ ।
भन्नेहरुले त भन्छन् देश बिरामी हुँदा कसैलाई वास्ता छैन बुढा बिरामी हुँदा उपचारमा लाखौ खर्च गरेर अमेरिका लगिन्छ तर पनि सत्य यो होकी देशलाई तन्दुरुस्त राख्न तपाईं पनि स्वस्थ हुनैपर्छ ।
शिघ्रस्वास्थ्य लाभको कामना छ सबै प्रदेशीको तर्फबाट । थाहा छैन आजभोलि देशमा सुन्दै कहाली लाग्ने घटनाहरु किन र के को लागि घट्दै गइरहेका छन् । यहाँबाट त हामी मुकदर्शक बनेर खबर सुन्नेपढ्ने र एकछिन सोच्न बाहेक के नै गर्न सक्छौ र ? बढी गर्न सके यसो सामाजिक सन्जालतिर आ–आफ्ना विचार पोख्दै कुर्लने हो । त्यो भन्दा बढी हाम्रो वशमा छैन ।
सरकार, कानुन र पुलिस प्रशासन किन लचिलो भएर प्रस्तुत भइरहेको छ त कामकारबाहीको मामलामा ? यो हामी सर्वसाधारणको चासोको बिषय बनेको छ । पहिलो कुरा त पीडित र पिडक छुट्याउन पनि गाह्रो पर्छ हाम्रो देशमा, त्यसपछि उजुरी पर्छ एउटालाई दोषी सावित ग¥यो अनि धरौटिमा रिहा भन्ने समाचार पीडितले घर पुगेर टिभी खोल्दा सुन्न हेर्न पाउँछन् । नातावाद कृपावाद अनि भनसुन हावी भैरहेका ताजा उदाहरण हामीमा झन् व्याप्त छन् ।
देशमा सबैतिर एकपटक हेरेर मनन गर्ने हो भने यस्तो लाग्छ यहाँ कुनै कानुन नै छैन जसलाई जे मन लाग्यो त्यो गर्न स्वतन्त्र छ । प्रधानमन्त्री ज्यु जनताले हाम्रो देशमा कानुन छ भन्ने प्रत्याभूति गर्न पाउने दिन आउला कि नआउला ? की गायिका मन्जु पौडेलले भने जस्तै ‘हे बरै नेपालको कानुन दैवले जानुन्, सानाको कुरा ठूलाले के मानुन् ।’ हुने हो ?
संविधान बनाउने नाममा वर्षौ समय र राज्यको अबर्बौ सम्पत्ती पनि सकियो तर खोइ अहिलेसम्म माखो मार्न सक्या हैन ? बहुमतीय सरकार छ यदी साँच्चिकै देशमा शान्ति र संविधान चाहने हो भने अनि पद अनुसारको दम छ भने पेलेरै भएपनि अघि बढ्न सबै जनताले साथ दिन्छौं । केही गर्न नसके नैतिकताको आधारमा सुम्पिदिए हुन्छ सरकार युवा पुस्तालाई । मौन बसेर इतिहास कै नालायक सरकारको पगरी नगुथेकै राम्रो ।
एकपटक सबै जनताको ठाउँमा बसेर सोच्नुहोस् त, कहाँ कुन अवस्थामा छौं हामी ? बलात्कृत युवती पुजा बोहोराको बाउ बनेर, ६ वर्षीय बालिका पूजा शाहको हजुरबाउ बनेर अनि न्यायको भिख माग्दै गर्दा प्राण नै घिटिघिटी हुन लागेका गोविन्द केसी भएर सोच्नुहोस् कस्तो हुन्छ उत्पीडनको पीडा भनेर ।
बाहिर त यो पनि सुन्नमा आएको छ की अविवाहित प्रधानमन्त्री भएको हुनाले परिवार र समाज भन्ने खासै मतलब अनि ज्ञान छैन भनेर तर हामीलाई यती कुरा विश्वस्त बनाउनुप¥यो की हाम्रो देशको प्रधानमन्त्रीसँग अलिकति भएपनि मानवीयता भन्ने कुरा छ । तपाईंको राज्यमा भएका शोषितपीडित जनताहरुको भावना पनि बुझ्नुहोस् एकपटक अनि पर्दाफास गरिदिनुहोस् सामन्ती अनि पीडकहरुको ।
तपाईंले सपथ लिँदा त भ्रष्टचारी माथि शून्य सहनशीलता भनेर भन्नुभएको थियो, की यो सुन्ने सहनशीलता भनेको हो र ? आज तपाईंले सपथ खाएकै देशमा संवेदनशील स्वास्थ्य क्षेत्रदेखि लिएर शिक्षा अनि विकासनिर्माणको कामहरु भ्रष्टचार नगरेसम्म सुरु हुँदैनन् ।
कर्णालीमा सिन्डिकेटकै कारण दैनिक सवारी दुर्घटनाका खबर प्रदेशमा बसेर पढ्ने अनि टोलाउने काम त हाम्रो हो कोइराला सरकार, सिन्डिकेटको दादागिरी अन्त्य गरेर सबै कुरा व्यवस्थित गर्दै मासिक सयौं नेपालीको ज्यान जोगाउनतर्फ लाग्ने की ?
