कर्पोरेट इन्टरप्राइजेजका सञ्चालकद्वय रमेश खड्गी र विष्णु राउतलाई उनकै कर्मचारी नवीन घिमिरेसहितका तीनजनाले अर्कोको जग्गा देखाएर पाँच करोड ठग्ने प्रयास गरे । घिमिरेको समूहले नक्कली लालपुर्जा बनाएर अर्काको जग्गालाई खड्गी र राउतलाई बेच्ने योजना बनाएका थिए । तर, समयमै थाहा पाएपछि थोरै रकम मात्रै डुब्यो । ठगीमा घिमिरेसहित रामप्रसाद अधिकारी र लालबहादुर कुसवाहलाई प्रहरीले गत महिना पक्राउ गरेको थियो । खड्गी र राउतले भारतबाट कोइला आयात गरी स्टोरका लागि जग्गा किन्न खोजेका थिए । दुई लाख १० हजार रुपैयाँ उनीहरूले बैना पनि दिइसकेका थिए ।
पछिल्लो समय दैनिक पत्रिकामै विज्ञापन छपाएर पनि ठगी हुन थालेको छ । वर्किङ भिसामा क्यानडा तथा अस्ट्रेलिया पठाउने भन्दै पत्रिकामा विज्ञापन छपाएर रकम उठाउने सर्लाही लालबन्दीका प्रताप भट्टलाई प्रहरीले बिहीबार मात्रै पक्राउ गरेको थियो । कतिपयलाई त उनले डिपेन्डेन्ट म्यारिज भिसामा पठाउने भन्दै प्रलोभनमा पारेर ठगी गरेका थिए ।
धापासीका कृष्ण कुँवरलाई २७ लाखमा अमेरिका पठाइदिने भन्दै भट्टले दुई लाख ७५ हजार अग्रिम लिएका थिए । उनले काभ्रेका ढुप्साङ लामा, पर्साका पर्वत श्रेष्ठ, रामेछापका भरत मगरलाई प्रतिव्यक्ति १२ लाखमा चर्चमार्फत अमेरिका पठाइदिने भन्दै हरेकबाट तीन लाख ६० हजार उठाएका थिए । त्यस्तै, भूकम्पपीडित ११ जना युवालाई क्यानडा पठाउने भन्दै तीन लाखका दरले ठगी गर्ने भारतीय नागरिक पवनकुमार अग्रवाल पनि चार दिनदेखि प्रहरी हिरासतमा छन् । उनले पनि विज्ञापन छपाएरै पैसा उठाएका थिए ।
३.नक्कली बिजिनेसले डुबायो
फिक्सन ग्लोबल इन्भेस्टमेन्ट प्रालिका सञ्चालकद्वय सुक्किम लामा र सेरापसिंह लामाले लाखौँ कमाउने सपना देखाएर विभिन्न व्यक्तिलाई लगानी गर्न लगाएर ठगी गरे । वैदेशिक विनिमयसम्बन्धी कारोबार गर्ने भन्दै लगानी गरे आकर्षक प्रतिफल दिने झुटो प्रलोभन दिएर उनीहरूले प्रतिव्यक्ति ५० हजारदेखि ५० लाखसम्म उठाएका थिए । सिआइबीले गत महिना उनीहरूलाई पक्राउ गर्यो ।
४. हाकिम भेटाउँदै ठग्दै
गृह मन्त्रालयमा खरिदारको जागिर लगाइदिने भन्दै राजकुमार चापागाईंले दुई युवतीबाट चार लाख ठगी गरे । उनको ठग्ने शैली पनि रमाइलो छ । उनी नियमित सिंहदरबार गइरहन्थे । जागिर खान इच्छुक व्यक्तिलाई लगेर मन्त्रालयका हाकिम पनि चिनाउँथे । बहिनी हो, जागिर लगाइदिनुपर्यो भन्दै कुरा गर्थे । पछि कुरा मिलिसकेको भन्दै पैसा लिएर ठग्ने गरेको खुलेपछि अपराध महाशाखाले उनलाई गत महिना पक्राउ गर्यो ।
५. एक रातमै दोब्बर बनाइदिने भन्दै पाँच लाख ठगी
एकै रातमा पैसा दोब्बर बनाइदिने प्रलोभन देखाउँदै एक समूहले कुमारीपाटीकी डिम्पल थापाबाट सजिलै पाँच लाख रुपैयाँ ठग्यो । ललितपुर प्रहरीले ठगीमा संलग्न ज्ञानबहादुर क्षेत्री, रोशन मल्ल भन्ने शिव भुर्लाकोटी र सीतादेवी ढकाललाई पक्राउ गर्यो । सक्कली नोटको तल कागज राखेर रसायन प्रयोग गरी पाँच लाखलाई १० लाख बनाइदिने भन्दै उनीहरूले ठगी गरेका थिए । गत १८ पुसमा पैसा लिएर फरार उनीहरूलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको हो ।
६.सस्तोमा डलर साट्ने भन्दै ठगी
