काठमाडौं, १५ साउन । भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्ने तामाङ हेरिटेज ट्रेल पर्यटकका लागि सुरक्षित रहेको उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले बताएका छन् । तामाङ हेरिटेज ट्रेलका सम्बन्धमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा तामाङ हेरिटेज ट्रेल होटल व्यवसायी समितिका संयोजक फुर्प ग्याम्जो तामाङले ट्रेलअन्तर्गत स्याफ्रु, गत्लाङ, तातोपानी, नागथली, थुमन, टिमुरे र बृद्धिकका सम्पूर्ण मार्ग र होटल खान बस्नका लागि पूर्णरुपमा सुरक्षित भएको जानकारी गराए।
“तामाङ हेरिटेज ट्रेल छोटो समयमा तामाङ जातिको रहनसहन, सांस्कृतिक पक्ष, पुरातात्विक सम्पदा र विभिन्न हिमाल अवलोकन गर्न सकिने ट्रेल हो। नौ दिनमा पूरा गरिने यो टे«ल काठमाडौँको माछापोखरीदेखि त्रिशूली कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुवेशीसम्म गाडीमा पुग्न सकिन्छ”, उनले भने। ट्रेलअन्तर्गत दोस्रो दिन स्याफ्रुवेशीदेखि गत्लाङ पुग्न सकिन्छ । उक्त स्थानमा तामाङ संस्कृति तथा सम्पदा र पुराना पुरातात्विक घर हेर्न सकिन्छ। तेस्रो दिन गत्लाङदेखि तातोपानी पुग्न सकिन्छ। विभिन्न हिमशृङ्खलाको अवलोकनका साथै प्राकृतिक रुपमा रहेको तातोपानीमा नुहाउन पाइन्छ। यहाँ नुहाउँदा ग्याष्ट्रिक, नशा रोग र सम्पूर्ण चर्मादी रोग निको हुने गर्दछ। चौथो दिन तातोपानीदेखि नागथली जान सकिन्छ।
त्यहाँबाट लाङटाङ शृङ्खला १, तिब्बतको अग्लो हिमाल सिसापाङमा, गणेश हिमाल शृङ्खला, गोसाइँकुण्ड शृङ्खलालगायत अवलोकन गर्न सकिन्छ। त्यहाँबाट त्रुच्चे भ्यु पोइन्ट जान सकिने र त्यहाँबाट तिब्बतका विभिन्न गाउँ र हिमाल अवलोकन गर्न सकिन्छ । पाँचौँ दिन नागथलीदेखि थुमान पुग्न सकिन्छ । त्यहाँ विभिन्न हिमालको अवलोकनका साथै पुराना गुम्बा, तामाङ नाच, पुरातात्विक मानी, प्राचीन घरबस्ती हेर्न सकिन्छ । छैटौँ दिन थुमनदेखि टिमुरे पुग्न सकिन्छ । त्यहाँबाट तिब्बत बोर्डरका विभिन्न ठाउँ हेर्न सकिन्छ । सातौँ दिन टिमुरेदेखि बृद्धिम पुग्न सकिन्छ । त्यहाँबाट तिब्बतीयन संस्कृति हेर्नुका साथै घरबास ९होमस्टे० को अनुभव गर्न पाइन्छ । आठौँ दिन बृद्धिमदेखि स्याफ्रुवेशी जान सकिन्छ । त्यहाँबाट अत्यन्त मनमोहक हिमाली दृश्य हेर्न पाइने र नवौँ दिन स्याफ्रुवेशीदेखि काठमाडौँ प्रस्थान गर्न सकिन्छ । रासस
प्रतिक्रिया