घासियारा अझै घाँस काट्न बाध्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १३:३८

काशी पोख्रेल

बाँके।  दिनभरि घुमेर गाँउभरि खोजेको घाँस बेच्न साँझ आठ बजेसम्म बस्दा पनि फूलमति घसियाराले एक दिन आफ्नो घाँस बेच्न सकिनन् । बेच्न मण्डीमा बसेको केही छिनमै सकिने उनको घाँस हिजोआज नबिकेको देख्दा उनी छक्क छिन् ।
पुख्र्यौली पेसा घाँस बेच्ने भएको घसियारा समुदाय अहिले संकटमा छ । दिनभरि खोजेर ल्याएको घाँस बिक्री नहुनाले उनीहरूमा आर्थिक अभाव बढ्दो छ । बढ्दो शहरीकरणले घाँस पाइने ठाउँको अभाव हँुदैछ । नेपालगन्जमा गुड्ने टाँगालाई रिक्सा, माइक्रोबस र विक्रम टेम्पोले विस्थापित गरेकाले घोडाको संख्या दिनप्रतिदिन घट्दैछ । यसले घसियारा समुदायलाई पेसा परिवर्तन गराउन बाध्य बनाउँदैछ । तर उनीहरुसँग पेशा परिवर्तन गर्ने विकल्प पनि छैन ।
आदिवासी मधेशी समुदायअन्तर्गत पर्ने घसियारा समुदाय बाँके जिल्लाको नेपालगन्ज नगरपालिका–११ र १७ घँसियाराटोलमा करिब पाँच दर्जन घरधुरीमा बसोवास गर्दछन् । शहरमा बस्ने भए पनि यो समुदायको शिक्षा, स्वास्थ्य, सरसफाइको स्थिति अत्यन्त नाजुक छ । घसियारा समुदायका बालबालिका कमै विद्यालय जाँदैनन् । नेपालगन्ज नगरपालिकाले यो समुदायका बालबालिकाको स्याहारसुसारका लागि शिशु स्याहार केन्द्र खोलिदिए पनि अभिभावक बालबालिकालाई पठाउन मन गर्दैनन् । घसियाराका कुनै घरमा शौचालय छैन । उनीहरू सडक किनारको खुला नालीमा दिसापिसाब गर्छन् ।
प्लान नेपाल र नेपालगन्ज नगरपालिकाले तीन बर्षअघि २ वटा शौचालय बनाइदिए पनि शौचालयमा दिसापिसाब गर्ने बानी भने घसियारा समुदायमा बस्न सकेको छैन । एकाबिहानै नालीको डिलमा लहरै बसेर दिसापिसाब गर्न उनीहरू कुनै संकोच मान्दैनन् । यो समुदायका महिलाहरू दिनभरि घाँस खोजेर बेलुका बेच्ने गर्छन् । पहिले उनीहरू सडक किनारमा घाँसका थुप्रा राखेर बस्थे । तर पछिल्लो समयमा गाउँ नगर साझेदारी विकास कार्यक्रमले घाँसमण्डी बनाइदिएपछि त्यहीबाट उनीहरु घाँस बेच्ने गर्छन् ।
‘बेलुका यही ठाँउमा घाँसको किनबेच हुन्छ । एक दिनमा १०० देखि १५० रुपियाँसम्म घाँस विक्री हुन्छ । दिनभरि कमाएको रकमले पुरुषहरू रक्सी खान्छन् र थोरै घर खर्चका लागि प्रयोग गर्छन् । त्यसैले महिलाको घर सञ्चालनमा जिम्मेवारी बढी हुने गर्छ,’ घाँस विक्री गर्दै गरेकी फूलमतिले भनिन् । घसियारा समुदायका अघिकांश पुरुष र महिलालाई विभिन्न संघसंस्थाले सीपमूलक तालिम उपलब्ध गराएका छन्, तर उनीहरूले व्यवसाय परिर्वतन गर्ने कुनै सोचाइ नै राखेका छैनन् । तालिम लिएकामध्ये तीन जनाले किराना पसल र एक जनाले सिलाइकटाइको व्यवसाय सुरु गरेका छन् ।
अर्को छुट्टै व्यवसाय सञ्चालन गर्नेलाई ऋण सहयोग दिन विभिन्न वित्तीय कारोवार गर्ने र सामाजिक संस्था तयार छन् । तर ऋण लिएर छुट्टै कारोबार गर्नुभन्दा दिनभरि टाढासम्म गएर घाँस खोजेर ल्याउनमा नै यस समुदायका महिला आनन्द मान्छन् । घाँस बिक्री नभएको दिन उनीहरूलाई दुःख लाग्छ । भोलिपल्ट फेरि अघिल्लो दिनको दुःख बिर्सन्छन् र पुरानै दैनिकी दोहो¥याउँछन् । विभिन्न संघसंस्थाले घसियारा समुदायमाथि लगानी गरिरहे पनि त्यो बालुवामा पानीसरह भएको छ । fha
उनीहरू कुनै परिर्वतन देखिएको छैन । शिक्षा, स्वास्थ, सरसफाइ लगायत विभिन्न विषयमा घसियारा समुदायले पाएको तालिमको कुनै प्रतिफल देखिँदैन । ‘आफ्नो जीवन गुजार्नकै लागि उनीहरुलाई दिनभरी घाँस काट्नुपर्ने बाध्यता छ । बाबुबाजेको पालादेखि चली आएको पेशा छोड्न पनि गा¥हो छ । अर्को कुनै विकल्प पनि हामीसँग छैन,’ घसियारा मिरोजले भने । दिनभरी घाँस काटेर आफ्नो पेट पाल्नु उनीहरुको बाध्यता हो ।
‘हाम्रा बालबालिका विद्यालय जाँदैनन् । घाँस काट्ने पेशामा आमा बाबुलाई सहयोग नगरे साँझ विहानको छाक टार्न पनि मुस्किल पर्छ । त्यसैले पढाइमा भन्दा घाँस काट्ने पेशामा सहयोग गर्ने भएकाले हाम्रा छोराछोरी विद्यालय जाँदैनन्,’ फुलमतीले भनिन् । घँसियार इन्सान राई भन्छन्, ‘घँसीयाराहरुको न त जमिन छ न सम्पति नै, हाम्रो पेशा नै घाँस काटेर आएको पैसाले जीविकोपार्जन गर्ने हो । बिहान घाँस काट्नका लागि दैनिक १०÷१२ किलोमिटर टाढासम्म जानुपर्छ ।’
आफुलाई बालबालिकाहरुले सघाउनुपर्ने बाध्यताले गर्दा पनि अभिभावकहरु बालबालिकालाई विद्यालय पठाउँदैनन् । घसियार टोलमा करिब १ सयको संख्यामा बालबालिकाहरु रहेका छन् । उनीहरु विद्यालय नगएर अभिभावकहरुलाई काममा सघाएर बस्छन् । सरकारले सन् २०१५ सम्ममा साक्षर नेपाल बनाउने सरकारको उद्देश्य राखेको छ । तर यी बालबालिकाहरुको अवस्थाले भने त्यो उद्देश्यलाई चुनौती दिइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१