सिन्धुपाल्चोकका प्रकाश भन्ने ताराबहादुर तामाङ र सञ्जय तामाङले सस्तोमा डलर साट्ने भन्दै स्वयम्भूस्थित थकाली किचेन एन्ड फास्टफुडका सञ्चालक चित्रबहादुर शेरचनलाई फिल्मी शैलीमा ठगे । स्वयम्भूको जंगलमा हावाहुरी चलेपछि झोला छोडेर ज्यान जोगाउँदै भागेका पर्यटकको झोलामा धेरै डलर फेला परेको र सस्तोमा डलर साटिदिने भन्दै उनीहरूले शेरचनलाई भक्तपुरको जगातीमा बोलाएका थिए । डलर भनेर दिएको बन्डलमा तलमाथि सक्कली डलर र बीचमा नोट आकारको कागज राखेर ठगी गरियो । त्यस्तै प्रकृतिको घटना लैनचौरमा पनि भयो । सिन्धुलीका सागर थापामगर र कृष्णबहादुर तामाङले नवलपरासी डेढगाउँका नीलबहादुर कामुङलाई पाँच लाख रुपैयाँ ठगी गरे । वैदेशिक रोजगारमा कतारबाट गत ६ असारमा फर्किएका नीलबहादुरलाई उनीहरूले रियालको बिटो भन्दै कागजको बन्डल दिएर ठगी गरेका थिए ।
७. प्रहरी आफैँ ठगीमा
ठगहरूलाई पक्राउ गर्ने प्रहरी आफैँ पनि गत २५ असारमा पक्राउ परे । महानगरीय प्रहरी कार्यालयमा कार्यरत जवान मेघबहादुर पाण्डेले राष्ट्रिय अनुसन्धान विभागमा असइ बनाइदिने भन्दै चारजनालाई ठगी गरे । आफ्नो एआइजीहरूसँग राम्रो सम्बन्ध रहेको भन्दै विश्वासमा पारी उनले ठगी गरेका थिए । टीकाराम सञ्जेलको उजुरीपछि अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो ।
८.गर्लफ्रेन्ड बनाउँदै ठग्दै
आफूसँग बेलायतको ग्रिनकार्ड भएको र बिहे गरेर विदेश लैजाने भन्दै २० भन्दा धेरै युवतीलाई ठगी गर्ने वीरबल तामाङलाई पनि प्रहरीले यही वर्ष पक्राउ गर्यो । उनले युवतीलाई यौन शोषणसमेत गरेका थिए । गत फागुनमा सिआइबीले उनलाई पक्राउ गरेको हो । उनका केही पूर्वप्रेमिकाले जबर्जस्ती करणी मुद्दामा समेत प्रहरीमा जाहेरी दिएका थिए । आफूलाई धनाढ्य व्यक्तिका रूपमा प्रस्तुत गरेर युवतीसँग नजिकिएर उनी ठगी गर्थे । ठगी गरिसकेपछि मोबाइल नम्बर परिवर्तन गरी फरार हुने गर्थे । हाल उनी जेलमा छन् ।
९ .एटिएमको पिन चोर्दै सपिङ गर्दै
एटिएमबाट पैसा निकाल्न नजानेको नाटक गरी एटिएम बुथबाट अरूको पिन नम्बर चोरेर ठगी गर्दै आएका भारत बिहार घर भएका भूषण पाण्डे र दिलीपकुमार यादवलाई प्रहरीले गत शनिबार पक्राउ गर्यो । उनीहरूले नबिल बैंकका ग्राहकको खाताबाट गोप्य रूपमा पैसा निकाल्ने तथा अनलाइन पेमेन्टमार्फत सपिङ गर्दै आएका थिए । एटिमएबाट फालिएको स्लिपबाट सूचना लिई उनीहरूले अनलाइन अकाउन्ट ह्याक गर्दै आएका थिए । तर, प्रहरीले समयमै सूचना पाउँदा ठूलो रकम ठगी हुन पाएन ।
१० .अमेरिकी दूतावासको कर्मचारी भन्दै ठगी
आफूलाई अमेरिकन दूतावासको कर्मचारी भएको र भिसा लगाइदिने भन्दै सातजनालाई ठगी गर्ने केदार खड्का पनि यतिवेला महाराजगन्ज प्रहरीको हिरासतमा छन् । गत १७ साउनमा पक्राउ परेका उनले अमेरिकी दूतावासको नक्कली परिचयपत्रसमेत बनाएका थिए । आफ्नो नाम दीपक कार्की भएको भन्दै झुक्याएर उनले चार वर्षदेखि धेरै व्यक्तिलाई ठगी गर्दै आएको खुलेको छ । भिसा लगाइदिने मात्र होइन, दूतावासबाट संघसंस्थालाई अनुदान मिलाइदिने भनेरसमेत उनले ठगी गरेका थिए । पैसा लिएपछि उनी मोबाइल नम्बर परिवर्तन गरी भाग्ने गरेका थिए ।
आजको नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया