काठमाडौं, १९ साउन । वैदेशिक रोजगारसम्बन्धी ठगीमा प्रहरीले पक्राउ गरे पनि वैदेशिक रोजगार विभागका घुस्याहा कर्मचारीहरूले साधारण तारेखमा रिहा गरेकी प्रख्यात ढुकुटी कारोबारी माया भनिने फुलमाया कार्की फेरि चेक अनादरको मुद्दामा पक्राउ परेकी छन्। स्रोहखुट्टे प्रहरीले पक्रिएर उनलाई हनुमानढोका बुझाए पनि त्यहाँका प्रहरीले भने ठगिनेहरूलाई नै मिलापत्र गर्न दबाब दिँदै कार्कीलाई उन्मुक्ति दिने प्रयास गरेका छन्। १ करोड रुपियाँभन्दा बढीको नक्कली चेक दिएर फुलमायाले अम्बिका शाह, पद्मा आचार्य सुवेदी, निरु अधिकारी, सुशीलाकुमारी राजवंशी, दुर्गाकुमारी सिंह, मिनु शाहीलगायतका व्यक्तिहरूलाई झुक्याएकी हुन्। उनले अमेरिका लान्छु भन्दै उनीहरूबाट सो रकम असुल गरेको एक पीडितले बताए।
कार्की ठगी मुद्दा लिएर पुनरावेदन अदालत पाटन पुगी आफूलाई अन्याय भयो भन्दै अन्तरिम आदेश जारी गराउन लागे पनि अदालतले अन्तरिम आदेश जारी नगरेपछि प्रहरीलाई कार्कीलाई पक्रन बाटो खुलेको थियो। तर, पीडितलाई दिनभरि हनुमानढोका बोलाएर आपसमा मिल्न दबाब दिइएको बताइन्छ। एकपछि अर्को पीडितहरू थपिँदै प्रहरीकहाँ गएपछि कारबाही अघि बढाउन प्रहरी बाध्य भए पनि केही दिनका लागि मात्र म्याद थपिएको बताइएको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी चक्रबहादुर सिंहलाई यस विषयमा सोध्दा आफू कार्यालयबाहिर रहेको भन्दै उम्किए भने मुद्दा शाखाका डीएसपी रमेश बस्नेतले पनि मिसिल नहेरी उनका बारेमा केही बोल्न नमिल्ने जवाफ दिए। -वुधबारबाट
प्रतिक्रिया