हरेऊले टोकेर मान्छे मर्छ कि मर्दैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार १६:०९

कमल मादेन

लमजुङ जिल्लाअन्तर्गत नौथर गाविस-४ का वीरजंग तामाङ सर्पको टोकाइबाट भदौ २४ गते भरतपुरमा बिते । तामाङलाई २३ गते दिउँसो साढे २ बजेतिर कोदोबारीमा घाँस काट्दै गर्दा सर्पले दाहिने हातमा टोकेको थियो ।

विष नफैलियोस भनेर परिवारजनले २४ गते बिहानसम्म हातमा २ ठाउँ डोरीले बाँधेका थिए । उपचारका क्रममा उनको भरतपुर मेडिकल कलेजमा मृत्यु भयो ।

वीरजंगका आफन्तले उनलाई हरेउ सर्पले टोकेको बताएका थिए । नेपालमा हरेउ सर्पले टोकेर बिरामी मरेको जानकारी छैन । त्यो संभवत नेपालको पहिलो घटना हो ।

यो घटनापछि मैले हरेउ सर्पले टोकेर कोही मरेको छ, छैन भनेर सर्पले टोकेको उपचार गर्दै आएका अस्पतालका डाक्टर र सामुदायिक सपदंर्श उपचार केन्द्रका आधा दर्जन जति स्वास्थ्यकर्मीलाई सोधें । सबैले हरेउ सर्पले टोकेर बिरामी नमर्ने बताए । सर्पदंश सम्बन्धी अनुसन्धानात्मक लेखहरुमा पनि हरेउ सर्पले टोकेर बिरामी मरेको कतै उल्लेख छैन ।

हरेउ सर्प

हरेउ सर्प हरियो हुन्छ । कहिलेकाँही खैरो तथा हल्का पहेंलो रंमा पनि पाइन्छ । केही हरेउ सर्पको पुच्छर रातो हुन्छ । नेपालमा हरेउ सर्पको ८ प्रजाति पाइएको छ ।

 हरेउ सर्प (तस्वीर साभार : एफ. टिल्लाक )

सिन्धुली जिल्ला अन्तर्गत सामुदायिक सर्पदंश उपचार केन्द सिर्थौलीमा हरेउ सर्पले टोकेको बिरामी प्रशस्त जान्छन् । उक्त केन्द्रका अहेब जगदीश मण्डलले सिर्थौली अतिरिक्त अन्य उपचार केन्द्र सहित विगत २० बर्षदेखि सर्पले टोकेको उपचार गर्दै आएका छन । उनी हरेउ सर्पले टोकेका ६०-७० भन्दा बढी व्यक्तिको उपचार गरेको बताउँछन् ।

यो बर्ष ०७१ पनि उनले ३ जनालाई उपचार गरेका छन् । उनले हरेउ सर्पले टोकेको बिरामीलाई विष प्रतिरोधात्मक औषधि (एन्टी स्नेकभेनम) प्रयोग गर्दैनन् । बरु एन्टी बायोटिक औषधि चलाउँछन् । मण्डलका अनुसार हरेउबाट अझैसम्म कोही पनि मरेको छैन ।

हरेउ सर्पले टोकेको धेरै बिरामी उपचार गर्ने अर्का स्वास्थ्यकर्मी पृथ्वीनारायण शर्मा हुन् । शर्मा सिरहा जिल्लाअन्तर्गत नयाँ श्रीनाथ गण चौरहाको जयकाली सर्पदंश केन्द्रमा काम गर्छन् । शर्माको अनुभवमा हरेउ सर्पबाट कोही पनि सर्पले टोकेको बिरामी अझैसम्म मरेको छैन ।

वीपी.अस्पताल धरानका डा. संजीवकुमार शर्मा अनुसार हरेउ सर्पले टोकेको बिरामीले ज्यादै पोलेको बताए बढीमा २ भाइलसम्म विष प्रतिरोधात्मक औषधि लगाउदा पोल्ने कम भएर जान्छ । त्यसभन्दा बढी दिइँदैन ।