प्रधानमन्त्री ज्यू, २१ औं शताब्दीमा पनि जातभात र छुवाछुत अनि कैयौं अन्धविश्वास अझै व्याप्त छ हाम्रो देशमा । विकास निर्माणको लागि छुट्टिएको बजेट ५० प्रतिशत पनि सायदै सही ठाउँमा पुग्छ होला । दक्ष चिकित्सक उत्पादन गर्ने एमबीबीएस परीक्षाको प्रश्नपत्र दिनदहाडै लाखौमा बिक्री हुन्छ ।
नेताहरुको उपचारको लागि राज्यको ढुकुटी आफैं सती गइदिन्छ तर लाखौं जनता भोकै छन् । जाडोमा शितलहरले त गर्मीमा अत्याधिक गर्मीले पनि गरिब र निमुखाकै बली माग्छ । संसदमा सभासदले नै अमानविय व्यवहार देखाउँदा पनि कुनै कार्वा्हि गरिँदैन ।
अब भने सरकार हामीहरु के आधारमा चित्त बुझाएर बसौं ? रातारात सीमा अतिक्रमण हुँदा अनि भारतीय एसएसबी दिउँसै नेपाली भुभागमा छिरेर आफ्नो रबैया देखाउन खोज्दा आफ्नै आमालाई परपुरुषले अत्याचार गर्नलागे जस्तो हुन्छ तर के गर्नु भक्कानिएको मुटुले आँखालाई रसाई भन्न बाहेक अरु केहि गर्न सकेन ।
तपाईंको सरकार सधैं बुढाखाडाले मात्रै चलाउने हो की जुझारु युवाले पनि पालो पाउँछन् । कमसेकम हामीहरु पढ्ने निहुँमा विदेश आएर आफ्नो श्रम बेच्न त पर्दैनथ्यो की ? थोरै भएपनी पसिना आफ्नै देशमा बगाउन पाउँथ्यौं की ?
सधै सरकारको मुख ताकेर बस्ने हामी नेपालीहरुलाई २ शब्द भन्न मन लागेको छ यसैपत्र मार्फत सार्वजनिक गर्छु । सायद हामी सबै हाम्रो पेशा र कर्मप्रती इमान्दार भयौ भने कसैको केही आश गर्नुपर्दैन जस्तो लाग्छ ।
अन्त्यमा, हरेक काम र निर्णय गर्नुअघि देश र जनताको हित हुन्छ की हुँदैन त यसले भन्ने सोचेर मात्र काम गर्नुहोला । मलाई जहाँसम्म लाग्छ तपाईं व्यक्तिगत स्वार्थमा लिप्त भएर राष्ट्रघाती कदम उठाउनु हुनेछैन । यो संक्रमणकालीन अवस्थाबाट निकास दिनसक्ने मान्छे अहिलेको अवस्थामा तपाईं नै हौं ।
उही परदेशी,
विष्णु सापकोटा, अष्ट्रेलिया
प्रतिक्रिया