गल्‍फमा १० वर्षे बालकको यस्तो कमाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ०६:५१

गल्फलाई सम्भ्रान्त वर्गको खेल भन्ने गरिन्छ। यसो भन्नुमा गल्फ खेल्नका लागि लाग्ने खर्च नै प्रमुख कारण हो। तर पछिल्लो केही समययता भने गल्फलाई सबैको खेल भन्ने धारणा विकसित हुँदै आएको छ। यसैक्रममा एक भारतीय बालकले गल्फ सम्भ्रान्त वर्गको मात्र खेल हो भन्ने धारणालाई गलत साबित गरिदिएका छन्। दूध बेच्ने ग्वालाका छोरा १० वर्षे बालक शुभम जग्लानले अमेरिकामा शनिबार आईएमजी एकेडेमी जुनियर विश्व गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
 सान डियागोमा भएको उक्त प्रतियोगितामा शुभमले विश्वका कहलिएका बाल खेलाडीलाई पछि पारेका थिए। तीनदिने उक्त प्रतियोगितामा शुभमले सात अन्डर एक सय ७९ स्कोर गरेका थिए। हरियाणाको पानीपतको इसराना गाउँका बासिन्दा शुभमले घर नजिकैको गल्फ क्लबमा गएर गल्फ हेर्दै गर्दा सिक्ने अवसरसमेत पाएका थिए। उनका पिताले आफ्ना छोराको गल्फप्रतिको लगाव थाहा पाएपछि सपरिवार दिल्ली बसाइ सरेका थिए। त्यसपछि नै शुभमले गल्फमा अगाडि बढ्ने अवसर पाएका थिए।
भारतीय गल्फरहरूले स्थापना गरेको दि गल्फ फाउन्डेसनले शुभमको प्रतिभालाई तिखार्ने काम गरेको थियो। एसियन खेलकुदको गल्फ स्पर्धामा स्वर्ण जितेका अमित लुथ्राले पनि शुभमको परिवारलाई सहयोग गरेर गल्फमा लागिरहन प्रेरणा दिएका थिए। स्थानीय लक्ष्मण पब्लिक विद्यालयमा पढ्ने शुभम पढाइमा पनि तेज छन्। शुभमले चर्चित गल्फर टाइगर उड्स, सिभ बालेरोस र ग्यारी प्लेयरलाई आफ्नो आदर्श मान्ने गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१