पदम खड्का, खप्तड ।
भौगोलिक रूपमा खप्तड ८१ डिग्री १.३६. मि. पूर्वी देशान्तरदेखि ८१ डिग्री १३.४३. मि. पूर्वी देशान्तर र २९ डिग्री १७.४१. मि. उत्तरी अक्षांशसम्म फैलिएको छ । समुन्द्री सतहदेखि खप्तडको न्यूनतम उचाई १२९६ मिटरदेखि ३२६७ मिटरको अधिकतम उचाईसम्म रहेको छ ।
ऐतिहासिकरूपमा हेर्दा खप्तड ऐतिहासिककालदेखि नै विभिन्न नामले चिनिँदै आएको पाइन्छ । इतिहासकार पूर्णप्रकाश नेपाल ‘यात्री’ले खप्तडलाई यसरी चिनाउनुभएको छ, ‘वर्तमान राजनीतिक प्रशासनिक दृष्टिमा सेती अञ्चल ज्यादै सिमित छ । यसको पुराना नाम डोटी थियो र डोटीभन्दा पनि पहिले चाहिँ सपादलक्षको एउटा देबोधान । देबोधानमाथि गगनस्पर्शी शिखरको नाम थियो । खेचराद्री हिमाद्री । खेचराद्रीका विषयमा पौराणिक साहित्यमा विस्तृतरूपले व्याख्या गरेको पाइन्छ ।
पौराणिक खेचराद्री ग्रहणका मनोविज्ञानका लागि सिर्जना गरिएको थियो । जहाँ मौसमी सुखभोगका लागि परिजनसहित युगसष्ट्राहरू विचरण गर्न आउँथे । मनोविदका लागि अलौकिक सामग्रीहरू प्रकृतिले जुटाइदिएको हुनाले त्यस अलौकिक सम्पदाको उपभोग गरेर कहिल्यै तृप्ति अनुभव हुँदैनथ्यो । त्यसै अलौकिक रम्य स्थलीको नाम कालान्तरमा खप्तड रहन गएको थियो ।’
घुम्न र हेर्न पाइने ठाउँ
खप्तडलाई प्राकृतिक सौन्दर्यको धनी मानिएको छ । प्रागकालमा देवोभूमि, पूण्यभूमिका रूपमा भनिएकोे खप्तड प्रकृतिका मनोरम दृष्य र ऐतिहासिक धरोहरहरूले भरिपूर्ण छ । जसमध्येका केही मुख्य पर्यटकीय दृष्टिले महŒवपूर्ण मानिन्छ ।
त्रिवेणी
तीनवटा नदीहरू मिलेर ठाउँ त्रिवेणी हो । खप्तडको त्रिवेणीमा स्वर्णगंगा, निलगंगा र आकाशगंगा मिलेका छन् । त्रिवेणी खप्तडको मुटु मानिन्छ । यहाँ प्रत्येक गंगादशहरामा ठूलो मेला लाग्ने गर्दछ र हजारौं भक्तजनहरूले यसमा स्नान गर्दछन् ।
सहस्रलिङ्ग
खप्तडभरिकै सबैभन्दा उच्च टाकुरामा अवस्थित यो ठाउँ खप्तडको अर्को महŒवपूर्ण पर्यटकीयस्थल मानिन्छ । प्राचीन ढुङ्गाको मन्दिरसमेत रहेको यस लिङ्गमा दर्शनका लागि जाने दर्शनार्थीहरूले नजिकै रहेको अग्लो ढुङ्गामा आफूले चढाएको वस्तु अड्काएर आफू धर्मात्मी भएको अनुभव गर्ने गरेको बताइन्छ ।
खप्तड ताल
यो ताल १२ हजार फिटभन्दा बढी उचाइमा रहेको छ । त्यसलाई खापर दह भनिन्छ । यस दहको वरिपरि रङ्गीचङ्गी फूल फुल्ने गर्दछ । खापर दहको छेउमा खापरे मष्टोको पुरानो मन्दिर र हेमकाण्ड छ । यीबाहेक खप्तडका अन्य पनि आकर्षणका ठाउँहरू पनि छन् । नागढुङ्गा, जेठी बहुरानी ढुङ्गा, रयाई घट्ट, छयाई पानी, भीमढुङ्गा, ददुली खडुलीमाइको मन्दिर, डाँफपे कोट आदि ।
