प्यूठान, २६ साउन । प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये नौ जनाको सनाखत भएको छ । सोमबार दिउँसो सदरमुकामबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नम्बरको यात्रुबाहक बस साँगुरो घुम्ती रहेको सारिवाङको सडकबाट खोलामा पल्टिँदा घटनास्थलमै छजना र उपचारका लागि लैजाँदै गर्दा चार जना गरी अहिलेसम्म दश जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
मृतकमध्ये प्यूठान नगरपालिका– १४ की माया केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी, प्यूठान नरपालिका–२ का सञ्जय सुनार ९जुनु०, कपिलवस्तुका लङ्कबहादुर रावत, दाङ गढवाकी सीता पण्डित, प्यूठान नगरपालिका–१५ का हस्तबहादुर बस्नेत, तोरवाङ–५ का दानबहादुर पोख्रेल, ढुङ्गेगढी–१ का नामुमाया राई र तुषारा–५ का शिवु गिरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा परी मृत्यु भएका अन्दाजी १२ वर्षीय बालकको सनाखत हुन सकेको छैन ।
घटनामा गम्भीर घाइते भएका १३ जनाको अहिले भैरहवामा उपचार भइरहेको छ । त्यस्तै घाइते ११ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
त्यस्तै जिल्ला अस्पताल र स्वर्गद्वारी लाइफकेएर हस्पिटलबाट केही घाइते उपचारपछि घर फर्किसकेका छन् । यात्रुबाहक बस पुरानो भएको र तीव्र गतिमा रहेकाले घुम्तीमा दुर्घटना परेको हुनसक्ने अनुमान गरिएको छ । रासस
प्रतिक्रिया