चार दशकका पाँच नायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार १४:१५

create_thumb.phpकलिउडकी प्रथम नायिका भुवन चन्ददेखि तृप्ति नाडकरसम्मका अभिनेत्रीसँग काम गरेका प्रकाश सायमीलाई जल शाह, झरना बज्राचार्य, श्रीषा कार्की, विपना थापालगायतलाई चलचित्र दुनियाँमा ल्याएको जस जान्छ । साहित्यकार, चलचित्र निर्देशक, समीक्षक प्रकाश सायमीको नजरमा चार दशकका पाँच नायिका

करिश्मा मानन्धर : सौन्दर्यमा अब्बल संवादमा कमजोर
पर्दामा आउनुअघि नै चर्चा कमाएकी थिइन्, करिश्मा मानन्धरले । चलचित्र ‘सन्तान’को मुहूर्तमा उनको यति धेरै चर्चा भयो कि बलिउड अभिनेत्री परविन बाबीसँग तुलना भयो । निर्देशक प्रकाश थापाले चलचित्र संस्थानबाहिरका लागि बनाउन लागेको पहिलो फिल्म ‘सन्तान’को मुहूर्तमा खिचिएका उनका तस्बिर ‘कामना’ र ‘कलाकार आवाज’मा छापिए । त्यसपछि चर्चामा आएकी उनको तुलना बलिउड अभिनेत्रीसँग हुन थाल्यो ।

अभिनेता प्रकाश अधिकारीका कारण ‘सन्तान’मा आएकी थिइन् करिश्मा, दुर्घटनावश । ‘स्क्रिन टेस्ट’ दिन करिश्माले पठाएका फोटा हेरेपछि अधिकारीले निर्देशक थापालाई पनि देखाएका थिए । अधिकारीमार्फत करिश्मा प्रकाश थापाको आँखामा परिन् । फोटो हेरेपछि थापाले भनेका थिए, ‘यिनलाई बोलाऊ त, फिल्ममा खेलाउनुपर्लाजस्तो छ ।’

‘सन्तान’मा करिश्माले भुवनकी प्रेमिका कान्ता भएर अभिनय गरिन् । फिल्ममा करिश्मालाई ‘कान्ता, यू ब्लडी विच्’ भन्ने गाली छ । संयोग, छायांकन सकिएपछि निर्देशक प्रकाश थापाले पनि यही वाक्य प्रयोग गर्नुपर्ने अवस्था झन्डै आयो । सिनेमा प्रदर्शनपछि दुवैको बोलचाल नै बन्द भयो । अभिनयको सामान्य ज्ञानसम्म नभएकी करिश्माबाट प्रकाश थापाले जति निकाले, त्यो एउटा परीक्षा थियो । तर, क्यामेराम्यानको दृष्टिमा उनी सदैव उत्कृष्ट रहिन्, सौन्दर्यमा ।

सन्तानपछि करिश्मालाई ‘मायालु’, ‘पिरती’, ‘निष्ठुरी’जस्ता फिल्मको ‘अफर’ आए । तर, उनले मायालु मात्र रोजिन् । मायालुमा मात्र नायिका भएर खेलिन् ।

 

