देश बनाउने कसले हो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार १३:३१

 काशीनाथ खनाल
हामी साना कोपिला, ठूलो भई देश बनाउने,
रंगीचंगी फूलबारीका, हामी साना कोपिला ।।

यी पंक्तिका पंक्तिकार को हुन् मलाई थाहापत्तो छैन । थाहा पाउनु खासै जरुरी पनि छ जस्तो लाग्दैन । यी पंक्ति आज मेरी तीन बर्षे छोरीले अनायास एकोहोरो गाइरहिन् गाइरहिन् । अफिसबाट घर पुग्दा रातको आठ बजिसकेको थियो । बच्चाहरू खाना खाइरहेका थिए । खाना खाइसकेपछि उनीहरू म भएको ठाउँ( बैठक कोठामा आए र त्यस मध्ये भर्खर तीन बर्ष पुगेकी र स्कूल जानमात्र थालेकी छोरीले उक्त गीत गाउँदा मेरो मर्ममै ठेस लाग्यो र प्रश्न उठ्यो आखिर देश बनाउने कसले हो ?

मलाई थाहा छ, ती अबोध बालिकाले उक्त कुरा विद्यालयमा शिक्षकशिक्षिकाको मुखबाट सुनेकी र सिकेकी हुन् । परिवारमा हामी बुबाआमा र नगिचै छिमेकका अंकलआन्टी र केही दाइदिदीहरू बाहेक अरुसँग घुलमिल गर्न पनि नखोज्ने उनीलाई देश र देशप्रेम भनेको के हो पक्कै पनि केही थाहा छैन । टन्न खाने, खेल्ने अनि आरामले सुत्ने उमेरमा उनले गाएको गीत जब मेरो कानमा ठक्कर खान्छ तब म सोच्न बाध्य हुन्छु, आखिर यो देश बनाउने कसले हो त ?

खासमा यो देश बनाउने हामी जस्ता युवाले नै हो र देश निर्माणको नीति बनाउने सरकार र नेतृत्वको काम हो । तर न यहाँ सरकार र नेतृत्व सही नीति बनाउँछ न त युवा राष्ट्र निर्माणका लागि परिचालन हुन नै तयार छन् । ढुङ्गो पनि प्वाल पार्न सक्छु भन्ने जोस र जाँगर बोकेको युवा आज कि श्रम बेच्नका लागि विदेशी बजारको खोजीमा पलायन भएको छ, कि बेरोजगार भएर कुनै पार्टी र संघसंस्थाको झण्डा बोक्न बाध्य भएको छ, कि फेसबुक र ट्वीटरमा रातदिन बिताइराखेको छ, कि अन्योल भविष्यको कल्पनाले तनाबमा छ, कि अवसर प्राप्त गर्न सक्ने मुलुकमा पलायन हुने र उतै सेटल हुने दाउमा छ । बेरोजगारको सूचिबाट अलग राख्न सक्षम ठानिएको युवाहरूको सानो जमात पनि खुलेर म आफ्नो रगत, आशु र पशिना देशका लागि नै समर्पण गर्छु भन्न सकिराखेको स्थिति यहाँ छैन । किनकि यस भित्र पनि जागिरै गरेर आफ्नो सच्चा पसिनाको कमाइले घरगर्जो टार्छु, छोराछोरीहरूलाई समय सुहाउँदो उचीत शिक्षादीक्षा दिन्छु र कम्तिमा आफू भन्दा सक्षम बनाउँछु भन्ने सपना पूरा हुन धेरै गाह्रो भइसकेको स्थिति छ ।

देशमै श्रम गर्नेहरूले दीर्घकालीन सोच बनाउन सकिराखेको स्थिति छँदैछैन यहाँ । श्रम र क्षमताको उचीत मूल्य यहाँ कहींपनि पाइँदैन । लाग्छ यहाँ श्रम गर्नेहरुका लागि कुनै नीति नै छैन । कम भन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य छौं यहाँ हामी जस्ता युवा । लाग्छ यही बस्ने हो भने सबै सपनालाई तुहाउनु पर्ने हुन्छ । यहाँ सबै क्षेत्रको नेतृत्व घुसखोरी, नाफामुखी, जालसाजी आदि विशेषण दिन मिल्ने खालको मात्र भेटिन्छ ।

यहाँको सरकार र निजी तथा सामाजिक क्षेत्र पनि युवा र शिक्षित जनशक्ति पलायनलाई रोक्न खोजिराखेको अवश्य छ । हालसालै कोइराला सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले विदेशी पी. आर. होल्डरहरू सरकारी ओहदामा बस्न नपाउने निर्णय मान्त्री परिषदबाटै पास गराए । राष्ट्रिय रुपबाट हेर्ने हो भने उक्त कदम र कार्य निकै क्रान्तिकारी नै मान्नुपर्छ । यसपछि सुरक्षा क्षेत्र र राजनीतिक क्षेत्रको पनि पालो आउँछ भनिएको त छ । तर यो काम पहिले राजनीतिक क्षेत्रबाट शुरु गरिएको भए सुनमा सुगन्ध हुनसक्थ्यो । राजनीतिक क्षेत्रमा यसले सफलता पाउन सकेन भने निजामती क्षेत्रमा सफल भएर पनि यो नीति असफल नीति हुनेछ ।

आफ्नै खेतीको कमाइले पारिवारिक गर्जो टर्छ भने कोहीपनि व्यक्ति ज्याला( मजदुरी गर्न जाँदैन । काम र मामको ग्यारेन्टी भएको खण्डमा अर्काको मुलुकमा गएर सीमित स्वतन्त्रता उपयोग गरी र पारिवारिक मायाममताबाट समेत विमुख रही त्यो पनि हेपेर राखिएको तनखामा विदेशमा काम गर्न कसैलाई रहर हुँदैन । यहाँ एकातिर श्रमिक (जागिर) नीति को अभाव छ भने अर्कोतिर खाद्य नीति, घरबहाल नीति जस्ता आधारभूत नीति नभएका कारण शहरमा घर नहुने हामी युवा अक्सर सबै ठाउँमा अवसर नीतिको शिकार भइराखेका छौं । सबैकुरा थाहापाएर र बुझेर पनि हामी सबै क्षेत्रमा शोषित(पीडित हुन बाध्य भएका छौं । सरकारी जागिरेलाई यो स्थिति छ कि छैन म यकिनका साथ भन्न सक्तिन तर पन्चानब्बे प्रतिशत भन्दा बढी हामी युवा कुनै न कुनै रुपबाट यसको शिकार भएका छौं । यदि यस्तै स्थिति हो भने अबोध बच्चाहरुलाई राष्ट्रभक्तिको गीत कतिन्जेल गाउन लगाउने ? यहाँ तुहिएको देशभक्तिको रटान लगाउनुको के नै अर्थ रहन्छ र ?
(लेखक सिद्धान्त अनुसन्धान शिक्षक संघ नेपालका महासचिव हुन् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१