बाँके -‘बुहारीहरु जेल चलानपछि चरेश बिक्री गर्न लगाउने मुनबहादुर बस्नेतले जेलबाट छुटाउन लाग्ने आधा बढी रकम खर्चे गर्ने आश्वसन दियो, अहिले ८ लाख रुपैँया जम्मा गर्दा वास्तै गर्दैन,’ देवीसराका ससूरा कलमबहादुर बस्नेतले बताए । ‘चरेश बोक्न लगाउने गाउँमा डुलिरहेको छ, प्रहरीले दुई पटक समात्यो छोड्यो,’ उनले भने, ‘घरमा बुहारीहरु नहुँदा नातिनातिनाको विचल्ली भएको छ ।’
नौवस्ता–७ तल्लो गाभरस्थित एकै परिवारका तीन बुहारी देवीसरा बस्नेत, लालसरा बस्नेत र तुल्सी बस्नेत तीन वर्षदेखि भारत बहराईच जिल्ला कारागारमा जेल जीवन काटिरहेका छन् । २०६९ कार्तिक १४ गते भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) रुपैडिहाले चेकजाँचका क्रममा ४ किलो १० ग्राम चरेशसहित पक्राउ गरेको थियो । पक्राउपछि उनीहरु बहराईज जिल्ला कारगारमा छन् ।
तीनै बुहारीका आठ बच्चाहरुको पढ्ने, खाने, हुर्कने सबै लथालिङ्ग भएको छ । आफन्तै भए पनि बुहारी फसाउनेलाई प्रहरीकोमा कारवाहीको माग गर्दा पनि प्रहरीले कारवाही गर्न नसकेको उनले बताए । तीनै जना महिलाका पति भारतमा मजदुरी काम गर्छन् । पत्नीहरु भारतमा जेल चलानपछि उनीहरु मजदुरीका लागि भारत जान सकेका छैनन् । ‘काखे छोराहरु छाडेको तीन वर्ष भयो, बच्चाहरु हुर्केर सर्लक्क बढिसके, चरेश बोक्न लगाउने गाउँमा घुमेर बसिरहेको छ,’ छिमेकी नैसरा परियारले भनिन् ।
ससुरा मुनबहादुर बस्नेतले रुपैडिहा बसपार्कसम्म चरेश पु¥याए तीन लाखसम्म आम्दानी हुने प्रलोभन देखाएपछि तीनै बुहारी काम गर्न राजी भए । ससूराले दखाएको लोभलालचले उनीहरु काखेबच्चा छोडेर भारतीय जेलमा छन् । तीनै जना देउरानी जेठानी हुन् । देवीसरा बस्नेतका दुई छोरी र दुई छोरा छन् । कान्छो छोरा डेढ बर्षको हुँदा उनी जेलमा परिन् । लालसरीका दुई छोरी र एक छोरा छन् । तुल्सीका एक छोरा छन् । तीनैजना जेल चलान भएपछि नाबालकको विचल्ली भएको छ ।
एकै परिवारका तीन बुहारी तीन बर्षदेखि भारतीय जेलमा बस्नुको मुख्य कारण ससूराको आर्थिक प्रलोभनमा फस्नु हो । उनीहरु जेलमा सडेका छन्, बच्चाहरु आमाविहिन भएर बिचल्लीमा छन् । आर्थिक प्रलोभनमा देखाई चरेश बोक्न लगाउने ससूरा मुनबहादुर भने गाउँमा आनन्दसँग डुलिरहेका छन् । जेलमा परेका तीन बुहारी र ससुरा मुनबहादुर एकै सन्तानका भए पनि भाईभाई परिवारभित्रका हुन् ।
आमाहरु नहुँदा घर, खेत, सम्पत्ति सबैको बेहाल रहेको उनले जानकारी दिइन् । ‘बुवाहरु पत्निलाई छुटाउन, बुझ्न र भेट्न बहराईचतिर जाने आउने गर्छन्, साना बच्चाहरुको खानपिन, बस्ने, सुत्ने, पढ्ने हामी छिमेकीले बेला बेला हेरिदिएका छौँ,’ उनले भनिन् । चरेशका कारोवारी मुनबहादुरलाई कारवाही हुनुपर्ने भन्दै प्रहरीमा निवेदन दिएपनि प्रहरीले सहयोग नगरेको आरोप परिवार लगाउँछन् ।
बहराईच जेलबाट तीन जनालाई छुटाउन भारतीय वकिलले ८ लाख नेपाली जम्मा गर्न सूचना दिएको देवीसराका पति दलबहादुर बस्नेतले बताए । खेतबेचेर आधा ४ लाख रकम जम्मा गरे पनि बाँकी ४ लाख रुपैँया जुटाउन समस्या भैइरहेको उनले भने । पारिवारिक श्रोतका अनुसार जेलमा रहेका तीन जनालाई छुटाउन देवीसराको परिवारले चार लाख रुपैँयामा चार कठ्ठा जग्गा बिक्री गरेको छ । यस्तै लालसरा र तुल्सीका परिवारले २–२ कठ्ठा जग्गा बिक्री गरेका छन् । ८ कठ्ठा जग्गा बिक्री गरी उनीहरुले रकम जम्मा गरिरहेका छन् ।
‘सूरु सूरुमा ससुरा मुनबहादुरले जेलबाट छुटाउन चाहिने तीन भागको दुई भाग रकम आफूँ बेहोर्ने बताए, प्रहरीमा हामीले उजूरी गरेपछि अहिले दिन मानेन,’ कलमबहादुरले बताए । उसकै कारण बुहारीहरु जेल चलान भएको र अहिले उसले रकम दिन नमान्दा खेत बिक्री गर्नुपरेको उनले बताए । मुनबहादुरले बर्दियाको एक चरेश व्यापारीसँगको कुराकानीका आधारमा बुहारीलाई चार किलो चरेश रुपैडिहासम्म लग्न मनाएको र जेलबाट छुटाउन एक लाख ३० हजार रुपैँया परिवारलाई दिएको बताए ।
‘सूरुमै हामीले भने अनुसार परिवार लागेको भए ८ लाख खर्च हुने थिएन्,’ उनले भने, ‘उनीहरुको जिद्दी र आपसी झगडाले छुट्न ढिला भयो ।’ चरेशको मुख्य कारोवारी बर्दियाको व्यापारी भने अहिले फरार रहेको उनले बताए । तीनजना बुहारी जेलबाट छुटेपछि लागेको खर्च बसेर मिलाउने उनले बताए । २०६९ को दशैँ सकिए लगत्तै नेपालगन्जबाट रिक्सामा रुपैडिहातर्फ जान लागेको अवस्थामा ३८ बर्षिया तुलसी, २९ बर्षिया देवीसरा र ३३ बर्षिया लालसरा चरेशसहित पक्राउ परेका थिए ।
प्रतिक्रिया