भान्जाभान्जी र बहिनीज्वाइँलाई मार हान्ने हत्यारा यसरी समातिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०६:३६
काठमाडौँ, ४  भदौ  ।
 
स्थानः ललितपुर, बडिखेल–६ खेलगाउँ (हालः गोदावरी नगरपालिका– ८) 
घटना मितिः १६ असोज २०६० 
 
मृतकहरुः 
१. ३६ वर्षीय हीरालाल भनिने भानु नगरकोटी (पति) 
२. ३० वर्षीया धनकुमारी नगरकोटी (पत्नी) 
३. १३ वर्षीय रविन्द्र नगरकोटी (छोरा) 
४. १० वर्षीया लुरी नगरकोटी (छोरी) 
५. ८ वर्षीया टुकुली नगरकोटी (छोरी) 
 
घटना विवरणः 
१६ असोज ०६० मा राती अन्दाजी १२ः१५ बजे बडिखेल–६ को खेलगाउँमा घरमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी रेटेर भानु नगरकोटीसमेत पाँच सदस्यको सामुहिक हत्या भयो । नगरकोटीका नातामा जेठान चन्द्रबहादुर पहरीले उनको हत्या गरेर फरार भएका थिए । पहरीकी पत्नी भुन्टी भनिन सूर्यकुमारी र मृतकको पत्नी धनकुमारीबीच घटना हुनु भन्दा ६ दिन पहिला झगडा भएको थियो । पहरीले त्यतिखेर नै बहिनीज्वाइँलाई मार्ने धम्की दिएका थिए ।
उसो त पहरीले आफ्नी पत्नी र ज्वाइँ भानु सँगै बसेर मदिरा पिउने र अनैतिक सम्बन्ध राख्ने गरेको खबर भाञ्जाभाञ्जीबाट पाएपछि तनाव पाएका थिए । १६ असोज अर्थात् दशैँको अष्टमीका दिन पहरी आमाको घरमा राँगो काटेर मासु भाग लगाएपछि दुई भाग मासु बोकेर ज्वाइँको घरमा पुगेका थिए । नेवारी परम्पराअनुसार कुची भोज खाने चलन भएकाले आआफ्नो घरमा बसी भोज खाएका थिए । भोजसँगै रक्सी सेवन गरी पहरी आफ्नै परिवारसँगै सुतेको तर पुरानो झगडाको पीडा सहन नसकी बहिनीज्वाइँलाई सिध्याउँछु भनी राती १२ बजे पत्नी तथा घरपरिवारलाई थाहा नदिई खाली खुट्टामै कालो छिरमिरे सर्ट र कालो हाफ पाइन्ट लगाइ प्लाष्टिकको झोलामा एक जोर सर्ट पाइन्टसमेत बोकी बहिनीज्वाइँको घर पुगेका थिए ।
मूलढोका बन्द भएकाले शौचालयको छाना चढेर घरको भ¥याङमा उक्लिई पहरीले मासु काट्न प्रयोग गरिने दाउ बोकेर बहिनीज्वाइँ सुत्ने कोठामा पुगे । ढोका खुलै रहेकाले बहिनीज्वाइँ नै होला भनी दुवै हातले खाटमा सुतिरहेकालाई घाँटीमा दाउले मार हाने । झ्यालमा सिसा भएका कारण जुनको उज्यालोमा हेर्दा भान्जा रविन्द्र नगरकोटी र भान्जी लुरी रहेको उनले थाहा पाए । भान्जाभान्जी मारिसकेपछि दाउ बोकी तल्लो तलामा झरी दक्षिणतर्फको कोठामा जाँदा कोठामा बिजुली बत्ती बलिरहेको र खाटमा बहिनी धनकुमारी, ज्वाइँसँगै भान्जी टुकुली सुतिरहेको देखे ।
पहरीले पालैपालो बहिनी, ज्वाइँ र भान्जीलाई मार हाने । घटनापछि उनी राती ३ बजेसम्म बाँसको झ्याङमा लुके र बिहान ६ बजे मामाको श्राद्धका लागि पण्डित गोपाल ओझा बोलाउन उनको घर पुगे । भोलिपल्ट १०ः३० बजे पहरीका कान्छो छोरा महेश्वरले नगरकोटीको परिवारको हत्या भएको जानकारी गराउँदा उनले केही थाहा नपाएको अभिनय गरे । जेठो छोरा काले भनिने मुकेशले दिएको हैरानीका कारण तीनवर्षदेखि भक्तपुर चाँगुनारायण झौखेल बस्ने गरेका पहरीलाई बिहीबार पक्राउ गरिएको हो । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । ५२ वर्षको उमेरमा हत्यारा बनेका पहरी ६३ वर्षको उमेरमा तीन भान्जाभान्जीसहित बहिनीज्वाइँको हत्या आरोपमा पक्राउ परेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१