काठमाडौं, २० साउन । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदीलाई मुख्य सचिवमा बढुवा गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताको दोश्रो नम्बरमा रहेका सुवेदीलाई निजामति सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा बढुवा गरेको हो। खरिदारबाट निजामति सेवामा प्रवेश गरेका सुवेदी २०६८ वैशाख १ गते सचिव पदमा बढुवा भएका थिए। २०३८ सालमा कृषि विकास कार्यालयमा सह लेखापालबाट निजामति सेवामा प्रवेश गरेका सुवेदी लेखापाल, शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा बढुवा भएका थिए ।
उनले लामो समयसम्म स्थानीय विकास मन्त्रालयमा काम गरेका थिए भने केही जिल्लामा स्थानीय विकास अधिकारीको रूपमा समेत काम गरेका थिए । उनले अर्थ मन्त्रालयको वैदेशीक सहायता समन्वय महाशाखाका उपसचिव तथा सहसचिव समेत भएर काम गरिसकेका छन् । उनले विदेशी दातृ निकायका साथै आईएनजीओहरूसँग निकै निकट रहेका काम गरेका थिए । विदेशी दातृ निकाय र आईएनजीओहरूसँगको निकट भएर काम गरेका कारण उनले अन्तराष्ट्रीय सम्बन्धलाई पनि थप मजबुत बनाउन सफल भए भने अन्तराष्ट्रिय स्तरमा समेत आफूलाई प्रस्तुत गर्न सफल भएका थिए । उनले यही माध्यमबाट धेरै पटक विदेश भ्रमणको मौका समेत पाएका छन् । उनका निकटमा रहेर काम गरेकाहरुले पनि उनलाई विदेश भ्रमणको तल नै लागेको समेत भन्ने गरेका थिए । उनी जुनसुकै जिम्मेवारी निर्वाह गरिरहेपनि उनी दातृ निकायका कार्यक्रममा पुगेकै हुन्थे । विदेशी दाता र आईएनजिओसँगको हिमचिमका कारण पनि उनलाई विदेशी दाताका एजेन्डाप्रति आशक्त भएको आरोप समेत लाग्ने गरेको छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र हालको श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्। डा सुवेदीले मन्त्रिपरिषद् सचिवालयमा सहसचिव, स्थानीय विकास मन्त्रालय (स्थानीय निकाय वित्तीय आयोगको सदस्य सचिव) को जिम्मेवारी पनि सम्हालिसकेका छन्। सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालयमा (२०५३ जेठदेखि २०५९ असारसम्म) उपसचिव र सुर्खेत, नवलपरासी, काभ्रेपलाञ्चोक र बाग्लुङ गरी चार जिल्लामा स्थानीय विकास अधिकारीसमेत भई कार्य गरेको डा सुवेदीको अनुभव छ ।
सुवेदीलाई निजामति सेवा एनको दफा १९ को २ क अनुसार जेष्ठता र कार्यकुशलताका आधारमा मुख्य सचिवमा बढुवा गरिएको हो।
प्रतिक्रिया