खुल्दैनन् बलात्कारका घटना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार १३:४२

काशी पोख्रेल

बाँके १० भाद्र  । बाँके चिसापानीकी ४ बर्षीया नाबालीकालाई गत पौषमा ७८ बर्षीय बृद्घ पुरुषले आमा जंगलमा घाँस काट्न गएको बेला मौका छोपी बलात्कार गरे । घरमा कोही नभएको अवस्थामा मौका छोपी हजुरबुबा समानका ती दलित थरका बृद्घले बालिकालाई चकेलट दिई ललाईफकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए । ती नाबालिकाले आफूमाथि के गरिँदैछ भन्ने कुराको पनि भेउ पाएकी थिइनन् । घरपरिवारले ती बालिकाले राती घरमा सुतेको अवस्थामा डराउने, नाई–नाई, दुख्यो भन्ने शब्द निकाल्ने जस्ता गतिविधि र फरक व्यवहारले गर्दा परिवारले निगरानी गर्दै गए ।
त्यसपछि बलात्कार भएको अनुमान गरी मेडिकल चेकजाँच गराउँदा बलात्कार गरेको प्रमाणित भएपछि ति बृद्घलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा बालिकाका अभिभावकले उजुरी दिए । इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरी सोधपुछ गर्ने क्रममा ति बृद्धले गर्न खोजेको तर नगरेको बयान दिएका थिए । पीडित बालिकाका घरपरिवारलाई ८ लाख रुपैयाँ दिन्छौ भनेर मुद्दा फिर्ता लिन दबाव दिइएको थियो । जिल्ला अदालतमा पुगेर प्रमाणित भएन भनेर मुद्दा फिर्ता पनि भयो तर पनि पुनः पुनरावेदन अदालतमा मुद्दा दायरपछि ती आरोपित बृद्धले ६ बर्षको जेल सजाय भोगिरहेका छन् ।
त्यस्तै गत साल रुकुमबाट नेपालगन्ज मामाघर आएकी किशोरी नेपालगन्ज बसपार्कमा ४÷५ जना युवाद्वारा बिहानको ४ बजे बलात्कारको शिकार भइन् । रुकुमबाट आएकै गाडीका सहचालकसहित अन्य युवाको समूहले ती किशोरीलाई रातीको मौका छोपी एक्लै रहेको अवस्थामा बलात्कार गरेका थिए । गाडीमा बसेको अवस्थामा जिस्कन आउने, छुन खोज्ने ति युवाले बसमा मान्छे भएको अवस्थामा भने हिम्मत गरेका थिएनन् तर सबै यात्रु ओर्लिसकेपछि किशोरी लिन आउने आफन्त पर्खिरहेको अवस्थामा मौका छोपेर बलात्कार गरेका थिए । लगभग तीन महिनाको अवधिमा फरार अभियुक्तलाई तीन महिनापछि पक्राउ गरियो । अहिले ति किशोरी सेल्टरमा रहेकी छिन् भने बलात्कारी जेलमा रहेका छन् ।
त्यस्तै ०७१ चैतमा कोहलपुर चप्परगौडीमा २१ बर्षीय अमर बहादुर शाहीले घरमा सुतिरहेको अवस्थामा घरको ढोका फोडी ३० बर्षीया महिलालाई लछार पछार गरेर नजिकैको विद्यालयको चौरमा लगेर बलात्कार गरेका थिए । एक छोराकी आमा रहेकी ती महिलाका श्रीमान् भारतमा मजदुरी गर्न गएका थिए । घरमा सुतिरहेको बेला घरमै आई ती युवकले बलात्कार गरे तर समाजले के भन्ला ? घर परिवार र श्रीमानबाट अपहेलित हुने डरले आफू बलात्कृत भएको कुरा ती महिलाले कसैलाई भन्न सकिनन् । तर, आफूलाई असह्य भएपछि ति महिलाले आफ्नी देउरानीलाई भनिन् । देउरानीले यस्तो कुरा त प्रहरीलाई उजुरी गर्नुपर्छ, यसले अन्य महिलाई पनि यस्तो गर्न सक्छ भनेपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा पीडित महिलाले जाहेरी दिइन् । जाहेरी परेको केही दिनपछि ति युवक पक्राउ परेका परे । बलात्कार गरेको प्रमाणित भएपछि अदालतको आदेशमा ती युवक हाल कारागारमा दिन बिताइरहेका छन् ।
