काठमाडौं, १० भाद्र । अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट क्षतविक्षत सिंगो पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै देशको आर्थिक विकासलाई युद्धस्तरमा अघि बढाउने बताउनुभएको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट–नेपाल)ले भुकम्पपछिको लाङटाङ क्षेत्रको अवस्थालाई समेटेर तयार पारेको ‘घर फर्किरहेका मान्छे’ नामक बृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै विहिबार उहाँले यस्तो बताउनुभएको हो ।
भूकम्पले देशको हरेक क्षेत्रमा गम्भिर असर पारेको उल्लेख गर्दै अर्थमन्त्री महतले तर जस्तोसुकै अवस्थामा पनि नेपालीहरुको मनोबल नगिरेको बताउनुभयो । उहाँले भूकम्पपछि विभिन्न चुनौतिहरुको बीचमा अन्तर्राष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको र जसबाट नेपालको आर्थिक गतिविधि सुचारु गर्न मद्दत मिलेको पनि बताउनुभयो ।
नेपाल पर्यटन बोर्डमा खचाखच उपस्थितिबीच प्रदर्शन गरिएको बृत्तचित्र पुरै हेर्नुभएका डा. महतले लाङटाङ क्षेत्रको जनजिवन सामान्यतर्फ फर्काएर त्यस क्षेत्रको पर्यटन पुनरुत्थान गर्न सरकार गम्भिर रुपमा लाग्ने उद्घोष गर्नुभयो । नीट नेपालले जोखिम मोलेर साहाशिक काम गरेकोमा बधाई तथा धन्यवाद दिदै उहाँले भन्नुभयो–‘तपाईहरुले बृत्तचित्रमा लाङटाङको वास्ताविकताको उजागरमात्रै गर्नुभएको छैन, यसको माध्यमबाट योजनाका रेखा पनि कोर्नुभएको छ ।’
यसलाई सरकारको सम्बन्धित पक्षसम्म ल्याउन आग्रहसमेत उहाँले गर्नुभयो । ‘यो चिज सरकारको सम्बन्धित निकायसम्म पुगोस्’ उहाँले थप्नुभयो–‘ त्यसको कार्यन्वयनका निम्ति सरकारले तत्काल रकम छुटाउने छ ।’ देशको विकास गर्न सबै नेपालीहरु उकजुट हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा नीट–नेपालका अध्यक्ष दीपक महतले लाङटाङ क्षेत्र पूरै क्षति पुगेको नभएकोले क्षतिग्रस्त स्थानहरुको पुननिर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले लाङटाङ क्षेत्र अहिले मानवविहिन रहेको भनी गरिएको प्रचार गलत भएको भन्दै यहाँको वास्ताविकतालाई ध्यानमा राख्दै सरकारले योजना निर्माण गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा सभासद् जनार्जन ढकालले बोल्दै लाङटाङ क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनको लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र त्यसमा सरकारको साथसहयोग रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सभासद्, स्थानीय राजनीतिक दलका नेताहरु, विभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, पत्रकार एवं स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
विनाशकारी भूकम्प र हिमपहिरोपछि नेपालको तेस्रो पर्वतीय गन्तव्य लाङटाङ क्षेत्रमा पैदल गएको नीट नेपालको टोली पहिलो र सबभन्दा ठूलो मानब समुह हो । रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको नेतृत्वमा स्थानीय ११ जनासहित गएको नीट–नेपालको टोलीले देखेभोगेको अनुभव र झण्डै ४ हजार मिटर उचाईमा रहेको अन्तिम गाउँ क्यान्जिङ गुम्बासम्म वास्ताविकतालाई समेटेर उक्त बृत्तचित्र तयार पारिएको हो ।
अशोक सिलवालद्धारा निर्देशित उक्त बृत्तचित्र आधा घण्टाको रहेको छ । बृत्तचित्रमा लाङटाङ क्षेत्रको पाखापखेरा, गाउँ बस्ती, बाटोघाटो तथा त्यहाँको स्थानीय जीवनयापतको विषयवस्तुहरु समेटिएको छ ।
प्रतिक्रिया