नारायण रिजाल, बागलुङ, २७ साउन ।
सदमुकाम नजिकै रहेको काठेखोलामा पौडी खेल्नका लागि भनि गएका एक युवा मंगलबार बेपत्ता भएका छन् । जिल्लाको दमेक ९ घर भई हाल बागलुङ नगरपालिका ४ देउराली चोकमा बस्दै आएका १७ बर्षिय संजय छन्त्याल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । परिवार सहित डेरामा बस्दै आएका छन्त्याल घरबाट काठेखोलामा पौडि खेल्नका लागि भनि निस्केका थिए । उनको साथमा एकजना बालक साथि लिएर गएको परिवारले जनाएको छ ।
संजय सँगै गएका बालक अनुसार संजय खोलामा पौडि खेल्दा बेपत्ता भएको बताईएको छ । उनले परिवारलाई साँझमा मात्र छन्त्याल बेपत्ता भएको खबर गरेपछि प्रहरी र स्थानियले छन्त्यालको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका सुचना अधिकृत शैलेन्द्र खड्काले बताए । खड्का भन्छन ‘साथमा गएका साथीको भनाईका आधारमा खोजी कार्य जारी राखेका छौं, छन्त्याल अन्तै कतै गएको वा खोलामै वेपत्ता भएको भन्ने बारेमा यसमा कुनै पुष्टी हुन सकेको छैन । छन्त्यालको अहिले पनि स्थानिय र प्रहरीले खोजी कार्य जारी राखेका छन ।
प्रतिक्रिया