काठमाडौ, २२ साउन । आगामि साउन २७ गतेदेखि तीन दिनसम्म राजधानीमा राष्ट्रिय यूवा सम्मेलन आयोजना हुने भएको छ ।
राष्ट्रिय यूवा परिषद नेपाल र यूवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा राजधानीको रोयल बैंक्वेटमा आयोजना हुने सम्मेलनमा ७५ वटै जिल्लाबाट १८ देखि ३८ वर्ष उमेर समूहका दुई दुई जनाको प्रतिनिधित्व रहने शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आयोजक संस्थाका अध्यक्ष सरोज बानियाँले ‘सामाजिक रुपान्तरणको लागि यूवा’ नाराका साथ आयोजना हुने सम्मेलनमा पर्यटन कृषिकालागि यूवा, यूवा नीति र कार्यान्वयन, सूचना प्रविधि, विपत्त ब्यवस्थापन र यूवा उद्यमशिलता विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छ । त्यस्तै राजनीतिमा लागेका यूवाहरुको कामको सम्बन्धमा ‘सामाजिक रुपान्तरणको लागि यूवाः यूवा विशेषज्ञ’ र खेलकुद मन्त्रालयले यूवा नीति र यसको कार्यान्वयनको विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।
पत्रकार सम्मेलनमा नेपाली काग्रेसका सभासद रामहरी खतिवडाले यूवाहरुलाई क्षमतायूक्त बनाउन काम गर्नु पर्ने आवश्यकता औल्याउँदै यूवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पनि ४० वर्ष मुनिका यूवाहरुलाई दिनु पर्ने बताए । उनले संबैधानिक निकायमा नियूक्तीमा पूर्व सचिव भन्ने ब्यवस्था हटाउनु पर्ने भन्दै यूवाशक्तिलाई विदेशिनबाट रोक्न लोकतान्त्रिक संविधान छिटो भन्दा छिटो आउनु पर्नेमा जोड दिए ।
खतिवडाले उपयूक्त यूवा नीति ल्याएर मुलुकको निर्माणमा यूवा परिचालन गर्नु पर्नेमा जोड दिदै आगामि संविधान यूवा मैत्री हुनु पर्ने धारणा राखे ।
नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले नेपालको हरेक परिवर्तनमा यूवाको भूमिका निर्णायक हुने गरेको उल्लेख गर्दै यूवाहरुको विषयमा धेरै बहस भए पनि राजनीतिक परिवर्तन पछि सबैले विर्सने गरेको गुनासो गरे ।
यूवाहरुलाई राजनीतिमा गोलबन्ध गरिए पनि सृजनात्मक शक्तिको रुपमा निर्माण गर्न नसकेको भन्दै यूवा आन्दोलनलाई गलत सोच र ब्यवहार भन्दा माथि उठाउन नसकेको आरोप लगाए ।
उनले अबको केन्द्र यूवा उद्यमशिलता हुनु पर्ने भन्दै यूवहरुलाई रोजगार माग्ने भन्दा पनि दिने अवस्थामा पुर्याए मात्रै देशको विकास हुन सक्ने दावी गरे ।
एकीकृत नेकपा माओवादीका सभासद गणेशमान पुनःले नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा यूवाहरुको निर्णायक भूमिका रहने र मुलुकमा ५ खर्व भन्दा बढी रेमिट्यान्स भित्राए पनि नेपालमा उपयूक्त यूवा नीति बन्न नसकेकोमा खिन्नता ब्यक्त गरे ।
उनले यूवालाई देश निर्माणमा लगाउन आवश्यक रहेकोमा जोड दिदै एक यूवा आयोग गठनको प्रस्ताव गरे ।
नेकपा मालेका सभासद अईन्द्र सुन्दर नेम्वाङ्गले दलका यूवा नेताहरुलाई बाईपास गरेर गैरसरकारी सस्थाका यूवाहरुले मात्रै अभियान सञ्चालन गरेर केही हुन नसक्ने भन्दै राजनीतिक दल र गैससका यूवाहरु मिले र अघि बढ्न सके यूवा अधिकार सुनिश्चित हुने दावी गरे ।
उनले यूवालाई रोजगार र रोजगार विहीनलाई बेरोजगार भत्ताको ब्यवस्थालाई मौलिक हकमा राख्नु पर्ने भन्दै साउन भित्र संविधान जारी गर्न सके अराजकता र बेथितिको अन्त्य हुने विश्वास ब्यक्त गरे ।
अनकनका कार्यक्रम संयोजक राजेन्द्र गिरीले लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा यूवाहरुको नेतृत्व क्षमता विकास हुन नसकेको भन्दै तत्काल स्थानीय निकायको निर्वाचनमा जोड दिए ।
प्रतिक्रिया