झापाका केही सर्पदंश केन्द्रमा हरेउ सर्पले टोकेको बिरामीलाई २ भाइलसम्म विष प्रतिरोधात्मक औषधि दिएको रेकर्ड छ ।

हरेउ र एन्टी स्नेकभेनम

गुर्बे सर्प (तस्वीर साभार : एफ. टिल्लाक)

नेपालमा हरेउ सर्पले टोकेको बिरामी उपचारमा प्रयोग गरिने छुट्टै एन्टी स्नेकभेनम छैन । भारतमा पनि छैन ।

हङकङका चिकित्ससकहरुले हरेउ सर्पले टोकेको बिरामी उपचार गर्न चीनमा बनेको औषधि प्रयोग गर्ने गरेको सर्पदंश सम्बन्धी लेखहरुमा पढ्न पाइन्छ । चीनका अतिरिक्त थाइल्याण्ड र अमेरिकामा पनि हरेउ सर्पले टोकेको औषधि बन्ने गरेको छ ।

अमेरिकामा बनेको त्यो औषधिलाई ‘हेमाटो पोलिभलेन्ट स्नेक एन्टि भेनिन’ भनिन्छ । हरेउ सर्पले टोकेको बिरामीलाई अहिलेकै एन्टि स्नेकभेनम चढाए खासै फरक नपर्ने धारणा राख्ने केही नेपाली चिकित्सकहरु पनि छन् । उनीहरु जुनसुकै सर्पले टोकोस्, सर्पको विषमा भएका रसायन अर्थात इन्जाइमहरु थोर बहुत मिल्ने बताउँछन् । त्यसैले कम बेसी असर फरक होला, तर हरेउ सर्पले टोकेको उपचारमा अहिलेकै एन्टी स्नेकभेनम प्रयोग गर्दा खासै फरक नपर्ने मान्यता राख्छन् ।

त्यो मान्यता स्वास्थ्य मन्त्रालय अन्तर्गत ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा’ ले प्रकाशन गरेको ‘सर्पदंश व्यवस्थापन निर्देशिका’ (सन २००३) संग मेल खादैन । निर्देशिकाको पृष्ठ ३ मा पिट भाइपरले टोकेको बिरामीलाई एन्टी स्नेकभेनम दिने सिफारिस गर्नु हुँदैन भन्ने लेखिएको छ ।

हरेउ सर्प पनि एक प्रकारको पिट भाइपर नै हो । विडम्बना, त्यस्तो मान्यता राख्नेहरु सोही विभागसँग सम्वद्ध छन् र त्यही विभागले सर्पदंश उपचार सम्बन्धी तालिम, गोष्ठी चलाउने गरेको छ ।

हरेउ सर्पले टोकेको बिरामीमा नेपालमा अहिले प्रयोग हुँदै आएको एन्टी स्नेकभेनम प्रयोग गर्नुहुन्छ भन्ने मान्यताको प्रभाव चिकित्सकमा कति परेको छ भन्ने उदाहरण वीरजंगकै उपचारलाई लिन सकिन्छ । वीरजंगलाई हरेउले टोकेको १ दिनपछि लम्जुङ जिल्ला सामुदायिक अस्पतालमा २४ गते बिहान साढे ११ बजे भर्ना गरिएको थियो । उक्त अस्पतालमा विष प्रतिरोधात्मक औषधि नभएका कारण, बिरामीलाई भरतपुर जिल्ला अस्पताल रेफर गरियो ।

भरतपुर जिल्ला अस्पतालले आई.सि.यु. बेड खाली नभएर अन्यत्रै लैजान रेफर गरेको थियो ।

वीरजंग कसरी बिते ?