खनिजका लागि सम्पन्न खप्तड
प्राकृतिक ऐतिहासिक र जैविक दृष्टिकोणमा जति सम्पन्न छ, खनिज सम्पदाका लागि पनि कम छैन । बझाङी राजाका पालादेखि खप्तडको अभ्रख खानी बन्द गरिएको छ । यसबाहेक खनिज तेल र ग्यास भएको विज्ञहरूले बताएको छन् ।
पशुपंक्षी र जडीबुटी
खप्तड एकताका पाटेबाघ र बापाटे बंगालाका लागि प्रख्यात मानिन्थ्यो । अहिले बढ्दो चोरीशिकारी र अनियन्त्रित जङ्गल कटानीका कारण ती दुवै दुर्लभ हुँदै गएका छन् । यीबाहेक खप्तड डाँफे, मालेचील, घोरल, ब्बाँसो, बँदेलजस्ता पशुपंक्षी र बडु गानाल्नो, हातेजडी, चिराइतोजस्ता बहुमुल्य जडीबुटी पाइन्छ । त्यस्तै खप्तडमा दुईसयभन्दा बढी रङ्गीचङ्गी फूल र विष पनि पाइन्छ ।
खप्तडबाबा र आश्रम
खप्तडबाबाको वास्तविक नाम १०८ श्री सचिनानन्द सरस्वती हो । एउटा महात्माका रूपमा चिनिएका खप्तड बाबाको जन्मभूमि र वास्तविकता अझै अनभिग्य नै रहेको बझाङ छान्नाका स्थानीय गोठालाको सहयोगमा उनको आश्रम निर्माण गरिएको थियो । खप्तडको आश्रम बन्नुपूर्व खप्तडबाबा आयुर्वेदिक विशेषज्ञका रूपमा माझीगाउँ गाविसका जयबहादुर खड्काको घरमा बस्ने गर्दथे ।
यसका साथै हिउँ मैदानमा लडीबुडी खेल्न, टाढासम्म फैलिएको घाँसे मैदानका पाटन, एकनासो फैलिएको हरियो दुबो, रङ्गीविरङ्गी फुुलहरूको अवलोकन गरेर आनन्द लिन पाइन्छ, छिनछिनमा मौसम बदलिने कात्तिकदेखि फागुनसम्म हिउँको नै पाटनमा घुमफिर, त्रिवेणीघाट (सहस्रलिङ्ग, बाबाकुुटी, फिन्टेढुङ्गा) लगायत धेरै रमणीय ठाउँको अध्ययन र अवलोकन गर्न सकिन्छ । खप्तड घुम्नलाई उपयुक्त मौसम जेठ–साउन वा असोज–मंसिरलाई मानिन्छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट धनगढीसम्म प्लेनबाट ६० मिनेटमा पुगिन्छ भने बसमा जाँदा करिब १२ घण्टा लाग्छ । यहाँबाट सिधै प्लेनबाट डोटीको सिलगढी पनि जान सकिन्छ । त्यो सुविधा उपलब्ध नभएको खण्डमा अत्तरियाबाट बसमा सजिलैसँग पिच सडकबाट सिलगढी पुग्न सकिन्छ । यहाँबाट खप्तड पुग्ने धेरै बाटाहरू छन् । यसमा पनि डोटीको सिलगढीबाट जान सजिलो छ ।
करिब एकहप्तामा सिलगढी–खप्तड यात्रामा सामान्यतयाः रु. ५ देखि ८ हजार खर्च लाग्छ । सिलगढीबाट हिँड्दा पहिलो दिनको दिउँसो बगलेकमा खाना खाएर झिग्रानामा बास बस्न सकिन्छ । दोस्रो दिनको चाँडै खप्तडै पुग्न सकिन्छ । बास बस्नका लागि निकुञ्ज गेष्टहाउस, होटल, क्याम्प तयार छन् ।
प्रतिक्रिया