वैकुण्ठ ढकाल
सरकारले चालू आर्थिक वर्षका लागि असार २९ गते बजेट सार्वजनिक ग¥यो । साउन १ गतेदेखि नै खर्च गर्ने अख्तियारी पनि दियो । त्यसको भोलिपल्ट इद र त्यसपछिका २ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि भनेर सार्वजनिक बिदा । बुधबार र बिहीबार सरकारी कार्यालयहरू खुल्ला रहे, ८ गते शुक्रबार नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनले सम्झौता गरेको विरोधमा नेपाल बन्द आह्वान ग¥यो । शनिबार यसै सार्वजनिक बिदा भइहाल्यो, काम हुने कहिले ? विकास हुने कहिले ?
भूकम्पले थिलथिलो भएको नेपाललाई राजनीतिक दलहरूले नुनचुक थप्न थालेका छन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठ र सहायक निर्देशक शशिकान्त चौधरीले संयुक्त रूपमा गरेको नेपालमा बन्दको आर्थिक लागत अध्ययन प्रतिवेदनअनुसार बन्द–हड्तालका कारण नेपालले पछिल्ला ५ वर्षमा औसत वार्षिक २७ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । सम्बन्धित वर्षको प्रचलित मूल्यलाई आधार बनाई तयार गरिएको प्रतिवेदनमा बन्द तथा हड्तालका कारण प्रतिदिन १ अर्ब ८० करोड र वार्षिक रूपमा २७ अर्ब क्षति हुन्छ ।
बन्द–हड्तालकै कारण मुलुकको आर्थिक वृद्धिमा औसत १.४ प्रतिशत र वार्षिक उत्पादनमा १.३८ प्रतिशतको नकारात्मक असर रहँदै ५ वर्षमा मुलुकले १ खर्ब १७ अर्ब रुपैयाँबराबरको नोक्सानी सहनुपरेको छ ।
बन्दको असर तत्कालै देखिन थालिहाल्छ, गएका बन्दहरूको फलस्वरूप कतिपय पर्यटकले बुकिङ रद्द गराउन थालिहाले, उनीहरूले अन्य साथीहरूलाई पनि भने होला, नेपाल भनेको बन्द हुने देश हो । छोटो बसाइका लागि नेपाल आएकै बेला लगातार बन्द प¥यो भने ती पर्यटकले लैजाने सन्देश के होला ? कुनै पनि माध्यमबिना मुखले सीधै कानसम्म पु¥याउने समाचारको खण्डन गर्ने आधार केही पनि रहँदैनन् । नेपाल अशान्त छैन भनेर नेपालका अनलाइनले भने पनि नेपाल आएर फर्किएका पर्यटकहरूले पत्याउँदै पत्याउँदैनन् । साथीले सुनाएको खबरमा अर्को साथीले किन अविश्वास गरोस् ! साथीले साथीमार्फत प्रचार गरिरहने चक्र निरन्तर चलिरहन्छ, नेपालप्रतिको गलत धारणा रहि नै रहन्छ । यसतर्फ बन्दकर्ताले किन नसोचेका होलान् ।
वैशाख १२ को भूकम्पले नेपाल पूरै ध्वस्त भएको प्रचार गरियो, त्यसमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका हात बढिरह्यो । ‘ठूलो क्षति’, ‘राम्रो’ समाचार हो भनेर नेपाली मिडियाले पनि प्रचार गरेकै हुन् । यसले नेपाल आउन चाहने पर्यटकहरूले योजना फेरे । यति हुँदाहुँदै पनि पनि साढे १७ करोड चिनियाँले विदेश भ्रमण गरेको तथ्यांक आएको छ । नेपालसँग सीमा जोडिएको उत्तरी छिमेकबाट यसको केही प्रतिशतमात्रै आए पनि नेपाललाई ठूलो राहत हुन्थ्यो, तर त्यो वातावरण बन्यो कि बनेन, बनाइयो कि बनाइएन ? सबैले ममः भन्नैपर्छ ।
