काठमाडौं, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन्। संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाए। कोइरालाले भने, ‘प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छौं । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।’ उनले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राखे ।
‘हामी प्रमुख दलका सबै नेताहरू केहीदिन यता बिहानदेखि बेलुकासम्म सबैका धारणा मिलाएर सहमति जुटाउँदै संविधान बनाउन लागिरहेका छौं,’ कोइरालाले भने। केही सत्तापक्ष र विपक्षी दलका नेताहरूले कोइराला सत्तामा लामो समय बसीरहेर संविधानका विवादित विषयमा तत्काल सहमति जुटाउन नखोजेको आरोपको खण्डन गर्दै कोइरालाले भने, ‘म र मेरो दल सत्ता लम्ब्याउन लागेको कुरा सरासर गलत हो। म जतिसक्दो चाडो यो मुलुकमा नयाँ संविधान बनाएर सत्ताबाट बाहिरिन चाहन्छु।’
प्रतिक्रिया