कतारमा आगोलागीबाट करिब साढे चार सयको पासपोर्ट जल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०६:४१
कतार ।   कतारको साँहनियास्थित एक लेबर क्याम्पमा आगोलागी हुदाँ झन्डै साढे चारसय जना कामदारको राहदानी -पासपोर्ट), लत्ताकपडाका, नगद जलेर नष्ट भएको छ । कामदारहरु काम गर्न कार्यक्षेत्र (साइड) मा गएको हुनाले मानबिय क्षति हुन नसकेको पुष्टि भएको छ । स्थानीय ‘वाटर मास्टर टि्रन्टमेन्ट’ कम्पनीको लेबर क्याम्प बिद्युतीय सर्ट भई आगोलागी भएको हो । ‘हामी सबै काम गर्न साइडमा थियौं । बेलुका क्याम्पमा र्फकदा जलेर सबै नष्ट भएछ’, लम्जुङका बलबहादुर गुरुङले इकान्तिपुरसँग भने,’अहिले हामीसँग काम जान लगाउने डाग्री -पोशाक) मात्रै छ ।’ त्यस कम्पनीमा झन्डै साढे चारसय कामदार छन् ।
जसमा दुई सय नेपाली रहेका छन् । ‘कसैको पनि पासपोर्ट, नागरीकता बचेन । धेरै साथीहरुको घरमा पठाउन राखिएको पैसा पनि जल्यो’, उनले भने । सोही कम्पनीमा कार्यरत प्युठानका ओमबहादुर घर्तीमगर, तनहुँका बीरबहादुर आले मगर, सर्लाहीका राजन लोहर, संखुवासभाका नरेश रोक्का, ताप्लेजुङका दिपेन्द्र शर्माले लत्ताकपडा सहित राहदानी जाल्दा समस्यामा परेको बताए । ‘कति साथीहरुको आज -बुधबार)को घर फिर्ने टिकट थियो । सरसामानहरु किनेर राखेका थिए । नेपाल लैजाने लगेज तयार बनाएका थिए’, प्युठानका ओमबहादुरले भने,’उनीहरु पनि सबै जल्यो पछि टिकट रद्द भएको छ । आगोलागीबाट ज्यान त जोगियो ।’
आगोलागी मंगलबार दिउसो एक बजेको समयमा भएको थियो । कम्पनीले उनीहरुलाई बन्दै गरेको युसिसिको सात नम्बर क्याम्पमा राखेको छ । ‘कम्पनीले अस्थायी बसोबासको लागि युसिसिको क्याम्ममा राखेको छ । बस्ने ओछ्यान लिएर दिएको छ’, सर्लाहीका राजनले भने,’अहिले जसोतसो मिलेर बसेका छौं । खाना पनि जसोतसो मिलाएर दिइरहेको छ ।’ सामान जलेको पीरले कसैको मन ठाँउमा नभएको गुरुङले बताए । त्यस कम्पनीमा नेपालीहरु प्लम्बर, मेसन, लेबर लगायत रहेका छन् । उनीहरुले स्वीमिङ पुल निर्माण तथा मर्मतसम्भार गर्ने काम गर्ने गरेका छन् । अधिकारीहरुले आगोलागी तिनघण्टा पछि नियन्त्रणमा ल्याएको थियो । उनीहरुले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कतारस्थित नेपाली दुताबासले समस्यामा परेका नेपाली कामदारको अबस्थाको बिषयमा आफुहरुले जानकारी लिइरहेको जनाएको छ । ‘राहदानी जलेको हो भने हामी बनाइदिन्छौं’, कार्यबाहक राजदुत मणीरत्न शर्माले भने । उच्च गर्मीको मौसम भएकोले क्याम्पहरुमा आगोलागी लाग्ने घटनाहरु बढिरहेको आन्तरीक मन्त्रालयले जनाएको छ । यो बेला सबैलाई उच्च सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१