म्याग्दी, २२ साउन । गत आव २०७१/७२ मा म्याग्दीमा २३ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कुल २३ हजार १८४ जना पर्यटकले गएको वर्षमा म्याग्दीको भ्रमण गरेका हुन्। यीमध्ये ११ हजार ८१८ पुरुष र ११ हजार ३६६ महिला पर्यटक रहेका छन्। जिल्लाको उत्तरी गाविस भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटक जिल्ला भित्रिने गरेका छन् । गएको आवमा सबैभन्दा धेरै कात्तिक र सबभन्दा कम जेठ महिनामा पर्यटक भ्रमणमा आएका थिए। त्यसैगरी आव २०७०÷७१ मा कुल ३१ हजार २४५ जना पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए। यीमध्ये १७ हजार ३४६ पुरुष र १३ हजार ९०८ महिला रहेका थिए । गत वर्षभन्दा अघिल्लो वर्षमा आठ हजार ७० जना बढी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए।
भ्रमणमा आउने अधिकांश पर्यटक घोडेपानी, पुनहिलको मनोरम दृश्यावलोकन गर्न, रामोन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको गाउँ नाङ्गी अवलोकन गर्न, धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा गर्न, धौलागिरि हिमाल आरोहण गर्न तथा तातोपानी कुण्ड स्नान गर्नलाई आउने गरेका छन् । त्यसैगरी कुहुँ गाविसको पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवम् मालिका मन्दिरको दर्शन गर्न र ती ठाउँबाट अन्य ठाउँको अवलोकन गर्नसमेत आउने गरेका छन् । भूकम्पपछि पर्यटकको सङ्ख्यामा कमी आएको होटल व्यवसायीले बताएका छन्। म्याग्दीमा पछिल्लो समय भूकम्प सँगसँगै गएको जेठ १० गते बैँसरीमा पहिरो गएर कालीगण्डकी नदी थुनिनुले पनि जिल्ला भित्रिने पर्यटकको सङ्ख्यामा कमी आएको म्याग्दी होटल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताए। उनका अनुसार भूकम्पका कारण आन्तरिक तथा बाह्य पर्यटक आवागमन पनि समस्या आएको हुँदा होटल व्यवसाय शून्यजस्तै भएको छ । रासस
प्रतिक्रिया