काठमाडौं, २१ साउन । चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स रिसोर्टमा गणतन्त्र नेपालका विषयमा ‘गम्भीर’ बहस भयो, बहसमा आमने–सामने थिए पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस शाह र कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी । पारसले गणतन्त्र नेपाल के हो, गणतन्त्र स्थापना गर्न गिरिजाप्रसाद कोइरालाको भूमिका के छ, गणतन्त्रमा नेपालको विकास कसरी हुन्छ भन्नेजस्ता प्रश्नमा रुबेलसँग भद्र शैलीमा जिज्ञासा राख्दै गए । बंगलादेशी नागरिक रुबेलले नेपालको गणतन्त्रको बारेमा व्याख्या गर्दै गएपछि पारसको पारो चढ्यो, आफ्नो कोठामा गएर पेस्तोल निकाले र फायर गर्न थाले । रुबेल भागे, उनले नै प्रहरीलाई दिएको बयानअनुसार निकुञ्जभित्रका एउटा रूखबाट अर्को रूखमा आड लाग्दै ज्यान बचाए । मध्यरातसम्म यसरी भागेपछि बिहान उनले प्रहरीलाई उजुरी दिए । यता सासू देशकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिइन् । रुबेलले चितवन जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पूर्वयुवराज पारसमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता भयो । तर, त्यतिन्जेलसम्म पारस साथीहरूसहित पोखरा पुगिसकेका थिए । पोखराको फूलबारी रिसोर्टको कोठा नं। ३०१ मा बसिरहेका पारसलाई पक्राउ गरेर चितवन जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइएको थियो ।
गिरफ्तारी छल्न पारसले यसो पनि गरे
आफूलाई पक्राउ गर्न फूलबारी रिसोर्ट पुगेको प्रहरीलाई पारसले सुरुमा स्वास्थ्य कमजोर रहेको भन्दै चिकित्सक ल्याएपछि मात्रै जाने बताए । प्रहरीले ‘गण्डकी अञ्चल अस्पतालका क्षेत्रीय प्रमुखलाई नै सँगै लिएर जाने र स्वास्थ्यको रेखदेख गर्ने’ बतायो । त्यसपछि पारसले ‘वकिल झिकाइदिन’ आग्रह गरे । प्रहरीले सम्झाउँदै जवाफ दियो, ‘पोखरामा वकिलको कामै छैन, चितवनमै बोलाउनुस् ।’ तीन घन्टापछि प्रहरीसमक्ष पारसको नयाँ माग आयो, ‘मेरो स्वास्थ्य ठीक नभएकाले गाडीमा जान्नँ, हेलिकोप्टरमा लैजानुपर्छ ।’ प्रहरीले भन्यो, ‘फौजदारी अभियोग लागेको व्यक्तिलाई सरकारी सुविधामा हेलिकोप्टर उपलब्ध हँुदैन ।’ पारसले भने, ‘हेलिकोप्टरको खर्च मै तिर्छु, मगाइदिनुपर्यो ।’काठमाडौंबाट उडेको हेलिकोप्टर रिसोर्ट परिसरमै ओर्लियो, तर तेस्रो तलामा बसेका पारस ओर्लिएनन् । बरु, ‘भोकाएको छु, स्यान्डविच खान्छु’ भन्न थाले । प्रहरीले आग्रह स्वीकार गर्यो । स्यान्डविच खाइसकेपछि पारसले ‘थोरै भुजा पनि खान्छु’ भने । प्रहरीले त्यसमा पनि मञ्जुरी जनायो । भुजा आएको केही बेरपछि पारसले ‘सावर’ लिन टाइम मागे । प्रहरीले ‘ठीक छ’ भन्यो । ‘सावर’ लिएपछि चुरोट तान्दै बसिरहे । त्यसपछि पनि पारस घरि प्रहरीलाई ‘पख्नोस्, तपाईंलाई प्रधानमन्त्रीको फोन आउँछ’ भन्थे त घरि ‘प्रधानमन्त्रीले नगरे गृहमन्त्रीले फोन गर्छन्’ भनेर आलटाल गर्थे । पारसको आनाकानीले हैरान भएको प्रहरीले ‘१० मिनेटभित्र बाहिर ननिस्किए कोठाभित्रै आएर पक्राउ गर्ने’ चेतावनी दिएपछि पनि पारसले दुईवटा सर्त अघि सारे । पहिलो ‘होटलको लबीमा भएका सबै प्रहरी हटाइदिन’ र दोस्रो, ‘हत्कडी नलगाउन ।’ भाग्ने सम्भावना नभएकाले प्रहरीले पारसको सर्तमा सहमति जनाउँदै ‘हुन्छ’ भन्यो । र, हेलिकोप्टर चढाएर चितवन पुर्यायो । -नयाँपत्रिका
प्रतिक्रिया