धनुषा,१३ साउन । पानीको मुहान सुकेपछि धनुषा जिल्लाको मिथिलेश्वर निकासमा खानेपानीको हाहाकार भएको छ । मिथिलेश्वर निकास वडा नम्बर ६, ७ र ८ मा मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । पूर्वी–उत्तरी क्षेत्रमा पर्ने ती गाविसमा खानेपानीको हाहाकार पहिलो पटक भएको स्थानीयहरुको भनाई छ । ती वडाको झण्डै साढे सात सय घरधुरीलाई खानेपानीको समस्या भएको वडा नम्बर–६ बस्ने आसमान नेपालका उमेश मण्डलले जनाए । मण्डलका अनुसार वडा नम्बर–६ प्रायः हैण्डपाइप सुकेको छ । मावि ललियाको प्राङगनमा रहेको हैण्डपाइपबाट ल्याएको पानीले दैनिक कामकाज चलाएको मण्डलले जनाए । वडा नम्बर–६ बासीहरु अहिले विद्यालयको हैण्डपाइपबाट काम चलाइरहेको उनले थपे । कहिल्यै नभएको हाहाकार यस वर्ष दुई वटा कारणले भएको स्थानीयहरुको अनुमान छ ।
यस वर्ष बैशाख १२ र २९ मा गएको विनाशकारी भूकम्पले गर्दा पृथ्वी मुनीको ‘लियर’ बिगारेको र लामो समयदेखि पानी नपरेकोलाई पानीको मुहान सुक्ने ‘कारण’ को रुपमा उनीहरुले लिएका छन् । भुकम्पले धर्ती हल्लाएको र पानीको सहतमा समेत यसको असर परेको भनाई स्थानीयहरुको छ । पानीको ‘लियर’ तल खस्किएकोले हैण्डपाइपले पानी तान्न छाडेको वडा नम्बर–७ का गंगा प्रसाद मण्डलले बताए । यसअघि कहिल्यै नभएको अवस्था यस वर्ष मिथिलेश्वर निकासमा देखिएको गंगा प्रसादले थपे । लामो समयदेखि वर्षा नभएका कारणले पनि पानीको मुहान सुकेर गएको वडा नम्बर–८ का रौदी मुखियाले बताए ।
प्रतिक्रिया