सपना पनि कहिले यथार्थसंगै तुहिँदो रहेछ गर्भमै
जसरी यथार्थको गर्भबाट तुहाईन्छ,
छोरी आमा बन्ने सपना जब यथार्थ हुन्छ
उनको पुराण जस्तै पबित्रता ध्वनित हुन्छन् ।
सपना पलमै तरंगित हुन्छ जीवन पलमै संगीतमय हुन्छ ।
भोगाई जीवनसँग एक अर्को नयाँ जीवित अनुभूतिको आभास
सहस्र कण्ठले सित्कारदै
ती सपनाका, सुनौला थैलीलाई
कतै लुकाऊ, कतै छुपाऊ
सायद, आफ्नै गर्भभित्रभित्रै
वा केही देखाऊँ झैँ खुसीमा निर्लिप्त भएर
मुस्कुराउँदै आफ्ना संवेगहरुलाई
किञ्चित सम्हालेर लजाउँदै भन्छिन् ।
आमा बन्दैछु म ऊफ़्फ़ ….
एक पूर्णता,
एक लामो उच्छ्बास्
एक अपूर्व नाता
एक मीठो बन्धन
आमा,
अति गौरवान्वित अन्तरनाद ।
खुम्चिएर रमाउदै होला एक पिण्ड,
एक भ्रुण,
मातृ गर्भमा
मानव प्रवाहको संकेत
एक शिशु, एक आशा
अनि म आमा बन्दैछु
म, मेरो अस्तित्व
अनि मेरो छाँयासँगै जेलिएको मेरो शिशु, मेरो अंग ।।
छोरा होस् वा छोरी,
प्रशन्नताले दीप्त म मानौँ,
वेदका अनेकौँ मन्त्रोउच्चारणसँगै शंखनाद गर्दै,
आमन्त्रित एक देवदूत हठात् कुलदीपकु हुनुपर्छ है
तिम्रो गर्भमा केही कठोर,
केही आक्रान्त
अनि तप्त आदेश
मेरा निर्दोष खुसी ऊफ़्फ़…
पानी पानी हुन्छ, पलमै छताछुल्ल हुन्छ
मनमै म मर्माहत हुँदै, हेर्छु उनलाई
मेरो निर्दोष हेराइको अर्थ बुझ्न नखोजे झैँ गरी ।।
गर्भको र कर्मको कुरा कसले पो जान्छ र
मेरो प्रतिकात्मक अभिव्यक्ति शून्य भइदिन्छ
मूक दर्शक हुन्छु म
उनी भन्छन्,-छोरा नभए नौ महिनासम्म किन सास्ती पाउनु
ब्यर्थै उनी बड़बडाउन थाले ऊफ़्फ़ ।।
नियति नारी संवेग ।
एक छोरी भ्रुणको जन्मको अनुभूति नहुँदै
मृत्युको आदेश कति उग्रकामना
छोराको कति अनन्त चाहना
कुलदीपकु को छोरीको जन्म
किन त्यति सम्बेदनाशून्य ठानिन्छ ?
केही संकल्पित अवधारणाहरु जन्माउन खोज्छु म
हैन, मैले छोरीलाई जन्माउनु पर्छ
यी कुण्ठित सामाजिक लान्छनाको
तातो डामको विभत्स आकृतिलाई मेटाउनै पर्छ
छोरी फगत छोरी मात्र हैन
कहिले ‘सीता’ बनी जन्मिन्छे
‘छोरी’, कहिले ‘सावित्री’ बन्छे
कहिले भृकुटी
त कहिले, नाइटिंगेल ऊफ़्फ़ …
फेरि एकपल्ट शून्यमा चियाएर
मैले आफ्नै मर्मलाई घोच्ने प्रयास गरेँ
धिक्कारेँ ती मातालाई
जसले छोरी भ्रुणको हत्यामा सहमति जनाईन्
तर अब म निर्लिप्त हुन्न छोराको चाहमा
अब यी कुण्ठित भावनालाई दबाऊनुछ
र, मैले आफैँलाई जन्माउनुछ एकपल्ट ।
प्रतिक्रिया