ॐ असतोमा सद्गमय । तमसोमा न्योतिर्गमय ।। मृत्योर्मामृतं गमय ।।।
– उपनिषद्
देशमा अहिले धार्मिक विषयमा गरमागरम बहस चलिरहको छ । धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र हिन्दु धार्मिक राज्यको त्रिवेणीमा उभिएको छ अहिले नेपाल । नेपालको आगामी बाटो के हुने र कता जाने भन्ने छिनोफानो छिट्टै पाउनुपर्छ देशले । धर्म मानव सभ्यताको विकासमा गहन महत्व बोकेको तर संकीर्ण मानिसहरूको चपेटामा परेर संकुचित हुन बाध्य भएको विषय हो ।
भनिन्छ, परिवर्तन प्रकृतिको नियम हो । समय अनुसार परिवर्तन हुन नसक्ने र नजान्ने व्यक्ति होस् वा जुनसुकै अस्तित्व होस् त्यसले लोप हुनै पर्दछ । उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन, २०४६ र २०६२/६३ को नेपालको परिवर्तनलाई नै हेरौं न । २०४६ मा देशको सर्वेसर्वा भएर बसेको सत्ताले परिवर्तनलाई स्वीकारेकाले आफ्नो अस्तित्वको रक्षा गर्न सक्यो, तर २०६२/६३ मा सर्वेसर्वा हुने अभियानमा लागेको सत्ताले परिवर्तनलाई आत्मसात गर्न सकेन र पतनको बाटो जान बाध्य भयो ।
गहिराइमा पुगेर इतिहासको अध्ययन गर्ने हो भने यसको घुमाउरो गति देख्न सकिन्छ । इतिहास किन घुमाउरो गतिमा गतिशील छ भन्ने कुराको उत्तर उन्नान्सय दशमलव नौ प्रतिशत इतिहासकारहरुलाई पनि थाहा नहुन सक्छ । यसले इतिहासको लक्ष्यलाई स्पष्ट पर्दछ । प्रत्येक घुमाइमा यसको केन्द्रीय अक्ष फरक फरक भएको भेटिन्छ । एकपटक अक्षमा स्थापित भएको व्यक्ति वा समूह सधै अक्षमै स्थापित भइरहन पाए हुन्थ्यो भन्ने चाहना राख्दछ । तर लक्षित समयमा लक्षित जिम्मेवारी पूरा गर्न नसकेपछि त्यसको अस्तित्वको कुनै मूल्य रहँदैन र त्यही जिम्मेवारी अर्को कालखण्डमा अर्कोले पाउँदछ । एकपटक स्थापित भएपछि मेहनत गर्न लत्तो छाड्दै जाने र पदमा चाहिँ स्थापित भइराख्ने बानी भएका व्यक्तिबाट संसार आक्रान्त छ । यही सत्य संसारका धर्महरूमा पनि लागु हुन्छ ।
धर्मको काम व्यक्तिलाई असल बनाउनु हो । असल व्यक्ति नै असल परिवार, असल समाज, असल राष्ट्र र असल विश्व ब्रह्माण्ड निर्माणको आधारशिला हो । धर्म कर्मकाण्ड होइन बरु परम्परा हो, शिक्षा हो, नीति हो, अमृत हो, ज्योति हो र संविधान हो । तर यति ठूलो जिम्मेवारी भएको धर्महरूका व्यवस्थापक (मेनेजर) हरू अकूत सम्पत्ति थुपार्नु र ड्यूकको जीवनशैली बाँच्नु लाई नै आफ्नो केन्द्रीय लक्ष्य सम्झेर हिंडिरहेका छन् । धर्म आफैंमा रित्तो कागज हो त्यसमा चित्र कोर्ने र रंग भर्ने काम मानिसकै हो । धर्ममा उल्लेख भएको कुनैपनि राम्रो कुराले मानिस र समाजलाई त्यतिकै राम्रो बनाउने होइन । बरु त्यसलाई अभ्यास गरेको खण्डमा त्यो प्राप्ती हुने हो ।
धर्मको खोल ओढेका अनैतिक र पतित धर्मगुरुहरुकै कारण संसारमा र सबै युगमा धर्मको बदनाम मात्र भएको छैन मानिसमा यसप्रति वितृष्णा समेत पैदा भएको छ । पश्चिम यूरोपको इतिहास साक्षी छ ( जहाँ सन् ८०० मा चार्लेम्याग्नेको शासनकालमा पवित्र रोमन साम्राज्य भन्ने भीमकाय साम्राज्य स्थापना भएको थियो । त्यो नै इशाईहरूको पहिलो एकीकृत अधिराज्य (क्रिष्चियन्डम) थियो । तर त्यसको एकसय बीस बर्ष बित्न नपाउँदै सन् ९१९ मा चार्लेम्याग्नेका पनातीहरूको पालामा त्यो अधिराज्य तीन टुक्रामा खण्डित हुन पुग्यो । त्यसपछि उनीहरूमा यति बिघ्न बिक्रितिहरू मौलाए कि त्यसको आधा शताब्दी मै दण्डमोचन पत्र बेच्ने देखि गिर्जाघरहरू नै किनबेच हुने सम्मका क्रियाकलापहरू भए र त्यसको बिकल्पमा प्रोटेष्टान्टिज्म आयो । अहिले त्यही भूमिमा संसारमा सबैभन्दा बढी नास्तिक व्यक्तिहरू छन् । कार्ल मार्क्स जस्ता भौतिक दर्शनका प्रणेता त्यही जन्मे । कार्ल मार्क्सको उदय हुनुमा तिनै धर्मभीरुहरू फेरी पनि पटक-पटक दोषी छन् । सही गलत जे भएपनि भौतिकतामा आधारित दर्शनले संसारको ७० प्रतिशत भूभागमा झण्डैं ७० बर्ष नै आफ्नो अधिपत्य कायम गर्न सफल भयो ।