भरतपुर जिल्ला अस्पतालमा २४ गते साँझ बिरामी २० मिनेट जति आकस्मिक कक्षमा भर्ना भएको देखिन्छ । त्यो अस्पतालले बिरामीलाई २ भाइल एन्टी स्नेकभेनम लगाएको अस्पताल रेकर्डमा छ । त्यसपछि बिरामी भरतपुर जिल्ला अस्पतालबाट भरतपुर मेडिकल कलेजमा सारियो ।

भरतपुर मेडिकल कलेजले बिरामीको आफन्तमार्फत भरतपुर जिल्ला अस्पताबाट १० भाइल एन्टी स्नेकभेनम लगेको थियो । बिरामीको शुरुमा हात, पाखुरा, गर्दन र छाती सुन्निएको थियो । पछि मृत्यु अघि जिब्रो घाँटी भित्र पस्न खोजेजस्तो भयो भनी मृतकले बताएको उनका ज्वाइँ कुलबहादुर तामाङले यो पंक्तिकारलाई बताए ।

त्यो हरेउ सर्पको विष नभई गोमन तथा करेतको विषको लक्षण हो । त्यसैले वीरजंगको मृत्यु हरेउ सर्पको विषबाट नभई एन्टि स्नेकभेनमको गलन प्रयोगबाट भएको हुनुपर्छ ।

वीरजंगलाई १२ भाइल विष प्रतिरोधात्मक औषधि दिइयो । डाक्टरहरुको भनाइलाई सापटी लिने हो भने वीरजंगलाई विष प्रतिरोधात्मक औषधि दिइनु हुन्थेन । त्यो नै उपचारमा गम्भीर त्रुटी भएको मान्नुपर्छ ।

नेपालमा प्रयोग हुँदै आाएको विष प्रतिरोधात्मक औषधिले गोमन, कमन करेत र रसैल्स भाइपरले टोकेको बिरामी निको हुने गरेको छ । अन्य विषालु सर्पले टोकेको बिरामीलाई त्यो विष प्रतिरोधात्मक औषधिले खासै काम गर्दैन । त्यस्ता बिरामीको उपचारमा विष प्रतिरोधात्मक औषधिका अतिरिक्त भेन्टिलेटर हुन नितान्त आवश्यक छ ।

भारतमा स-साना भेन्टिलेटर प्रयोग गरेर जुनसुकै सर्पले टोकेको बिरामी उपचार गर्ने गरिएको छ । ‘सर्पदंश व्यवस्थापन निर्देशिका तयार गर्नेमध्ये एक डा. छबिलाल थापाको विचार अनुसार सबै सर्पदंश उपचार केन्द्रलाई ससाना भेन्टिलेटर (स्वचालित तथा हातैले संचालन गर्न सकिने) उपलब्ध गराउन सके उपचार केन्द्रमा भर्ना भएका उनान्सय प्रतिशत विरामी बचाउन सकिन्छ । वीपी अस्पताल धरानका डा. सन्जिवकुमार शर्माको सर्पदंश उपचार सम्बन्धी थुप्रै लेखहरु प्रकाशन भएका छन् । डा. शर्माको भनाइ अलि भिन्न छ ।

डा. शर्माका अनुसार नेपालमा सर्पदंश उपचारसम्बन्धी चिकित्सकलाई प्रर्याप्त जानकारी छैन । सर्पले टोकेको बिरामीलाई के कति विष प्रतिरोधात्मक औषधि दिने भन्नेबारे मतेक्यता नै छैन । कतै थोरै संख्यामा विष प्रतिरोधात्मक औषधि दिइन्छ भने कतै अत्यधीक चढाइन्छ । डा. शर्मा पनि भेन्टिलेटर भए धेरै बिरामीको ज्यान जोगिन सक्छ भन्ने मान्यता राख्छन् । तर, नेपालमा केही अस्पतालमा मात्रै भेन्टिलेटर उपलव्ध छ ।

सारमा भन्नैपर्दा, नेपालमा सर्पदंश उपचारको भरपर्दो औषधि र उपचार सामग्री छैन । चिकित्सकहरु विष प्रतिरोधात्मक औषधि के कस्तो सर्पले टोकेको अवस्थामा कति प्रयोग गर्ने भन्ने बिषयमा बेखबर छन् ।

स्रोत – अनलाइन खबर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१