कैलाली ,८ भाद्र। सोमबारको घटनाबाट आक्रोशित भएका िटकापुरका पहाडी समुदायका स्थानीयले सभासद जनक चौधरीको घरमा आगजनी गरेका छन्।
कैलाली क्षेत्र नम्बर १ का सभासद् चौधरीको घरमा आन्दोलनकारीले लगाएको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। टीकापुरको ब्लक नम्बर ६ मा रहेको चौधरीको घरमा कर्फ्यूबीच पनि प्रदर्शन गर्दै आएको समूहले आगजनी गरेका हुन्।
यस्तै थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी गरेका छन्। यस्तै धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ ।
कर्फयू अवज्ञा गर्दै आक्रोशित भीडले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका हुन्।
यसैबीच आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
प्रतिक्रिया