तिनै धर्मभीरुहरूको मानिसले मानिसको खरिद बिक्री गर्ने, मानिस मानिस बीच भेदभाव गर्ने, जसरी भएपनि आफू स्थापित र धनी बन्ने जस्ता गलत कार्य हुँदा पनि देखेको नदेख्यै गरी हेरेर बस्ने र निर्धा र निमुखा मरेको म¥यै हुने कार्यले गर्दा मानिस मानिस बीचमा भेदभाव गर्ने ईश्वर पनि कतै हुन्छ भन्दै नित्सेले ईश्वर मरिसकेको घोषणा समेत ग¥यो । यसरी धर्मभीरुहरूको गलत कर्तूतले निर्दोष ईश्वरलाई पनि मानिसहरूले मरेको घोषणा गरे ।
अहिले नेपाल त्यही स्थितिबाट गुज्रन पुगेको छ । वैदिक सनातन धर्म हुँदै पछि हिन्दु धर्मको रुपमा विकास भएको र यही धर्मको वर्चस्व रहेको नेपालमा धर्मको नाममा निकै हंगामा मच्चिइरहेको छ । केही समय यता यहाँ मौलाएको स्वेच्छाचारिता छताछुल्ल भएको छ । दशौंलाख अनुयायीहरू भएको धार्मिक झुण्डको अगुवा अबोध बालिकाको वलात्कार काण्डदेखि आफ्नै अनुयायीको हत्यामा समातिनु सम्पूर्ण धर्मावलम्बी र आस्थावान् मानिसहरूका लागि पीडादायी मात्र नभई लज्जास्पद कुरा हो । आफू गाईको दुधले नुहाउने र त्यही नुहाएर जम्मा भएको दुधमा पकाएको पायस (खीर) प्रसाद बनाएर अनुयायी (भक्तजन) हरूलाई खुवाउने लगायतका हर्कत यहाँका धर्मभीरुहरूबाट पनि हुँदै आइरहेको विषय बाहिर आएका छन् ।
मानिस आत्मिक अस्तित्व भएकाले ऊ आध्यात्मिकताबाट बिमुख रहन सक्तैन । आत्मिक पक्ष मानिसको भित्री स्वभाव वा गुण हो । यसलाई चर्मचक्षुद्वारा देख्न सकिँदैन । यसलाई अनुभूति गर्नका लागि आध्यात्मिक साधनाको आवश्यकता पर्दछ । यो साधना अगुवाहरुले मात्र होइन कि कुनै अपवाद बिना सबै मानिसले गर्नुपर्दछ । त्यसलाई अभ्यास गरेर उदाहरणको रुपमा प्रश्तुत गरी जनसाधारणलाई सजिलो पु¥याइदिनु धार्मिक अगुवाहरूको काम हो । तर धेरैजसजो धर्मका अगुवाहरू राम्री देखेजति नारी अनुयायीहरूलाई श्रीमती बनाउने, अकूत सम्पत्तिको मालिक बन्ने देखि लिएर राजनीतिक पहुच स्थापना गरी मनपरी गर्दे हिँड्ने कार्य गरिराखेका छन् । यस्ता गैरजिम्मेवार व्यक्तिहरूका कारण धर्मप्रतिको श्रद्धा घट्दै गइरहेको हो तर आध्यात्मिकता सत्य हो ।
अहिले नेपालमा पनि धार्मिक अस्तित्व रक्षाका लागि सडक अवरुद्ध पार्ने, धम्क्याउने देखि पिट्ने र आमजनमानसमा दुःख र चोट पुग्ने जस्ता कार्य धर्मभीरुहरूबाट भइराखेका छन् । यसबाट यो सिद्ध हुन आउँछ कि अहिलेका धर्म पानीबिनाका नदी जस्तै हुन् । असल व्यक्तिले म असल छु भनेर कसैसँग भन्दै हिँडिराख्नु पर्दैन । धर्मको काम खराबलाई असलमा रुपान्तरण गर्नु हो । धर्मको यो मिसनमा करीब करीब सबैजसो धर्महरू असफल सिद्ध भइसकेकाले यसको विकल्पको खोजी हुनु नौलो विषय होइन । निर्विकल्प अस्तित्व केवल ईश्वर मात्र हो । अन्य सबै वस्तुको विकल्प हुन्छ । असल कामलाई निरन्तरता दिईराखेको खण्डमा अवश्य पनि त्यो व्यक्ति सधैं पूजनीय नै हुन्छ । यसअर्थमा नेपाल पनि कुन धर्मको अगुवाइमा चल्छ वा चल्दैन भन्ने कुरा तिनीहरूले प्रदर्शन गर्ने गुणात्मक कार्यमा निर्भर गर्दछ । यसका लागि ठूलो शंखनाद गर्नु कुनै आवश्यक छैन । धर्मले भन्दछन् कि, “कर्म गर फलको आशा नगर ।”
प्रतिक्रिया