काठमाडौंको सम्भ्रान्त वर्गको महिलाको छनक करिश्मामा प्रशस्त देखिन्थ्यो । त्यही प्रसंगमा उनलाई हामीले ‘पिरती’ चलचित्रका निम्ति सह–नायिकाका रूपमा छानेका थियौँ । तर, कारणवश: उनले पिरती खेल्न पाइनन् । करिश्माको ‘डायलग डेलिभरी’मा केही कमजोरी छ । तैपनि, जसरी उनी प्राविधिक पक्षबारे जानकार छिन् र शारीरिक सुगठनमा विशेष ख्याल दिन्छिन् । उनको यो विशेषता अन्य नायिकाले सिक्नैपर्छ ।आफूलाई मेन्टेन गर्ने एक कुशल नायिकाका रूपमा म उनलाई सम्झन्छु । विशेषत: उनको स्वास्थ्य र सौन्दर्यको हेरचाहमा । पत्रकार भूषण दाहालले एकपटक भनेका थिए, ‘बिहेपछि महिलाहरू छिटो बूढी देखिन्छन्, तर करिश्मालाई त मान्नुपर्छ, मेन्टेन गरेकै हो ।’
करिश्मा ३० वर्ष लामो करिअरमा धेरैपटक धेरै प्रकरणमा आइरहिन् । विवादले उनलाई पछ्याइरह्यो अनेक सन्दर्भमा । ‘सपना’ र ‘हतियार’जस्ता फिल्ममा तिनीसित मेरो सहकार्य भए पनि मेरो पहिलो फिल्म ‘पृथ्वी’मा उनले नायिकाका रूपमा पाइसकेको भूमिका भने अन्तिम अवस्थामा त्याग्नुपर्‍यो, त्यसको केही वर्षसम्म करिश्मा र राजेश हमाल एउटै फिल्ममा नदेखिनुको कारण पनि यही बन्यो ।
रेखा थापा र केकी अधिकारी : एउटी स्टन्टमा, अर्की अभिनयमा अब्बल
जल र झरनाले स्पर्श गरेको युगमै काँठ कदका धेरै नायिकामध्ये रेखा थापा पनि आइन् । रेखामा धेरै हदसम्म जल र कृष्टि केसीको मिसावट पाइन्छ । रेखालाई कम प्रतिभा, धेरै उदारताका कारण यो सफलता मिलेको हो भन्दा एक शुभचिन्तकका रूपले अन्याय ठहरिँदैन ।
देशको राजनीति जे छ, जस्तो छ, नेता त्यस्तै बोल्छन् र चल्छन् । त्यही शैलीमा रेखाले बोल्ने कुरा, दिने अन्तरविचार बजारका खुराक बने र उनी चलिन् । उनको व्यक्तिगत जीवनले सिनेमालाई केही फरक पारेन, उनको प्रतिभा देखिने कुनै चलचित्र देखिएनन् ।
रेखाको ‘डाउनफल’ जल शाहको जस्तो नभए पनि उनले गर्ने अभिनय र चरित्रमा अब सुधारको खाँचो छ । रेखाकै समयमा आएका धेरै प्रतिभामध्ये केकी अधिकारी सबैभन्दा प्रतिभाशाली मानिन्छिन्, तर उनी फिल्म अभिनयमा ‘अन्डररेटेड’ नै मानिएकी छिन् । फिल्मी सांस्कृतिक परिवारमा हुर्किएकी केकी प्रसिद्ध फिल्मकर्मी बद्री अधिकारीकी छोरी हुन् । बद्रीले नेपाली रंगमञ्चमा धेरैलाई सुशिक्षित गरेका छन्, त्यो चाहे सरोज खनाल होस् वा सुनील पोखरेल, सूर्यमाला होस् वा निशा शर्मा ।

अभिनयको पहिलो पाठ केकीले आफ्ना पिता बद्रीसितै सिकिन् । कुशल रंगकर्मी एवं लेखक बद्रीको छात्रछायामा हुर्केकी केकीले नेपाली सिनेमालाई धेरै थोक दिन सक्छिन्, तर उनका निम्ति कुनै ‘ट्रेलरमेड’ रोल लेखिएको छैन, गौरी मल्ललाई जस्तै । म्युजिक भिडियोमा झरना बज्राचार्यले ठाउँ बनाएजस्तै, अभिनयमा गौरीले जस्तै मौलिकता हासिल गर्दै केकीले स्वरबाट आफ्नो क्यारिअर सुरु गरिन् । उनी अभिनीत नीर शाहको ‘मसान’ एउटा यादगार फिल्म बन्न पुग्यो ।

सुरज सुब्बा नाल्बोको ‘बितेको कुरा’मा उनको अभिनयको शैली फरक त देखियो, तर नायिकामा देखिने ग्ल्यामरस शून्यप्राय: रह्यो । केकीको सबैभन्दा सुन्दर पक्ष अभिनयमा सहजता, चेहरामा निर्दोषपन अनि कथोपकथनमा सरलता नै प्रमुख हो । तर, उनको अभिनयको शैली पूर्ववर्ती नायिकासित मिल्नु संयोग मात्र होइन, कहिलेकाहीँ घातक पनि हुन सक्छ ।

गौरी मल्ल : निर्देशक बन्ने सम्भावना बोकेकी नायिका
करिश्मासँगै ‘सन्तान’मा लन्च भएकी गौरी मल्ल नेपाली सिनेजगत्की एक सुबल, सक्षम र प्रतिभाशाली अभिनेत्री हुन्, जोसँग अभिनय गर्न राम्रा–राम्रा कलाकार पनि नर्भस हुने गर्छन् ।

