एमाले नेताका श्रीमतीहरुले कमाउँछन् लाखभन्दा बढि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १३:४७

काठमाडौं । नेकपा (एमाले)का युवा नेताको आम्दानी–स्रोत देखिँदैन । यद्यपि उनीहरूको जीवनशैली सामान्यभन्दा माथि नै देखिन्छ । उनीहरूका छोराछोरी पनि राम्रै स्कुलमा पढ्छन् । अनि, काठमाडौंमा घर–घडेरीको जोहो पनि भएकै देखिन्छ । तर, उनीहरूलाई भ्रष्टाचारको दागले छोएको पनि भेटिँदैन । के हो उनीहरूको आम्दानीको स्रोत ? कसरी चल्छ हाइफाई जीवन शैली ? एमाले युवा नेता सुरेन्द्र पाण्डे, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराई, पूर्वसचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य अरुण नेपाल र जगन्नाथ खतिवडाकी श्रीमति महिनामा लाख कमाउँछिन् । श्रीमतिको आम्दानीबाट उनीहरुको राजनीति चलिरहेको छ ।

aamaleएमाले युवा नेताको आम्दानीको स्रोत गैरकानुनी होइन । न त कुनै उद्योग व्यवसाय हो । आम्दानीका स्रोत हुन्, पत्नीहरू । प्रायः एमाले नेताका पत्नी पढे–लेखेका र राम्रो आम्दानी गर्ने ठाउँमा छन् । धेरै युवा नेताकी पत्नीले महिनामा लाख कमाउँछन् । त्यही कमाईबाट युवा नेताको हाइफाई र राजनीति चलेको छ । श्रीमतीको आम्दानीमा राजनीति गरेर राजनीतिमा सफल हुने एमाले नेताको सूची लामै छ । एक एमाले कार्यकर्ता भन्छन्, ‘उहाँहरूको आम्दानी गैरकानुनी छैन । पत्नीको आम्दानीमा राजनीति चलेको छ ।’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री हुँदा निकै कुशलतापूर्वक पद सम्हाले । उनी भ्रष्टाचारमा मुछिएनन् । किनभने, उनलाई घर–गृहस्थीको चिन्ता छैन । उनी निष्फिक्री राजनीतिमा लाग्छन् । घर–व्यवहार भने श्रीमती पूर्णशोभा चित्रकारले हेर्छिन् । एउटा सामाजिक संस्थामा काम गर्ने चित्रकारको मासिक आम्दानी करिब डेढ लाख छ । पाण्डेको राजनीतिक जीवन श्रीमतीकै कमाइबाट चलेको छ ।
एमालेसचिव गोकर्ण विष्टको राजनीति पनि पत्नीकै आम्दानीबाट चलेको छ । श्रीमती प्रतिमा श्रेष्ठको आम्दानीले विष्टलाई राजनीतिमा गर्न सजिलो भएको छ । श्रेष्ठले बिहान झिसमिसेदेखि साँझसम्म कलेज पढाउँछिन् । सुरुका दिनमा उनी सरकारीदेखि निजी कलेजसम्म पढाउने गरेको उनी निकटले बताउँछन् । श्रेष्ठको आम्दानी पनि मासिक लाखभन्दा माथि छ । अर्का सचिव योगेश भट्टराईकी पत्नी पनि पेसाले स्वास्थ्यकर्मी हुन् । सरकारी सेवामा रहेकी उनले पनि सुरुका दिनमा धेरै मिहिनेत गरेर आर्थिक उपार्जन गरिन् । राजनीतिमा लागेका श्रीमान्को कुनै नियमित आम्दानी नभएपछि उनले रातदिन कलेज र स्वास्थ्य संस्थामा काम गर्ने गरेकी छिन् । भट्टराई पत्नीको आम्दानी पनि लाखभन्दा माथि नै छ ।

त्यस्तै, राजनीतिमा पनि सक्रिय सुजिता शाक्य एमाले नेता तथा पूर्वसचिव शंकर पोखरेलकी श्रीमती हुन् । पारिवारिक रूपमा सम्पन्नशाली भए पनि पोखरेलको राजनीति शाक्यकै भरमा चलेको छ । शाक्य पेसाले स्वास्थ्यकर्मी हुन् भने विभिन्न सामाजिक संस्थामा पनि कार्यरत छिन् । उनको आम्दानी पनि अन्य एमाले नेता पत्नीभन्दा राम्रो छ । त्यस्तै, एमाले पोलिटब्युरो सदस्य अरुण नेपालकी श्रीमती सम्झा श्रेष्ठले पनि राम्रै आम्दानी गर्छिन् । उनी एमालेकै कार्यकर्तालाई रोजगारी दिने संस्थाको नाममा परिचित इन्सेकमा कार्यरत छन् । जहाँ उनले वैधानिक तलब–भत्ता राम्रै पाउँछिन् । नेता जगन्नाथ खतिवडाकी श्रीमतीले बैंकमा काम गर्छिन् । खतिवडालाई राजनीति गर्न सामान्य खर्चको चिन्ता गरिरहनुपर्दैन । एमालेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालका श्रीमती पनि सरकारी जागिरे नै हुन् । नेपालपत्नी सरकारी बैंकमा र खनालपत्नी सरकारी कलेजमा कार्यरत छन् । त्यस्तै, एमाले नेता प्रदीप नेपालकी पत्नी झुमा देवानले निजी विद्यालय सञ्चालन गरेकी छिन् । पछिल्ला दिनमा अन्य व्यवसायमा पनि लागेका कारण आर्थिक समस्यामा नेपाल परिवार रहेको जानकार बताउँछन् । एमालेका धेरै नेता कार्यकर्तालाई संरक्षण गर्ने संस्थाका रूपमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) पर्दछ । यस संस्थामा धेरै एमाले निकट व्यक्तिले काम गरेका छन् । राजनीतिमा लागेका एमाले युवानेताहरूले पनि खासै आर्थिक अनियमितता गरेको समाचार बाहिरिएको छैन । -यस काठमाडौंबाट

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१