बौद्धमार्गीहरुका अनुसार आठौं शताब्दीका बौद्धगुरु पद्मसम्भवले प्रथम तिब्बती राजा थ्रिसङको पाला (सन् ७४२–७९७) मा तिब्बत जाने क्रममा हलेसी गुफामा ध्यान गरेका थिए । गुफालाई देखेर अचम्म मान्दै उनीहरुले ‘हलेस्यो’ भने । तिब्बती भाषामा आश्चर्यजनक कुरालाई बुझाउन हलेस्यो भनिन्छ । बैद्धमतअनुसार यसैबाट हलेसी नाम रहन गएको हो ।
यस क्षेत्रमा ऐतिहासिक कालदेखि नै किरात समुदायको बसोबास रहँदै आएको छ । उनीहरु पनि हलेसीलाई आफ्नै रहनसहन अनुसार जोड्ने गर्दछन् ।
किरातीहरुलाई कृषि सभ्यतामा प्रवेश गराउने पुर्खाहरु ‘तयामा, खियामा र रैछाकुले (खोक्चिलिपा/हेत्छाकुप्पा)’ले तान बुनेर यहीबाट कृषि सभ्यताको थालनी गरेको उनीहरुको भनाई छ ।
यता, हिन्दुधर्मालम्बीहरु पनि तपस्याबाट खुसी भएर महादेवले भष्मासुरलाई जसको टाउकोमा छोए पनि भष्म हुने वर दिएको कथा हलेसीसँग जोड्ने गर्छन् । उनीहरु ‘हलेसी’को नाम ‘हरि+ईश्वर’बाट ‘हरिश्वर–हलीश्वर–हलेश्वर’ हुँदै हलेसी भएको मान्छन् । उनीहरु हलेसीलाई ‘पूर्वको पशुपति’ मान्छन् । गिर्वाणयुद्धविक्रम शाहको पालामा हलेसी महादेवका नाममा बिर्ता दिइएको र गिरीहरुलाई पुजारी नियुक्त गरिएको उनीहरुको बुझाई छ ।
जेहोस् यस्तै विविध जातजाती, समुदाय, डाँडाकाँडाको बिचमा रहेको हलेसी पुग्न भने निक्कै गाह्रो समेत पर्नेछ । तपाई हवाईमार्ग हुँदै जानु भयो भने लामिडाँडाबाट जानुपर्नेहुन्छ । लामिडाँडा विमानस्थलबाट हलेसीसम्म बसमा जान सकिन्छ । तपाई पैदल मार्ग हुँदै जान भने अलिक गाह्रो पर्नेछ । तर हलेसीसम्म सडक बाटो पुगिसकेकाले बस मार्फत पनि त्यहाँसम्म जान सकिनेछ ।
सोही हलेसी महादेव र महादेव परिसरका तस्वीरहरु हामीले गुगलमार्फत यहाँ केही प्रस्तुत गरेका छौँ ।
प्रतिक्रिया