हिन्दुराष्ट्र ल्याउनका लागि सारा नेपाली जाग्नु आवस्यक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ११:०६

काठमाण्डौं । नेपाल हिन्दु युवा मञ्चले आयोजना गरेको नेपाल हिन्दु आमरण अनशनको आज सातौं दिन खुलामञ्चमा पत्रकार सम्मेलन सम्पन्न भयो । असंख्य पत्रकार, सञ्चारकर्मी, सन्त–महन्तहरू, संघ–संस्थाका प्रतिनिधिहरू र सर्वसाधारणको उपस्थितिमा हिन्दुराष्ट्रको उल्लेख संविधानमा गर्नैपर्ने कुरामा जोड दिइयो । कार्यक्रममा बोल्नुहुँदै नेपाली कंग्रेसका नेता कुमार रेग्मीले सनातन धर्मका बहुमूल्य संस्कृति र संस्कार मेटाउने खेललाई हामी सफल हुन दिंदैनौ भन्दै नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्न चार युवाहरूले गरिरहेको यो अनशन एउटा बलियो खम्बा भएको कुरा जानकारी गराउनुभयो ।3  अनशनमा बस्नुभएका खेमराज आचार्यले आफ्ना विचार व्यक्त गर्दै विश्वको एकमात्र सनातन हिन्दुराष्ट्र नेपाल नेपालको प्रमुख पहिचान हो र यही पहिचानलाई जोगाउनका लागि हामी अनशनमा बसेका छौं, भन्नुभयो । त्यसैगरी अर्का अनशनकारी प्रेमनिधि भारद्वाजले अनशन बस्दै गर्दा दुइटा अनुभूति भएको, एउटा नेपाल–आमाको छोरा हुन पाएकोमा गौरव लागेको र अर्काे आेंकार–परिवारका लागि समर्पित हुन पाउँदा आफू धन्य भएको महसूस गरेको बताउनुभयो । त्यसैगरी अर्का अनशनकारी सागर कट्वालले आफ्नो मन्तव्यमा, अब सारा नेपाली जाागेर मात्रै हिन्दुराष्ट्र ल्याउन सम्भव भएको भन्दै सम्पूर्ण नेपाली जनतालाई साथ र समर्थनका लागि आग्रह गर्नुभयो ।4
कार्यक्रममा बोल्नुहुँदै जगद्गुरु मोहनशरण देवाचार्य–ज्यूले अब जनताका ताली मात्र हैन, हिन्दुराष्ट्र बचाउनका लागि अब संविधानसभा घेराउ गर्नुपर्ने जानकारी गराउनुभयो । त्यसैगरी अनशनकारीको स्वास्थ्यस्थितिको रिपोर्ट दिनुहुँदै प्रो. डा. रामप्रसाद उप्रेतीले अनशनकारीको ब्लडरिपोर्ट अनुसार वहाँहरूको स्वस्थ्य अवस्था गम्भीर र चिन्ताजनक रहेको जानकारी गराउनुभयो । साथै वहाँले अनशनकारीहरूले स्लाइन चढाउन नमानेको, बरु प्राण त्याग्छौं तर अहिले शरीरमा स्लाइन चढाउँदैनौ भनेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया