दिक्तेलमा सबै प्रकारका सञ्चार सेवा अवरुद्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार १०:१९

खोटाङ, ४ भदौ । खोटाङकको सदरमुकाम दिक्तेलमा चार दिनदेखि सबै प्रकारका सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमद्वारा वितरित ल्यान्डलाइन टेलिफोन, नमस्ते तथा स्काई मोबाइल मङ्गलबार साँझदेखि अवरुद्ध भएको हो । विद्युत्मा आएको गड्बडीका कारण दिक्तेलमा जडित रेडियो लिङ्क जलेपछि यस्तो समस्या आएको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताउनुभयो ।

“समस्या समाधानका लागि विराटनगरबाट प्राविधिक टोली आउने तयारीमा छन्”, साहले भन्नुभयो, “मौसमका कारण खानीडाँडामा फ्लाइट भएको छैन, प्राविधिक टोली आउनासाथ समस्या समाधान हुन्छ ।”

टेलिकमका अनुसार विद्युत्को गड्बडीका कारण दिक्तेलमा जडान गरिएको रेडियो कार्ड जलेर ध्वस्त भएका छन् । उक्त कार्ड जडान गर्न जिल्लाका प्राविधिकले नसक्ने भएपछि विराटनगरबाट टोली बोलाइएको साहले जानकारी दिनुभयो ।
सबै प्रकारका सञ्चार सेवा अवरुद्ध भएपछि सदरमुकाम आसपासका हजारौँ उपभोक्ता मारमा परेका छन् । विशेषगरी जिल्लाका सञ्चारकर्मीलाई ठूलो समस्या भएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईले बताउनुभयो । ल्यान्डलाइन फोन तथा मोबाइल अवरुद्ध भए पनि एडिएसएल सेवा भने सञ्चालनमा छ । विद्युत्को गड्बडीका कारण एनसेल मोबाइलसमेत अवरुद्ध हुँदै आएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१