पर्वत, १४ साउन । कुनै समय पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने राउण्ड अन्नपूर्ण पदमार्गमा पर्यटकीय गतिविधि शून्य बनेको छ । पर्यटक आउन छाडेसँगै यस क्षेत्रको व्यवसायमा समेत ह्रास आएको छ । बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा भूकम्प गएदेखि पर्यटक नआएपछि अहिले यस क्षेत्र सुनसान बनेको हो । पर्यटक आउन छाडेपछि यस क्षेत्रमा खोलिएका करोडौँ लगानीका होटल सुनसान बनेका छन् भने व्यवसायमा समेत नकारात्मक असर परेको छ । दैनिक सयौँ पर्यटकको आवागमन हुने यस क्षेत्रमा अहिले पर्यटक आउन छाडेसँगै व्यवसायी पर्यटकको बाटो कुरेर बस्न बाध्य बनेको स्थानीय होटल व्यवसायी दीलबहादुर गुरुङले बताए । राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलमा दैनिक रुपमा सयौँ पर्यटक ओहोरदोहोर गर्ने भए पनि अहिले पर्यटक आउन छाडेसँगै होटल व्यवसायसमेत सङ्कटमा परेको व्यवसायी बताउँछन् । यस क्षेत्रमा पर्यटक आएपछि कम्तीमा पाँचदेखि बढीमा १० दिनसम्म बस्ने गरेको भए पनि अहिले दुई महिनासम्म एक जना पर्यटक देख्न नपाएको होटल व्यवसायी कमला गुरुङले बताए ।
राउन्ड अन्नपूर्णका साथसाथै पर्यटकीय स्थल घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रमा जाने सयौँ आन्तरिक पर्यटक पनि आउन छाडेका छन् । मनसुन सकिएलगत्तै पर्यटकको आगमन ह्वात्तै बढ्ने गरेको भए पनि यस वर्ष त्यो खालको लक्षण नदेखिएको स्थानीय होटल व्यवसायी कमला गुरुङले बताउनुभयो । भूकम्पका कारण नेपाल असुरक्षित छ भन्ने नराम्रो सन्देश गएका कारण पर्यटक नआएको ट्राभल एजेन्ट एसोसिएसन अफ नेपाल वीरेठाँटीले जनाएको छ । सरकारले यो क्षेत्र सुरक्षित छ भन्ने विदेशीमाझ पु¥याउन सकेमा पर्यटक पुनःआउने भए पनि सरकारलेसमेत यसतर्फ चासो नदिएको स्थानीयवासीको भनाइ छ । यहाँबाट अन्नपूर्ण आधारशिविर र घोरेपानी, पुनहिल क्षेत्रको पदयात्रा मार्गमा जाने गर्छन् । याममा दैनिक ३०० को सङ्ख्यामा पर्यटक आउने गरेका छन् भने झन्डै २०० को सङ्ख्यामा आन्तरिक पर्यटकसमेत भ्रमणमा आउँछन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर सबैभन्दा उत्तम मौसम भएको भए पनि यस वर्ष भने पर्यटक आउने सम्भावना कम भएको भन्दै व्यवसायी चिन्तित बनेका छन् । रासस
प्रतिक्रिया