काठमाडौं, २२ साउन । सीमांकनको विषयमा दलहरू सहमतिको नजिक पुगेका छन् । ६ प्रदेशमा सहमति भएपनि सीमांकनका विषयमा सहमति जुट्न नसकेपछि गम्भिर छलफलमा रहेका दलहरू सहमति नजिक पुगेका हुन् । दलहरूबीच बिहिबार राती अबेरसम्म भएको छलफल र आज भइरहेको छलफलका क्रममा दलहरू सहमति नजिक पुगेको स्रोतको दावी छ । आज बेलुकासम्म सबै टुङग्याएर भोली संविधानसभाको बैठक बस्ने तयारी दलहरुले गरेका छन् । संविधानसभा सचिवालयले सूचना टाँस गरी आज बस्ने भनिएको बैठक शनिबार ३ बजेका लागि बोलाइएको जनाइएको छ ।
त्यस्तै यहि विषयका कारण संविधानसभाको बैठक पनि स्थगित भएको छ । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले सभाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएपछि संविधानसभाको बैठकमा समितिका सभापति बाबुराम भट्टराईले पेश गर्नेछन् । दलहरूबीच भएको सहमति अनुसार पूर्वाञ्चललाई यथावत् राखिने छ भने सप्तरीदेखी पर्साको भू-भागलाई दोस्रो प्रदेशमा समेटिने छ ।
भारतसँगको पहुँच जोड्नका लागि गोरखादेखि प्युठानसम्मको प्रदेशमा नवलपरासीको दाउन्नेलाई जोड्ने सहमति अन्तिम चरणमा पुगेको एक नेताले बताए । उनका अनुसार सीमांकनका क्रममा नवलपरासी मात्र टुक्रिने भएको छ । यस्तै, अन्य प्रदेशहरूमा पहिलेको सहमतिलाई कायम राखेर अगाडि बढ्ने सहमति भएको ती नेताले जनाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिराहा र सप्तरीलाई पूर्वको प्रदेशमा राख्ने र मकवानपुर र सिन्धुलीलाई दोस्रो प्रदेशमा राख्ने प्रस्ताव गरेपनि अन्य दलले स्विकार नगर्दा एमाले पछाडि सरेको छ ।
प्रतिक्रिया