काठमाडौं, २० साउन । भूकम्प प्रभावित वृद्धवृद्धालाई पनि दाताले महिनावरी हुँदा प्रयोग हुने स्यानेटरी प्याड बाँडेपछि टोक्नु न बोक्नु भएको छ । राहतमा चामलको आशा गरेर शिविरमा बसेका उनीहरुलाई स्यानेटरी प्याड बाँडेपछि यस्तो अवस्था आएको हो । भूकम्प पीडितको शिविरमा राहत बाँड्न पुगेको युनिसेफले दूधपाटी नजिकै रहेको नःपुखुको किनारामा शिविर बनाएर बसेका बृद्धा महिला र पुरुषलाई स्यानेटरी प्याड बाँडेको हो । शिविरमा रहेकी ७८ वर्षकी शान्ता श्रेष्ठले राहतका नाममा आउने यस्ता सामानको सट्टा खानेकुरा र लगाउने कुरा ल्याईदिए सजिलो हुने बताए ।
युनिसेफले साबुन, ब्रस, मन्जन, रुमाल, काँइयो र स्यानेटरी प्याड दिएपछि शिविरका ज्येष्ठ नागरिक र पुरुषले असन्तुष्टी जनाएका हुन् ।शिविरमै रहेकी ७० वर्षीया विष्णुदेवी व्याञ्जुले शिविरमा खानेकुरा ल्याइदिए प्रभावकारी हुने बताइन् । ‘मनमा धेरै पीर छ, खुसी कतै छैन, दिनभरि शिविरमा बस्दा के खाउँ के खाउँ लाग्छु, उनले भनिन्, ‘बरु खानेकुरा ल्याएदिए खान पाइन्थ्यो ।’ शिविरमा बस्दै आएकी ६७ वर्षकी पदमसुन्दरी बाटीको गुनासो पनि उस्तै छ । जस्ताको शिविरमा छानो प्वाल परेकाले राति चिसो भएर जाडो हुने बताउँदै उनले बरु जाडोमा ओढ्ने सामान दिएको भए हुने बताइन् ।
प्रतिक्रिया