काठमाडौँ ८ भाद्र । गत वर्षको तुलनामा मुद्दा छिन्ने दर पाँच गुणाले वृद्धि भएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीशको व्यवस्थित प्रयासले गर्दा यो उपलब्धि सम्भव भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले बताए । ‘गएको वर्ष साउन महिना र यो वर्षको साउन महिनाको मुद्दा फस्र्योटको दरमा आकास जमिनको फरक छ,’ सुवेदीले भने, ‘यो सबै प्रधानन्यायाधीशको सक्रियतामा भएको हो ।’
उनका अनुसार गत वर्ष साउनमा सर्वोच्चमा १३ न्यायाधीशले ३ सय ८८ मुद्दा छिनेका थिए । यो वर्ष साउनमा ११ न्यायाधीशले १७ सय १३ मुद्दा छिनेका छन् । यसरी हेर्दा अघिल्लो वर्ष प्रतिन्यायाधीश फस्र्योट संख्या ३० थियो भने यो वर्ष १ सय ५६ छ ।
‘दुई न्यायाधीश कम हुँदा पनि यतिको प्रगति हुनु ठूलो उपलब्धि हो,’ प्रवक्ता सुवेदीले भने, ‘यति मुद्दा यति कम न्यायाधीशले सर्वोच्चमा यसअघि कहिल्यै छिनेका थिएनन् ।’ उस्तै प्रकृतिका मुद्दा एउटै लगतमा राखेर एकै इजलास हेर्न थालिएकाले फस्र्योट छिटो भएको हो । यसबाहेक दोहोर्याई पाऊँ भनी परेका निवेदनको सुनुवाइ भोलिपल्टै गर्ने प्रणालीले पनि काम गरेको उनले बताए । श्रेष्ठले प्रधानन्यायाधीश हुनेबित्तिकै दोहोर्याई पाऊँको निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइमा राख्ने परिपाटी बसाएका थिए ।
जिल्ला र पुनरावेदनले एउटै फैसला गरेका साना प्रकृतिका र १० वर्षभन्दा कम सजाय भएका मुद्दामा सामान्यतस् पुनरावेदनकै फैसला अन्तिम मानिन्छ । फैसलामा गम्भीर त्रुटि भएको प्रथम दृष्टिमै देखियो भने मात्रै सर्वोच्चमा पुनरावेदन लाग्छ । तर, पुनरावेदनका लागि सीधै मुद्दा दर्ता गर्न भने पाइँदैन । त्यसका लागि दोहोर्याई पाऊँ भनी निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । यस्तो निवेदनमाथि सर्वोच्चले निस्सा दिने कि नदिने भन्नेबारे पहिले निर्णय गर्छ । निस्सा दिए मुद्दा सर्वोच्चमा दर्ता हुन्छ नदिए सधैंका लागि टुंगिन्छ । यसैलाई नै दोहोर्याई पाऊँको निवेदन भनिन्छ ।
यस्तो निवेदन परेको धेरै पछिसम्म पनि सर्वोच्चमा सुनुवाइका लागि पालो आउँदैनथ्यो । दुई तहको अदालतमा पहिल्यै वर्षौं समय बिताइसकेका सर्वसाधारण सर्वोच्चमा पनि वर्षांै झुल्लिन बाध्य हुन्थे । यो परिपाटीले अनावश्यक
रूपमा मुद्दा लम्बिएको र सेवाग्राहीले ढिलासुस्ती खेप्नुपरेको देखेपछि श्रेष्ठले निवेदन परेको भोलिपल्टै सुनुवाइको व्यवस्था मिलाएका हुन् । कान्तिपुर दैनिक बाट
प्रतिक्रिया