नवलपरासी, १२ साउन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी गैंडाकोट-९ स्थित जयश्री खोलाको पुल सोमबार साँझ ६ बजे भाँच्चिएपछि सयौं सवारी साधन र हजौं यात्रु अलपत्र छन्। पुल भाँचिएर देशको पूर्व-पश्चिम जोड्ने मुख्य राजमार्गमा १५ घण्टादेखि आवागमन ठप्प छ। पश्चिमबाट नारायणगढतर्फ आउँदै गरेका २ ट्रिपर र नारायणगढबाट पश्चिमतर्फ कोक बोकेर जाँदै गरेको ट्रक एकसाथ पार गर्न खोज्दा गैंडाकोट–७ र ९ वडा जोड्ने ३२ मिटर लामो फलामे पुल साँझ साढे ६ बजे भाँच्चिएको हो ।
गाडी चल्न नसकेपछि यात्रु अलपत्र परेका छन् । बार लगाएर सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ । साना तथा हल्का सवारीसाधनलाई १ किलोमिटर दूरी घुमेर गैरीगाउँ हुँदै गन्तव्यतर्फ पठाइए पनि ट्रक तथा लामा दूरीका सवारीलाई सडकमै रोकिएको प्रहरीले जनाएको छ । पुल भाँच्चिएको यो दोस्रोपटक हो । ४ वर्षअघि पनि यो पुल यसरी नै भाँच्चिएको गैंडाकोट–७ का नागरिक मञ्च अध्यक्ष शशिधर कँडेलले बताए । मंगलबार दिनभरमा आवागमन सुचारू हुने इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रेम जोसीले जानकारी दिए।
प्रतिक्रिया