बन्दै गरेको संविधानमा बन्द गर्न नपाउने प्रावधान राख्नुप¥यो भनेर जोडतोडले आवाज उठिरहेका छन् । निजी क्षेत्रले यसको वकालत गरिरहेको छ । हुन त प्रमुख दलहरूले चुनावी घोषणापत्रमा बन्द नगर्ने प्रतिबद्धता गर्नु र नेपालका व्यावसायिक संघसंस्थाहरूले बन्दको प्रतिकार गर्ने चेतावनी दिनु उस्तै–उस्तै हो । न त दलहरूले बन्द गर्ने नानीदेखिको बानी छाड्न सक्छन्, न त बन्द प्रतिकार गर्नेहरूले त्यो हिम्मत गर्न सक्छन् ।
यहाँ एउटा कथा उल्लेख गरौं, एक जना जोगी भिक्षा माग्दै एक जना धनीको घरमा पुगे । ती धनी पन्छी पाल्न सौखिन थिए, तिनको बगैंचामा के–के चराचुरुङ्गी थिए, बाहिरबाट देखिन्न थियो । घरको गेटको माथि पिँजडामा एउटा सुन्दर सुगा थुनेर पालिएको थियो । सुगा देख्नमा सा¥है राम्रो थियो । बानी भने सा¥है खराब । गेटबाट कोही भित्र पस्न लाग्यो कि बिष्ट्याइदिन्थ्यो । बोलीको त कुरै गर्नुपरेन । सुन्नै नसकिने अश्लील शब्दहरू बोल्थ्यो । राम्रो सुगाको बानीबेहोरा देखेर त्यो जोगीलाई सा¥है दया लाग्यो । उसले सुगाको बानबेहोरा सुधार्ने अठोट नै ग¥यो अनि सुगा धनीसँग कुरा राख्यो, घरधनी, सुगा जोगीलाई दिन राजी भए ।
जोगीले सुगालाई तालिम दियो, दिनदिनै केही महिनामा सुगा सुधारियो । अपशब्द र अश्लील बोल्न पनि छाड्यो, अनि मान्छेको टाउकोमा बिस्ट्याउन पनि । जोगी आफू सफल भएँ भन्दै दङ्ग परेर सुगा धनी कहाँ पुग्यो ।
जोगीले सुगाको बानीबेहोरा सबै सुध्रिएको दाबी गरे । सुगाधनीलाई प्रयोग गरेर हेर्न आग्रह पनि गरे । सुगाधनीले सुगा सुध्रिएको÷नसुध्रिएको प्रयोग गरेर हेर्न सुरु गरे । पट्टू गोपीकृष्ण कहू, सुगाले पनि त्यसै ग¥यो । पट्टू दायाँ गोडा उचाल्, सुगाले दायाँ नै गोडा उचाल्यो, सुगाधनीले फेरि भने— बायाँ गोडा उचाल् । सुगाले उचाल्यो । धनीले जे–जे भन्यो सुगाले भटाभट त्यही त्यही काम ग¥यो । सुगाधनीले त्यतिखेरै भने— पट्टू दुवै गोडा एकैपटक उचाल् । लामो समय अभ्यास गर्नुपर्दा रिस उठिसकेको सुगाले एकैपटक मुख फो¥यो— दुवै खुट्टा उचाल्दा तेरो बाउ लडिहाल्छ नि ! त्यसपछि के–के भन्यो, यहाँ उल्लेख गर्न मिल्दैन । सुगाले जोगीकहाँ जानुभन्दा अगाडि नभन्ने अपशब्दहरू जोगीकहाँबाट फर्किएपछि भन्न सुरु ग¥यो ।
नेकपा माओवादी जंगलमै हुर्केबढेर आएको पार्टी हो, अहिले ऊ खुला राजनीतिमा छ । ती जंगली पार्टीका नेताहरूले पनि विभिन्न देश डुलेका छन्, कथामा उल्लेख गरेजस्तो जोगीदेखि भोगीको पनि संगत गरेका छन् । देशदेशावर गर्ने क्रममा कहिल्यै बन्द नहुने देशहरू पनि पक्कै डुलेका होलान् । विश्वका शक्तिशाली देशहरू बन्द–हड्ताल नगरेरै समृद्ध भएको तथ्य पनि उनीहरूलाई थाहै होला । तर, जहाँ घुमेर आए पनि पुरानो बानी छाड्नै सक्दैनन् । थोरै संख्या सडकमा उतारेर धेरैलाई असर पार्न पल्केकाहरू कहिल्यै नसुध्रिने भए । बन्द आयोजना गर्ने दलका शीर्ष नेताहरू सडकमा उत्रिएको कम देखिन्छ वा देखिँदै देखिँदैनन् । तर, ‘कार्यकर्ता’का नाममा बुझेर पनि बुझ पचाई–पचाई युवाशक्ति लाठी बोकेर किन सडकमा उत्रन्छ । आफ्नो सबै शक्ति विध्वंसभन्दा सिर्जना लगाए, कसको के जान्थ्यो र ?
प्रतिक्रिया