त्यस्तै गत साउन २० गते कोहलपुर चप्परगौडीमा ६० बर्षीया तुलबहादुर शाहीले ७ बर्षिया बालिकालाई बलात्कार गरेका थिए । आफ्नै ठूलो बुवा पर्नेले छोरीबाट २० रुपैयाँ सापट लिएका थिए । २० रुपैयाँ असुल गर्ने बहानामा पटक पटक घरमा बोलाउने र खोलाको छेउमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । उनले घरका सदस्यलाई नभनी विद्यालयमा साथीलाई बताएकी रहिछन् । साथीहरुबाट त्यो कुरा बाहिर आएको थियो । बलात्कार भएको घटना सार्वजनिक भएपछि बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए । उजुरी पश्चात युवक फरार भएका थिए । फरार भएको एक हप्तापछि युवकलाई बर्दियाबाट प्रहरीले प्रक्राउ गरेको थियो । पक्राउपछि जबरजस्ती करणीको मुद्धा चलाएर जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको छ ।
माथिका यी घटनालाइ हेर्दा अबोध बालिकाहरु बढि यौनजन्य हिंसा र बलात्कारको शिकार भएका छन् । जसलाई बलात्कार भनेको के हो र आफूमाथि के भइरहेको छ भन्ने पनि थाहा हँुदैन । बलात्कृत हुनेमा महिलाको कुनै उमेर समूह छैन । यहाँ ४ बर्षीया बालिका पनि बलात्कृत हुन सक्छिन् त ३० बर्षीया महिला । जुन माथिका घट्नाले पुष्टी गरेको छ । चाहे बलात्कार गरेको थाहा नपाएको बालिका होस् चाहे समाज र घरपरिवारबाट अपहेलना हुने डरले आफू बलात्कृत भएको घट्नालाई बाहिर नल्याएका नै किन नहोस् । आखिर बलात्कारको शिकारमा महिलाले मानसिक, शारिरीक र सामाजिक कष्ट भोग्नुपर्छ । पुरुषको एकक्षणको उत्तेजना र इच्छाले गर्दा धेरैको जिन्दगी अन्धकार बनेको छ । कुनै महिलाको इच्छा विपरित यौनसम्पर्क गर्नु नै बलात्कार हो । डर, धम्की दिएर होस् चाहे लोभ चालच देखाएर किन नहोस् अथवा कुनै महिलाको अनुमती विना छुनु र हेर्नु पनि बलात्कार हो ।
सामान्यतया विवाहपछि महिलाको इच्छा नभए पनि बैबाहिक सम्बन्धको आधारमा चाहे माया देखाएर होस् चाहे जर्बरजस्ती नै किन नहोस् कानुनी मान्यता थियो । तरु अहिले विबाह भएको छ भने पनि इच्छा नहुँदा नहुँदै श्रीमानले जवरजस्ती गर्छ भने त्यो पनि बलात्कार हुन्छ । नेपालको कानुनले विहे गर्नका लागि केटालाई २० बर्ष र केटीलाई १८ बर्ष तोकेको छ । मुलुकी ऐनमा जबरजस्ती करणीका हकमा १० बर्षमुनिकी बालिका करणी गरेमा १० देखि १५ बर्ष सजाय, १० देखि १४ बर्षमुनिका किशोरीमा ८ दखि १२ बर्ष जेल सजाय, १४ देखि १६ बर्षमुनिको करणीमा ५ देखि ८ बर्ष जेल सजाय, १६ देखि १८ बर्षका युवती करणीमा ५ लेखी ८ बर्ष र २० देखि माथिका महिला बलात्कृत भएमा ५ देखि ७ बर्ष कैद सजाय हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१