काठमाडौँ ,९ भाद्र । विध्वंशकारी भूकम्प—२०७२ मा परी ज्यान गुमाएका पर्यटक र १० औँ हजार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सम्झनामा जाईजात्राको अवसर पारेर निजी क्षेत्रले भब्य कार्यक्रम गर्ने भएको छ । भूकम्पमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशीहरुको सम्झनामा सामुहिक रुपमा निजी क्षेत्रले गर्न लागिएको यो पहिलो कार्यक्रम हो । जुन नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न हुनेछ ।
पछिल्लो समय पर्यटनमा सर्वाधिक रुचाइएको लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसको आयोजनामा सम्पन्न हुने सो कार्यक्रममा पर्यटनसँग आवद्ध करिब पाँच दर्जनभन्दा बढी संघसस्थाहरु सामेल हुनेछन् । त्यस्तै, सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु साथमा पर्यटनसम्बद्ध उल्लेख्य कम्पनी, तामाङ, गुरुङ, नेवार, राई लिम्बु, शेर्पा जातिको आ—आफ्नो सँस्कृति र राष्ट्रिय कलाकारहरुबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुको उल्लेख्य उपस्थिती हुने भएको छ ।
राजधानीको पर्यटकीय स्थल ठमेलको सञ्चय कोष चोकमा जम्मा भई सहभागि सम्पूर्ण दरवारमार्ग हुँदै नेपाल पर्यटन बोर्डको हलमा पुग्नेछन् । जहाँबाट कार्यक्रमले औपचारिकता पाउनेछ । मृतकहरुको सम्झनामा गरिने विविध कार्यक्रमहरु पनि सोही ठाउँमा गरिनेछ ।
मृत्यु हुनेहरुको सम्झनामा उनीहरुलाई हाँसेर विर्सने विशेषतः नेवार जातिको प्रसिद्ध पर्व गाईजात्राको दिन सो कार्यक्रम गर्न लागिएको हो । भूकम्पमा परी ज्यान गुमाएका सयौँ पर्यटकहरुको सम्झनामा सरकारी तथा निजी क्षेत्रबाट केही कार्यक्रमको आयोजना नहुँदा आत्माग्यानि भएको निष्कर्षमा पुगेको निजी क्षेत्रले सामुहिक रुपमा भब्य कार्यक्रम गर्न लागेको हो ।
भूकम्प पछिका सारा दुःख विर्से नयाँ जीवनको सुरुवात गर्न सवैलाई आह्वान गर्ने र सम्पूर्ण मृत पर्यटक तथा स्वदेशी नागरिकहरुको चिर— शान्तिको कामनास्वरु कार्यक्रम गर्न लागिएको हो । जसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।
विध्वंशकारी भूकम्प गएको करिब ४ महिना पुग्न नपाउँदै ज्यान गुमाएका स्वदेशी तथा विदेशीहरुलाई राज्य तथा निजी क्षेत्रबाट हेलचेक्र्याइँको रुपमा हेरिन थालिएको थियो । गैरजिम्मेवार सरकार र विकासे गुरुयोजनाको सन्दर्भमा बादलभित्र हराईरहेको कागजस्तै निजी क्षेत्रलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउन यो कार्यक्रम गर्न लागिएको हो । हिजोका दिनमा राष्ट्र समृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्ने पर्यटकहरुको अकल्पनिय निधनमा सरकारी र निजी क्षेत्र दुवै गैरजिम्मेवारी बनेको जनगुनासो नबढेको होइन । तर, जनगुनासोको सम्बोधन कतैबाट हुन नसक्दा नेपाली पर्यटन उद्योग र सरकारी पक्षमाथि प्रश्न उठेको थियो । अहिले सम्पूर्ण निजी क्षेत्रको उल्लेख्य सहभागिमा सम्पन्न हुन लागेको कार्यक्रमका निम्ति निजी क्षेत्र जागरुक बनेको छ ।
कार्यक्रमको विषयमा बरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडा अत्यन्त समयसापेक्ष र सरकारी तथा निजी क्षेत्र दुवैको कर्तव्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो कार्यक्रम सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा हुनुपथ्र्यो । तर, पत्रिकाले गर्न लागेको छ, गौरव र स्वाभिमानका साथ सहभागि हुनु हामी सवैको उत्तरदायित्व हो । म सवैलाई आह्वान पनि यही गर्छु’ त्यस्तै, ग्रामीण पर्यटन विकास महासंघका अध्यक्ष पदम बहादुर केही पनि कार्यक्रम अत्यन्त सान्दर्भिक भएको दावि गर्नुहुन्छ । उहाँका अनुसार यस्तो कार्यक्रमबाट बञ्चित हुने पर्यटन संघसस्था सवै अवसरबाट बञ्चित हुनेछन् । हिमालयन उद्धार संघका अध्यक्ष डिबी कोइरालाइ पनि कार्यक्रम अत्यन्त राम्रो रहेकाले सवैले सहयोग र साथ दिनुपर्ने बताउनुहुन्छ । नेपाल टुरिष्ठ भेइकल एसोसिएसनका महासचिव बुद्धि बुर्लाकोटी पनि कार्यक्रम अति राम्रो रहेकाले दिल खोलेर सहयोग र समर्थन गर्नुपर्ने बताउनुहुन्छ ।
’पर्यटन गाईजात्रा’ को अभियानअन्तर्गत गर्न लागिएको कार्यक्रम अबका हरेक वर्षमा पर्यटन प्रडक्टको रुपमा सञ्चालन गरिने भएको छ ।
यस्तो छ कार्यक्रम तालिका
विहान ठीक ११ः०० बजे आधा दर्जनभन्दा बढी जातजातिका आ—आफ्ना कला, सँस्कृति र पहिचानसहित पर्यटनका पाँच दर्जन संघसस्था, सयौँ पर्यटक, उल्लेख्य पर्यटक कम्पनीहरु आफ्नो संस्था वा कम्पनीको स्पष्ट व्यानरसहित ठमेलको सञ्चय कोषमा जम्मा हुने
११ः१०—११ः५० बजेसम्म ठमेलमा जम्मा भएको समूह मानवसाङ्लोको रुपमा दरवारमार्गहुँदै नेपाल पर्यटन बोर्डमा सहभागि हुने
११ः५०—१२ः५० सम्म कार्यक्रमको बारेमा ब्रिफिङ, संस्थागत सम्बोधन, मृतक पर्यटकहरुको सम्झनामा दिप जलन र मौनधारण जस्ता कार्यक्रमहरु सञ्चालन
दिउँसो १ः००—४ः०० बजेसम्म विभिन्न चर्चित कलाकारहरुद्धारा रोचक हाँस्यब्यङ्य प्रस्तुती
४ः१५ बजे समापन
प्रतिक्रिया