भनिन्छ, अभिनय अनुक्रिया मात्र होइन, प्रतिक्रिया पनि हो । प्रतिक्रियामा गौरी मल्लका अगाडि उभिँदा प्रशस्त अभिनयका वाग्धारा निस्किन्छन् । सन्तानमा पाएको ख्याति र सफलताले उनलाई तुरुन्तै पिरती, कन्यादान, स्वर्गजस्ता चलचित्र त दिलाए, तर उनले अभिनय गर्नेजस्ता चलचित्र यहाँ बन्न सकेका थिएनन् । गौरीको अभिनय प्रतिभालाई हेरेर नीर शाहले बनाएको वसन्ती र छिरिङ रितारको मुखुन्डो केही अब्बल मान्न सकिन्छ । हिन्दी फिल्म इस्कियामा भने उनको दुरुपयोग नै भएको छ ।

विभिन्न विधाको प्रतिभा भएकी गौरीसित कविता लेखन, उद्घोषण, शिक्षणका अनुभव पनि छन् । तर, उनी मुडका मामलामा पनि निकै विख्यात मानिन्छिन् ।
अभिनयमा भारतका धेरै नायिकासित तुलना गर्न सकिने गौरी मल्लले नृत्यमा पनि अचानक विकास गरेको पाइन्छ । उनले नयाँ नायक अर्जुन श्रेष्ठ, सरोज खनाल वा सीमान्त उदाससित गरेको अभिनय र आफूभन्दा अग्रज हरिहर शर्मा, अर्जुनजंग शाही, शिव श्रेष्ठसित गरेका अभिनयमा समानता देखिन्छ । तर, फरक के छ भने दुवै पाराको अभिनयमा उनी कि दब्बल देखिन्छिन्, कि अब्बल ।

अभिनयमा गौरीको सेन्स अफ् ह्युमर र टाइमिङलाई धेरै निर्देशकले क्यास गर्न सकेका छैनन् । एक निर्देशकका हैसियतमा मैले भन्नैपर्छ, उनले मसित ‘अवतार’ र ‘जमिन’मा गहन भूमिकामा अभिनय गरेकी छिन् । ‘जमिन’मा उनले हलो जोतेको अभिनय समाचार शीर्षक बनेको थियो । गौरी जुनसुकै भूमिकाका निम्ति पनि धेरै होमवर्क गर्ने नायिकाका रूपमा चिनिन्छिन् ।

गौरीलाई चलचित्र निर्देशनको पनि प्रशस्त ज्ञान छ । नेपाली चलचित्रमा उनी एक सफल निर्देशकका रूपमा अवतरण हुन सक्ने प्रतिभा हुन् । गौरीले आफ्ना अग्रज मिथिला शर्मा, शकुन्तला शर्मा, लक्ष्मी श्रेष्ठको प्रतिभालाई मिश्रण गरेकी छिन् भने आफ्ना समकालीन नवीना श्रेष्ठ, करिश्मा मानन्धर, शर्मिला मल्लको प्रतिनिधित्व पनि सदैव गरेकी छिन् ।
झरना बज्राचार्य : ‘रिल’ र ‘रियल’मा उस्तै
जल र करिश्मापछि सुन्दरतामा अग्रपंक्तिमा देखिएकी नायिका हुन्, झरना बज्राचार्य ‘रसिद’ । उनी चलचित्रमा आउँदा दुई कुराको भव्य संकेत मिलेको थियो, शिक्षित घरानाको आगमन र परिवर्तित समाजको प्रतिबिम्ब । शिक्षिका ललना बज्राचार्यकी छोरी झरना मुस्लिम परिवारबाट प्रतिनिधित्व गर्थिन् । अझै रमाइलो कुुरा उनी ‘मिस वल्र्ड नेपाल’मा नेपाल सुन्दरी घोषणा भइसकेपछि सीधै चलचित्रमा आएकी थिइन्, ‘हतियार’मार्फत ।
पहिलो चलचित्रमै नायिका करिश्माकी समतुल्य थिइन्, झरना । नेपाली चलचित्रलाई हेयको दृष्टिले हेर्ने मोडल र सुन्दरीको जमातबाट उनी पहिलोपटक सिनेमामा आएकी थिइन् । ‘हतियार’मा लोकेन कार्की र सीमान्त उदास उनका नायक भए पनि पछि नेपाली चलचित्रका सबै उत्कृष्ट नायकसँग दमदार जोडी बनिन्, राजेश हमाल हुन् या श्रीकृष्ण श्रेष्ठ । बहुपठित झरना नेपाली चलचित्रका निम्ति अनफिट नायिका मानिएपछि उनले बलिउडमा प्रवेश गरिन् ।

बलिउडमा उनले रजत मुखर्जीको ‘लभ इन नेपाल’ नामक सिनेमामा खेलेर तहल्का मच्चाइन् । बलिउडमा मनीषापछि चर्चामा आउने नेपाली नायिका झरना नै भए पनि उनको अनप्रोफेसनालिज्म व्यवहार र मुडीपनाले त्यहाँ पुन: दोहोरिन सकिनन् । बलिउडमा संघर्ष गर्न जाने कलिउड नायिकामा उनी तेस्री थिइन् ।

