विवादमा तानिए अध्यक्ष महेन्द्र विष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार ०७:३२
काठमाडौं, २१ साउन  । ‘इमेज’ मिडियामा कार्यरत पत्रकार र कर्मचारी शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा नेपाल पत्रकार महासंघले त्यस घटनाका सम्बन्धमा जारी गरेको विज्ञप्ति धम्कीपूर्ण भएको नेपाल प्रेस युनियनको आरोप छ ।
महासंघका महासचिवका नाममा यही साउन १८ गते जारी विज्ञप्तिले श्रमजीवीका पक्षमा वकालत गर्नाको सट्टा उनीहरूको विरोधमा वक्तव्यवाजी गरेर नेपाली पत्रकारको शिर झुकाउने काम भएको युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इमेज न्युज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई कामबाट हटाइएको विरुद्धमा पुनःस्थापनाको माग गर्दै त्यहाँ कार्यरत पत्रकार र कर्मचारी आन्दोलनमा छन् । योगीमाथि समाचार संकलनका क्रममा तस्बिर खिच्न खोज्दा यही साउन ११ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालमा खटिएका सुरक्षाकर्मीले दुव्र्यवहार गर्नाका साथै क्यामेरा समेत तोडफोड गरेको दोषारोपण गरिएको छ ।

घटनाका सम्बन्धमा योगीले इमेज च्यानलका समाचार प्रमुख एवं महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टलाई जानकारी गराएको र इमेज टेलिभिजनका संवाददाताले समाचार बनाए पनि विष्टले समाचार प्रसारणमा रोक लगाएको युनियनको ठहर छ ।

अन्य सञ्चारमाध्यममा आएका समाचारमा स्वयं विष्टको नाम मुछिएपछि उनको समेत स्वामित्वमा रहेको वाग्मती मिडिया प्रालि अन्तर्गत सञ्चालनमा रहेको इमेज न्युज एफएमबाट हटाइएको योगीले दाबी गरेको युनियनले जनाएको छ ।

तथ्यहरूले समाचार प्रमुखको हैसियतसँगै महासंघका सभापति विष्ट बागमती मिडिया प्रालिअन्तर्गत सञ्चालनमा रहेको इमेज न्युज एफएमका सेयरहोल्डरसमेत रहेको अवस्थामा उनको व्यवस्थापकीय र मालिकको दोहोरो भूमिका देखिन्छ – विज्ञप्तिमा भनिएको छ ।

इमेज ग्रुप अफ कम्पनीका पत्रकार तथा कर्मचारीले राखेका माग सम्बोधन गर्न पहल गर्नुपर्नेमा उल्टै पत्रकार र कर्मचारीलाई ध्रुवीकरण गरेर महासंघको नेतृत्वले गम्भीर त्रुटि गरेको छ – विज्ञप्तिमा उल्लेख छ ।

अन्य समाचार संस्थामा पत्रकारको आन्दोलनमा प्रहरीको उपस्थितिको विरोध गर्ने महासंघका अध्यक्षले इमेजमा भने सुरक्षाकर्मीको उपस्थित गराएर पत्रकार र कर्मचारीलाई मानसिक दबाब दिने काम भएको भनी युनियनले विरोध गरेको छ । युनियनले योगीलाई तत्काल पुनःस्थापना गर्न र पत्रकार तथा कर्मचारीको मागको सम्बोधन वार्ता र संवादका माध्यमबाट खोज्न इमेज व्यवस्थापनसँग आग्रह गरेको छ ।

स्रोत – अखबार नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१