झरनाको अभिनयमा प्रतिभा, प्रभाव, शैली र अनुभूति भए पनि उनको चेहरामा देखिने अमहिलापनले कहिलेकाहीँ नायिकाभन्दा खलनायिकाजस्तो देखिन्थिन् । नृत्यमा कमजोर भएकै कारण उनी पछि सिनेमाभन्दा मोडलिङमा सर्वोत्कृष्ट कहलिइन् । तर, उनले मोडलिङबाट सिनेमामा आउन चाहनेलाई करिश्माले जस्तै एउटा बाटो दिइन् ।

झरनाले चलचित्रमा रहुन्जेल एक नायिकाका रूपमा हरेक किसिमको जीवन बाँचिन्, ग्ल्यामर लाइफदेखि मानुषीको चरित्रसम्म । वास्तविक जीवनमा पनि ती सारा कुरा गरिन्, जुन एक नायिकाले पर्दामा गर्छिन् । उनको ‘रियल’ लाइफ र ‘रिल’ लाइफमा कहिलेकाहीँ मिश्रण देखिन्थ्यो ।

चुरोट, रक्सी, रात्रिजीवनबाट विरक्त भएर पछि उनी विपश्यनासम्म पुगिन् । तर, नेपाली चलचित्रमा आउने धेरै नयाँ पुस्ताका नायिकाले पुरानी अभिनेत्री झरनालाई कहिल्यै बिर्सन सक्नेछैनन् ।
जल शाह : राजेशकी सफल जोडी
नेपाली चलचित्रमा जल शाह आउँदा व्यावसायिक धारमा केही नयाँ काम भइरहेका थिए । शिव श्रेष्ठ, भुवन केसीको युग केही सेलाएर राजेश हमालको सौर्य युग भर्खर सुरु भएको थियो, जल भित्रिँदा । विक्रमाब्द ०५३ को वैशाख १ गतेका दिन उनले नायिकाका रूपमा पहिलो फिल्म अवतारमा राजेश हमालसित मुहूर्त सटमा अभिनय गर्दा धेरै नयाँ–पुराना नायिकाको याद दिलाइन् ।

सुन्दर अनुहार, स्पष्ट बोली, भावप्रवणशील आँखा र साहित्यिक वातावरणबाट आएका कारण जललाई नेपाली सिनेजगत्ले छिट्टै काख–काखमा लियो । ‘अवतार’को सफलतापछि उनले धेरै फिल्ममा राजेशसित सफल जोडीका रूपमा काम गरिन् ।

सुप्रसिद्ध कथाकार प्रेमा शाहकी छोरी जल विनाबाबु हुर्केकी थिइन् । उनका निम्ति सामाजिक चुनौती र अड्चन एकातिर थियो भने फिल्मी मैदानमा प्रतिस्पर्धा पनि त्यस्तै । जलका समकालीन विपना थापा, मेलिना मानन्धर, निरुता सिंहले राजेश हमालसित फिल्म खेल्न नपाएका वेला उनी राजेशको जोडी भएर चर्चित भएकी थिइन् ।
राजेश र जलको जोडीले कृष्टि केसीको अभावलाई पूरा गरिदिएको थियो । उनलाई धेरैले कृष्टि केसीकै भावभंगीमा भएकी नायिका पनि भन्न थाले ।

जलमा एउटा खुबी थियो, नयाँ–नयाँ कुरा सिक्ने । उनी अभिनय सिक्न मुम्बईस्थित किशोर नमित कपुरको इन्स्टिच्युट पनि गइन्, त्यहाँ करिब आधा वर्ष अभिनय सिकेर पनि आइन् । तर, त्यो कोर्स यहाँ काम लागेन । अन्तत: जल सिने उद्योग नै छाडेर अमेरिका लागिन् । तर, उनीबाटै प्रभावित भएर पछि रेखा थापा, नम्रता श्रेष्ठ, निशा अधिकारीजस्ता अभिनेत्री मैदानमा आए ।

रेखा थापा त अझै पनि जललाई आफ्नो आदर्श मान्दै आएकी छिन् । जल आउँदा करिश्माको एक युग चरम अवस्थामा थियो भने नयाँ युगका केही अभिनेत्री झरना बज्राचार्य, झरना थापा, सज्जा मैनाली, उषा पौडेल, नन्दिता केसी तयारीमा थिए ।

by naya page

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१